राष्ट्रिय युवा संघको चार महिने अभियान सुरु- पन्ध्र हजार युवालाई झापामा समेट्ने

0
74

झिलझिले,
नेकपा एमालेको भातृ संगठान राष्ट्रिय युवा संघ नेपालको झापा जिल्ला कमिटीले ‘समाज परिवर्तनको अभियान, नवयुवाको योगदान’ भन्ने मुल नाराका साथ चार महिने अभियान सुरु गरेको छ ।
यो अभियानको शनिवार विर्तामोड स्थित नेकपा एमालेको पार्टी कार्यालयमा भव्य समारोहका वीच उद्घाटन भएको होे । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष समेत रहेका अभियानका उत्प्रेरक कृष्णहरी केसी र संविधान सभाका सदस्य समेत रहेका नेकपा एमाले झापा अध्यक्ष दीपक कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
झापाका स्थानीय तह वडा र टोलमा यो अभियान केन्द्रित हुनेछ । केन्द्रिय कमिटीबाट जिम्मेवारी प्राप्त गर्ने नेता पालिका कमिटीमा परिचालित हुने छन् । यस्तै प्रदेश कमिटीका युवा नेता र जिल्ला कमिटीका सचिवालय सदस्य केन्द्रबाट तोकिएका उत्प्रेरकलाई सहयोगका लागि परिचालित हुने नियम राष्ट्रिय युवा संघ नेपालले बताएको छ । जिल्ला कमिटीका सदस्यहरु वडामा, पालिका कमिटीका टोलमा र वडा कमिटीका टोलमा परिचालित हुनेभएका छन् ।
यो अभियान २०८४ मा हुने संघ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै ‘समाज परिवर्तनको अभियान ः नवयुवाको योगदान’ भन्ने मुल नाराका अघि बढेको राष्ट्रिय युवा संघ नेपाल झापाका अध्यक्ष तथा अभियानका संयोजक फुर्वा लामाले बताए । उनका अनुसार चार महिना संम्म देशैभर संचालन हुने यो अभियानले १६ देखि २५ बर्षको उमेर समूहका ४ लाख नवयुवाहरुलाई संघको सदस्यता वितरण गर्ने र ४ लाख नयाँ भोट सूर्य चिन्हमा बृद्धि गर्ने लक्ष्य लिएको छ ।
राष्ट्रिय युवा संघ नेपालको अभियानलाई कार्यान्वयन गर्नका लागि संघले केन्द्र, प्रदेश जिल्ला र पालिका तहका नेतृत्वको जिम्मेवारी बाँडफाँड गरी काममा लाग्न निर्देशन समेत गरेको छ । यो अभियानलाई जिल्ला कमिटी र मातहतका कमिटीहरुमा कार्यान्वयन गरी अभियानले निर्दिष्ट गरेका लक्ष्य र उदेश्य प्राप्तिका लागि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले चार महिने कार्ययोजना समेत सार्वजनिक गरेको छ ।
२०८० असोज ०१ गते सम्म संचालन हुने अभियानले ०८४ सालमा हुने तीन तहकै निर्वाचनमा नेकपा एमालेलाई मुलुकमा पहिलो शक्तिका रुपमा स्थापित गर्ने अभियानको मुख्य उद्देश्य रहेको संयोजक लामाले जानकारी दिए । त्यसका लागि झापामा मात्र कम्तीमा १५ हजार युवाहरुलाई संघको सदस्यता वितरण गर्ने अभियानले लक्ष्य लिएको उनले बताएका छन् । जिल्ला तथा मातहतका पालिका, वडा तथा टोल कमिटीहरुको अधिवेशन÷विशेष अधिवेशन आयोजना गरी कमिटीलाई चुस्त, दुरुस्त राख्ने पनि चार महिने अभियानको कार्ययोजना हो ।
किशोर किशोरीहरुलाई अभियानमा सहभागि गराई सार्वजनिक संघ संस्थाहरुले गरिरहेका कामहरुको अध्ययन, अनुसन्धान गरी गुण र दोषका आधारमा समर्थन र विरोध गर्न सूचनाको हक प्रयोग गर्ने पनि कार्ययोजनामा उल्लेख छ । भ्रष्ट्राचार, विधिको सासन स्थापित गर्न समाज विकासको बाधक तत्वको रुपमा रहेको कुरिती, कुसंस्कार, विकृती, विसंगतीको विरुद्धमा अभियान संचालन गर्ने पनि अध्यक्ष लामाले बताए ।
समाजमा शोषित पीडित र अवसरबाट बञ्चित आधारभुत तहका युवा, बालबालिका, महिला, अपांगता भएका व्यक्ति, अशक्त, असहाय र आवाज विहिनहरुले सहनु परेको अन्याय, अत्याचार, थिचोमिचो र समस्याहरुको पहिचान गरी उनीहरुको हितको पक्षमा पैरवी गर्दै सामाजिक न्याय स्थापित गर्ने, विभिन्न क्षेत्रका विज्ञ युवाहरुलाई संघमा आवद्ध गर्ने बताएको छ । जिल्ला र मातहतका कमिटीहरुमा विज्ञ युवा परिषद् गठन गर्ने, विभिन्न कारणले अन्यन्त्र लागेका युवाहरुलाई संघमा प्रवेश गराउने अभियानको उद्देश्य रहेको संयोजक लामाले बताए ।
संघमा आबद्ध प्रत्येक युवाहरुलाई शैदान्तिक, वैचारिक, राजनीतिक र आर्थिक रुपमा समेत सबल र सक्षम बनाउन प्रशिक्षण प्रदान गरिने उनले बताएका छन् । ‘सुचना, संचार र सामाजिक संञ्जालको व्यापक प्रयोग गरी पार्टी र संघको विरुद्धमा हुने कुप्रचारको भण्डाफोर गर्ने अभियानको अर्को उद्देश्य हो,’ अभियानका संयोजक लामाले बताए ।
मातहतका नगर कमिटीले कम्तीमा १ हजार र गाउँ कमिटीले कम्तीमा ७ सय युवाहरुलाई संघको सदस्यता वितरण गर्नुपर्ने कार्ययोजना सार्वजनिक भएको छ । नव युवाहरुकोे व्यक्तित्व र नेतृत्व भन्ने नाराका साथ आगामी बन्ने जिल्ला कमिटीमा १६ देखि २५ बर्षसम्मका ४० प्रतिशत र मातहत कमिटीमा ५० प्रतिशत नवयुवाहरुलाई अनिवार्य संगठित गरी उनीहरुको नेतृत्व र व्यक्तित्व विकाशका लागि विशेष तालिम र प्रशिक्षण संचालन गर्ने, संगठनमा बराबरी ः नेतृत्वमा हाराहारी भन्ने नाराका साथ जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत र मातहत कमिटीमा ४० प्रतिशत महिला युवाहरु अनिवार्य सहभागिता गराउने अभियानले लक्ष्य लिएको छ ।
विधिको शासनको कार्यान्वयन गर्नका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट जारी विभिन्न ऐन, कानुन, कार्यविधि तथा निर्देशिकाहरु लगायत स्थानीय सरकार संचालन ऐन, स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्दा सार्वजनिक खरिद ऐन, नियमावली शिक्षा ऐन, स्वास्थ्य ऐन सम्बन्धि तालिम तथा गोष्ठीहरु आयोजना गरी स्थानिय पालिका, वडा कार्यालय तथा अन्य सार्वजनिक, सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले प्रचलित कानुन वमोजिम काम गरे नगरेको पत्ता लगाई विधिको शाशन स्थापनाका लागि विभिन्न दबाबमुलक कार्यक्रमहरु संचालन गर्ने राष्ट्रिय युवासंघ नेपालले जनाएको छ ।
दुखीको घर, युवाको भर भन्ने नाराका साथ समाजमा शोषित, पीडित र अवसरबाट बञ्चित आधारभुत तहका युवा, बालबालिका, महिला, अपांगता भएका व्यक्ति, अशक्त, असहाय र आवाजविहिनहरुले सहनु परेको अन्याय, अत्याचार, थिचोमिचो र समस्याहरुको पहिचान गरी उनीहरुको हितको पक्षमा काम गर्ने बताईएको छ । त्यसका लागि स्थानीय प्रहरी, प्रशासन, वडा कार्यालय, गाउँपालिका, न्यायिक समिति तथा जिल्ला मातहतका कार्यालयहरुमा पैरवी गर्दै सामाजिक न्याय स्थापित गर्न विभिन्न अभियानहरु संचालन गर्ने राष्ट्रिय युवा संघ नेपालप झापा शाखाले जनाएको छ ।
जहाँ युवा — त्यहाँ युवा संघ, एक घर — दुई सदस्यता, एक कमिटी —एक रचनात्मक काम भन्ने नाराहरुका साथ खेलकुद, साहित्य, मनोरञ्जन, रक्तदान, अंगदान, वृक्षरोपण, स्वास्थ्य शिविर, सरसफाई कार्यक्रम, श्रम शिविर, कविता प्रतियोगिता, हाजिरी जबाफ, वतृत्वकला, निबन्ध, गीतसंगित र नृत्य प्रतियोगिता, लेखा तालिम, कम्प्युटर तालिम लगायत विभिन्न रचनात्मक, सृजनात्मक र उधमशीलता विकास गर्ने तालिम तथा कार्यक्रमहरु पनि संचालन अभियानले गर्ने छ ।
कार्ययोजना सार्वजनिक कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा अभियानका संयोजक कृष्णहरी केसीले कार्यक्रममा सहभागी युवालाई एक घन्टा प्रशिक्षण समेत दिएका थिए । उनले भने,‘ तपाईँ युवाहरु झापाका प्रत्येक घरमा ईमान्दार साथ पुग्नुभयो भने अभियानले सार्थकता पाउँने छ ।’ झापालाई केन्द्रले विभिन्न कारणले नजिकबाट हेरेको हुँदा तपाईँको मेहनतको फलको परिणाम ४ महिना पछि प्राप्त हुने र त्यो परिणामले ०८४ को तीन तहकै निर्वाचनमा महत्वपुर्ण ढंगले काम गर्ने पनि उनले बताए ।
कार्यक्रममा राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सदस्य निषा लिम्बु, सागर पोर्तेल, खगेन्द्र राज आङदम्बे र रोजिना पाण्डेको पनि सहभागिता थियो । कार्यक्रमको संचालन डिल्लीराम पोख्रेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here