कचनकवलको कृषि शाखामा तालाबन्दी

0
48

पार्थ मण्डल,
झापा ।

दक्षिणी झापाको कचनकवलका माछापालक किसानहरूले गाउँपालिकाको कृषि विकास शाखामा आइतबार तालाबन्दी गरेका छन् ।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा ठगी गरेको भन्दै पीडित माछापालक किसानहरूले गाउँपालिका कार्यालय घेराउ गरी नाराबाजी गर्दै कृषि विकास शाखामा ताला लगाएका हुन् । एउटा प्याकेटमा एक हजार वटा माछाको भुरा भनेर गाउँपालिकाले पाँच सय वटा मात्र दिएर आफूहरूमाथि ठगी गरेको किसानहरूले आरोप लगाएका छन् ।

गाउँपालिकाको कार्यालयबाटै आफूहरू ठगिएको हुँदा यस कार्यालयबाट ठगी गर्ने जिम्मेवार कर्मचारी उपर छानबिन गरी दोषी कर्मचारीलाई हदैसम्म कारबाही गरी माछापालक किसानहरूलाई उचित क्षतिपूर्ति समेत दिलाउन उनीहरूले माग गरेका छन् ।

चार हजार भुराको लागि ६ हजार रुपैयाँ गाउँपालिका कार्यालयमा बुझाएका भवेश राजवंशीले दुई हजारको मात्र भुरा पाए । गाउँपालिकाले चार हजार भुरा भनेर दिएको उनले बताए । ‘घर गएर गन्ती गर्दा दुई हजार मात्र थियो’– उनले भने– ‘अरू किसानहरू पनि त्यसरी नै ठगिएका छन्, यस घटनाको छानबिन हुनुपर्छ ।’ ५ पैसा पनि नपर्ने भुरालाई साढे ३ रुपैयाँको हो भनेर किसानलाई वितरण गरिएको आरोप लगाउँदै कर्णसिंह राजवंशीले भने– ‘किसानहरू त्यसैको बारेमा गाउँपालिकासँग छलफल गर्न जाँदा एक हजार भुरा त कम भएको छ भनी गैरजिम्मेवार जवाफ पायौं ।’

‘भुरा वितरण गर्ने कर्मचारीलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्ने हामीले माग राखेका छौँ’– उनले भने– ‘गाउँपालिका पीडित किसानहरूको कुरा सुन्न चाहँदैनन्, उल्टै ती कर्मचारीलाई बचाउन चलखेल गरिरहेको छ ।’ पालिकाले रौ माछाको भुरा दिने भनेको थियो । तर, बजारमा बिक्दै नबिक्ने विगेट माछाको भुरा किसानलाई वितरणको उनको भनाइ छ । गाउँपालिकाबाट ४२ जना किसानले माछाको भुरा लगेका थिए । किसानहरूले माछाको भुराको लागि प्रतिगोटा डेढ रुपैयाँका दरले अग्रिम रकम जम्मा गरेका थिए ।

गाउँपालिकाले प्रतिगोटा तीन रुपैयाँ पर्ने भनिएको माछाको भुराको लागि डेढ रुपैयाँ कार्यालयकातर्फबाट व्यहोर्ने गरी सूचना प्रकाशित गरेको थियो । गाउँपालिकाले गत जेठ १४ गते माछापालक किसानका लागि माछाको भुरा ५० प्रतिशत अनुदानमा दिने भन्दै जेठ २८ गतेभित्र रकम जम्मा गर्न सूचनामार्फत आव्हान गरेको थियो भने असार १२ गते माछाको भुरा वितरण गरेको थियो ।

कचनकवल गाउँपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको हो । वितरणको जिम्मा कर्मचारीहरू दीपक अधिकारी, मशिन्द्र यादव र हेमराज पौडेलले लिएका थिए ।

घटनाको छानविनका लागि माछापालक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी, बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै कचनवकल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई शुक्रबार उजुरी दिएका थिए ।

यता गाउँपालिका अध्यक्ष राजवंशीले भुरा वितरण गर्ने गाउँपालिकाका कर्मचारीबाट कमी–कमजोरी भएको स्वीकारेका छन् । पीडित किसानहरूले राखेको मागको बारेमा उनीहरूसँग छलफल गरिएको बताउँदै अध्यक्ष राजवंशीले भने– ‘छलफलमा कम भएको भुरा पुनः वितरण गर्ने, माग बमोजिम जातको भुरा दिने र दोषी कर्मचारीमाथि छानबिनका लागि समिति गठन गरेका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here