दुर्घटना कम गर्न हालेमालो गरौं

0
44

सडक सञ्जालको विकाससँगै सवारी दुर्घटनाको क्रम बढ्दै गएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी दुई पाङ्ग्रे साधन परेका छन् । जसका कारण प्रत्येक वर्ष दुर्घटनामा मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । दुर्घटनाबाट धेरै गम्भीर घाइते समेत भई ठूलो आर्थिक क्षति व्यहोर्नु परिरहेको सन्दर्भमा कोशी प्रदेशका चौध वटै जिल्लामा मंगलबारदेखि ट्राफिक सप्ताह शुरु भएको छ । ‘सातै दिन सातै काम, सडक सुरक्षा हाम्रो अभियान’ भन्ने मूल नारासहित शुरु भएको सप्ताहको पहिलो दिनको कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिर्तामोडमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। सप्ताहका सातै दिन तीव्रगति नियन्त्रण, चालकलाई प्रशिक्षण, शिक्षण संस्थाका सवारी चालकलाई प्रशिक्षण, मापसे–लापसे जाँच, चालकको स्वास्थ्य, सवारीको यान्त्रिक जाँच र अन्तरक्रिया–समीक्षा कार्यक्रम सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी निरीक्षक प्रवीण जोशीले बताएका छन् ।

त्यसो त सवारी साधन हाम्रो सेवासुविधाका लागि बनाइएका हुन् । सवारी साधनले समयको बचत गरिदिएको छ, आम्दानी वृद्धि गरेको छ र पैदल हिँड्नुपर्ने बाध्यतालाई हटाइदिएको पनि छ । तर, त्यही साधन कैलेकाहीँ अकाल मृत्युको कारण बनिन्छ त कहिले शारीरिक तथा आर्थिक क्षतिको कारण । त्यसैले सवारी दुर्घटना कम गर्दै सडक तथा यात्रालाई सुरक्षित राख्न चालक स्वयम् सचेत र अनुशासित हुनैपर्छ । अधिकांश दुर्घटनाका लागि हाम्रा सडकको दूरावस्था जिम्मेवार छ र कतिपय चालकको लापरवाही र अनुशासनहीनता दुर्घटनाका कारण बनिने गरेका छन् ।

बढ्दो दुर्घटना न्यूनीकरण गर्दै सडक प्रयोगकर्तालाई सुरक्षित यात्रा गराउने उद्देश्यले अभियानका रुपमा सञ्चालित यस्ता कार्यक्रम वर्षेनि भइरहेका पनि छन् । अनि पनि दुर्घटनाको क्रम नियन्त्रण भएको छैन, मृत्यु हुनेको सदस्यको परिवारमा परेको पीडालाई कम गर्न सकिएको छैन । यति हुँदाहुँदै पनि चालक मापसेबाट जोगिन शायद लापसेतर्फ आकर्षित हुन थालेका छन् । जसको प्रयोगले मानिस चेतनाशून्य हुन्छ र चेतनाशून्य वा उत्तेजनामा रहेका चालकले अरुको ज्यान लिनेसम्मको दुर्घटना गराउन सक्छन् । त्यस्तै बिना अनुमतिपत्र सवारी सञ्चालन गर्ने प्रवृत्ति पनि दुर्घटनाको कारक बनिएको छ । सवारीको बढ्दो चाप, ट्राफिक नियमको अवज्ञा, सडकको दूरावस्था, चालकको लापरवाही र जथाभावी प्रयोग आदिलाई नियमन, नियन्त्रण र व्यवस्थापन गर्न सकिए दुर्घटनाबाट हुने अपूरणीय क्षतिलाई कम गर्न सकिन्छ । सवारीको तुलनामा जनशक्ति थोरै भएको ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा सहयोग गर्न स्थानीय सरकार तथा सरोकारवाला संस्था तथा सडक प्रयोगकर्ता सबैले सहयोग गर्नुपर्छ । अनि मात्र दुर्घटना न्यूनीकरणको महाअभियानले सार्थकता पाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here