कृति समीक्षा : हाम्रो चैतु काका

0
102

चैतु काका, पूर्वी तराईमा बसोबास गर्ने राजवंशी समुदायका एकजना सदस्य । एकदिन उनी कहिलै नफिर्ने गरी छोरी भेट्न गएका थिए । उनी गएको पनि बर्षांै भइसकेको छ । फर्किउन पनि कसरी ? उनी त बालकैमा निमोनियाले ताराहरुको शहरमा पुगेकी छोरीलाई भेट्न, आकाशको बाटो हँुदै गएका थिए । अहिले त चैतु काका पनि रातमा चम्किरहने ताराहरुको बासिन्दा भइसकेका छन् । सायद उनी यतिबेला प्यारी छोरी दैयालाई काखमा लिएर धर्तीमा रहेका आफन्तहरुलाई चिनाउँदै होलान् । काका अब चिनजानीको नजरमा कहिलेकाहीँ झुल्कने याद मात्र बनेका छन् ।

यस्तै यादहरुकै बीचमा श्रद्धाले बचाइरहेको अर्का पात्र एकाएक आगोले झलेको शरीर लिएर कथाको पात्रलाई भेट्न आएकी छिन् । उनको युगमा शासन सत्ता र पुरुष प्रदान समाज अनि संस्कारको शिकार बनेकी उनी रामायणको एक पात्र । हाम्रै जनकपुरकी चेली सीता माता । अनेकौं प्रश्न र तर्कहरुको सानो सन्दुक कथाकारलाई खोल्न लगाएर पाठकहरु माझ छाडी दिएकी छिन् । इतिहासलाई सत्तामा आसिन राजा, रजौटा र व्यक्तिहरुले आफू अनुकूल परिर्वतन गरेको तथ्य र प्रमाणहरु हामीले सुन्दै र पढदै आइरहेका छौं । माता सीताले छाडी दिएको शन्दुकभित्रका दृष्यहरुले बौद्धिक अनि सचेत मष्तिष्कलाई बारम्बार हल्लाइरहन्छ ।

माता सीता सायद आधुनिक युगमा क्रान्तिकारी लेखकहरु पो खोज्दै हिँड्दैछिन् की वा ऊ बेलाको सत्यतासँग हामीलाई साक्षातकार पो गराउन चाहन्छिन् । माताको व्यथा खोल्दै गर्दा नारीलाई देवी सम्मान पुज्ने यो समाजको चित्र अर्कै छ । यौनको शिकारमा निस्केका शिकारीहरुले यहाँ झुम्रीलाई पनि छाडेको छैन ।

सफा र सुकिला मुकिलाहरुको अभियान्त भनौदाहरुले न्याय मागीरहँदा पत्रकारहरुको पनि कलम चलाउने मेसो मिल्छ र छाप्दिन्छ, सरकार माथि प्रश्न गर्दै बलात्कारको समाचार । तर, शहर–शहर बेसोमत आफ्नै मर्जीमा डुलिहिँड्ने एक जना प्रतिनिधि पात्र छिन्– झुम्री । शहरले उसलाई बाहुलाही भन्छ, अनि शिकारी यौनपिपाशुको रातको शिकार । प्रमाण खोज्ने कानून र सभ्य मानव बस्तीलाई बलात्कारको प्रमाण देखाइरहन्छ दिनदिनै बढ्दै गरेको पेट र त्यसरी नै जन्मेका बच्चाहरु । लाग्छ यो देशको न्यायभन्दा धेरै टाढा छिन्– उनी ।

जीवन भोगाइका हिस्साहरु आफ्नै लागि अनुभवका कथाहरु हुन् । आफ्नै वरिपरि भेटिरहने पात्रहरुले केही न केही कथाका अंशहरु छाडिरहेका हुन्छन् । समाज, संस्कार र संस्कृतीहरु कथाका स्वादहरु हुन् । चैतु काका पढिरहँदा कतै आफ्नै भोगाइहरुलाई भेटेँ अनि कतै मित्रहरुको अनुभवलाई सुनिरहेको आभाष गरँे ।

कथाका पात्रहरु कति ठाउँमा अक्षरबाट निस्किएर म सँगै साक्षातकार गरेको अनुभव गर्न पाएँ । यस संग्रहका कथाहरुलाई सरल, सुन्दर र सजिलै बुझ्न सकिने गरी कथाकार अमृता पाठक चौलागाईले लेख्नुभएको रहेछ । अधिकांश कथाको खुबी नै भनौ मस्तिष्कमा सानो सानो तिर चलाएर जान्छ त कतै मुटुमा बिझाउने गरी चस्स छोएर निस्कन्छ ।

मलाई लाग्छ, चैतु काका कथा संग्रहको सुन्दर पक्ष हरेक कथाको उठानमा लम्बेतान भूमिकाको छालहरु नछाडनु हो । कथाकारको यो पहिलो कथा संग्रह भए पनि त्यस्तो लाग्दैन । उनको अनुभव र खुबीले यस संग्रहलाई स्थापित कथाकारहरुको कृतिको म्याराथनमा पछि–पछि नभइ सँगसँगै अगाडि दौडन सक्ने तागत दिएको छ । यति सुन्दर संग्रहको लागि कथाकार अमृता पाठक चौलागाँईज्यूलाई बधाई नदिइरहन सक्दिनँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here