झापाका खोलामा पानीको जलस्तर बढ्यो, बाह्रदशीको सुकुम्वासी बस्तीका १५० जनालाई सुरक्षित स्थानमा सारियो

0
50

झापा । 

दुई दिनदेखि परेको अविरल बर्खाका कारण झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

निरन्तर भारी बर्खाले जिल्लाका ठुला तथा साना नदीसँगै खोला, पैनी, नालीहरूमा पानीको सतह बढेपछि डुबान र कटानका कारण स्थानीयवासी प्रत्यक्ष प्रभावित बनेको हो ।

यसैबीच अदुवा खोलामा पानीको जलस्तर बढेपछि बाह्रदशी गाउँपालिका– २ स्थित सुकुम्वासी बस्तीका ४५ घरधुरीका १५० जनालाई बिहीबार सुरक्षित स्थानतर्फ सारिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

‘अदुवा खोलामा जलस्तर बढ्न थालेको छ,’ डीएसपी रिजालले भने, ‘सम्भावित हुने क्षतिलाई लक्षित गरी खोला आसपासका स्थानीयलाई बाह्रदशी– २ स्थित दक्षिणेश्वर शिवालय मन्दिरमा सारिएको छ ।’ उनीहरूलाई सुरक्षित स्थानतर्फ सार्न इलाका प्रहरी कार्यालय राजगढबाट खटिएका प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयवासीले सहयोग गरेको उनले बताए ।

जिल्लाको कनकाई, माई, रतुवा, विरीङ, मेची, हडिया, निन्दा, कमल, अदुवा, देउनियाँ लगायतको नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न थालेपछि नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अलर्ट गराइएको उनको भनाई छ ।

विशेषगरी जिल्लाको दक्षिणी पालिकाहरुका स्थानीय डुबान र कटानको उच्च जोखिममा रहेको छ ।जिल्लामा अहिलेसम्म कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here