विरिङ खोलामा पक्की पुल

0
44

झापा,

हुलाकी सडकअन्तरगतको विरिङ खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । सो पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण सम्पन्न भएको हो । हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले पुल निर्माण भएसँगै सञ्चालनमा आएको बताउनुभयो ।

उहाँले खोलामा पानीको बहाव बढेर ‘डाइभर्सन’ बगाएपछि साना सवारी साधन चलाउने गरी पुल सञ्चालनमा आएको जानकारी दिनुभयो । पुल सञ्चालनसँगै जिल्लाका दक्षिणी क्षेत्रका बासिन्दा लाभान्वित बनेका छन् । वर्षांैदेखि वर्षातका समयमा बाँसको टाँटीको पुल बनाएर खोला तर्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त भएको उहाँको भनाइ छ ।

इञ्जीनीयर खतिवडाका अनुसार सो पुल तीन सय २४ मिटर लामो र सात मिटर चौडाइको छ । विसं २०६८ असार ३१ गते ठेक्का लागेको सो पुल २०७१ चैत १२ गतेदेखि सञ्चालनमा आउनुपर्ने थियो । ठेक्काको जिम्मेवारी लामा मैनाचुली जेभीले लिएको थियो । ठेकेदारको ढिलासुस्तीकै कारण छ पटक म्याद थप गर्दा बल्ल पुल निर्माण सम्पन्न भएको उहाँको भनाइ छ ।

उहाँले सो पुल मूल्य अभिवृद्धि करसहित रु १५ करोड ५० लाख ५८ हजारमा ठेकेदार कम्पनीले ठेक्कामा लिएको बताउनुभयो । हुलाकी सडकमा पर्ने आठ पुलमध्ये कनकाई र रतुवा खोलाको मात्र निर्माण सकिन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा रहेको राष्ट्रिय गौरवको आयोजनाको यस राजमार्गको झापा खण्डको ४८ किलोमिटर सडक निर्माण भइसकेको छ । कनकाई, विरिङलगायतका खोलामा समयमै पुल निर्माण भई नसक्दा सडक सञ्चालनमा आउन अझै सकेको छैन ।

पूर्वमेचीदेखि पश्चिम महाकालीको गड्डाचौकीसम्म एक हजार छ सय मिटरको हुलाकी मार्ग निर्माणपछि तराई–मधेशका सर्वसधारणको जीवनस्तर उकास्न मद्दत पुग्ने देखिएको छ । सो सडक निर्माणलाई विभिन्न खण्डमा विभाजन गरेर काम गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here