झापामा तीन बिघा जग्गा भाडामा लिएर धान रोप्दै विप्लवका नेता कार्यकर्ता

0
45

झापा ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले झापाको गौरीगन्जमा तीन बिघा जग्गा भाडामा लिएर सामूहिक धान खेती गर्न थालेको छ ।

कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम र उत्पादनमा जोडिनुपर्ने केन्द्रीय निति अन्तर्गत जग्गा भाडामा लिएर धान खेती गरिएको पार्टीका जिल्ला सेक्रेटरी सञ्जय सी ले बताए ।

यसअघि भुगोलमा जनताका विभिन्न समस्या लिएर कहिले संघर्ष त कहिले छलफलमा दौडिने विप्लवका कार्यकर्ता यतिबेला गौरीगन्जमा रहेको खेतीमा हिलाम्मे भएर धान रोपिरहेका भेटिन्छन् । झापा जिल्ला पार्टी अन्तर्गतका सम्पुर्ण नेताकार्यकर्ता असार १० गते पश्चात् निरन्तर श्रम गरिरहेको पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी ले बताए ।

यतिबेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशैभर सयौं बिघा भन्दा बढी क्षेत्रमा धान लगाइरहेको र पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ता श्रमसँग जोडिएको पार्टीका मेची ब्यूरो इन्चार्ज सुमनसिंह सी ले बताए ।

कार्यकर्ता सँगै धान रोपिरहेका उनले इलाम र पाँचथरमा चिया , अदुवा ,अलैंची लगायतको खेती भैरहेको र झापामा धान रोपाइँ भएको बताउँदै अबको केही बर्षभित्रै आफ्नै उत्पादनमा पार्टीका नेताकार्यकर्ता आत्मनिर्भर बन्ने नितिका साथ पार्टी अगाडि बढिरहेको र धान खेती मात्रै नभएर कृषि तथा पशुपालन लगायतका क्षेत्रमा पनि काम शुरु भइसकेको बताए ।

यतिबेला नेपाल कम्युनिस्ट पार्टीले मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउने तथा सम्पुर्ण पार्टीका नेताकार्यकर्ता अनिवार्य श्रम र उत्पादन सँग जोडिनुपर्छ भन्ने उद्देश्यका साथ देशैभर धान रोपाइँ अभियान चलाएको छ । उत्पादित चामल पार्टीलाई चलायमान बनाउन र नेतारकार्यकर्ताको भरणपोषणका लागि प्रयोग गरिने बताइएको छ । नेकपाले देशैभरका कार्यकर्तालाई असार १० देखि ३० गतेसम्म अनिवार्य उत्पादनसँग जोडिनका लागि भुगोलबाट विदा दिएको छ।

आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवं कार्यकर्ता नारा दिएर मुलुकभरी यो अभियान चलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here