इलाममा चिया सम्बन्धी अध्ययन, अध्यापन हुने

0
55

सुनिता राई
इलाम ।

नेपालमा चिया सम्बन्धी अध्ययन, अध्यापन हुने भएको छ । इलामको साखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यहिं वर्षदेखि चिया प्रविधि सम्बन्धी अध्ययन, अध्यापन सुरु गर्ने तयारी गरेको हो ।

शिक्षालयले जिल्लास्थित सरोकारवाला र चिया उद्योगीहरुबीच चिया प्रविधि सम्बन्धी अन्तरक्रिया गरेको छ । चिया प्रविधि प्रि–डिप्लोमा तहमा रहेर चिया प्रविधि सम्बन्धी कक्षा सञ्चालन गर्ने तयारी गरिएको शिक्षालयका प्रमुख दिपक खनालले बताउनुभयो ।

चिया प्रविधि पढाइका लागि दुई वर्षे पाठ्यक्रम यसअघि नै स्वीकृत भइसकेको छ । पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको हो । पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट पनि पाठ्यक्रम स्वीकृत भइसकेको जनाइएको छ ।

प्रमुख खनालका अनुसार कक्षा सञ्चालनको पत्र आउनसाथ कक्षा सुरु गर्ने तयारी छ । यस अन्तर्गत विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा अध्ययन गर्नेछन् । त्यसपछि उद्योगहरुमा चिया प्रविधि सिकाइको अभ्यास गर्नुपर्नेछ । यसवर्ष एसइइ उत्तीर्ण गरेका विद्यार्थीलाई यो शिक्षामा सहभागी गराउने लक्ष्य रहेको शिक्षालयले जनाएको छ । पहिलोपल्ट २० देखि ४० जना विद्यार्थीलाई चिया प्रविधि सम्बन्धी पढाइमा समावेश गराउने तयारी छ ।

यस अघि नेपाल सरकारले २०६८ सालदेखि झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा चिया प्रविधि तथा व्यवस्थापनको पठनपाठन सुरु गरेको थियो । मुलुकमै पहिलोपल्ट चिया प्रविधि तथा व्यवस्थापन विषयको पठनपाठन सुरु भएको चौंथो शैक्षिक सत्रदेखि क्याम्पसले विद्यार्थी भर्ना नै नलिएका कारण त्यो असफल भएको थियो ।

गुणस्तरीय तयारी चिया तयार गर्न अझै पनि भारतबाटै प्राविधिकहरु ल्याउनुपर्ने बाध्यता छ । त्यसैले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्न चिया प्रबिधि सम्बन्धी अध्ययन, अध्यापनको तयारी गरिएको शिक्षालयका प्रमुख खनालले बताउनुभयो ।

चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक सहयोग गरेको छ । मन्त्रालयको सहयोग प्राप्त भएसम्म विद्यार्थीले निशूल्क अध्ययन गर्न पाउनेछन् । नेपालमा १९२० मा इलामबाट चिया रोपण कार्य सुरु भएको इतिहास भए पनि हालसम्म देशभर कतै पनि चिया सम्बन्धी पढाइ भएको छैन ।

नेपालमा इलामबाट चिया खेती सुरु भएको करिब १६० वर्षपछि जिल्लामा चिया सम्बन्धी अध्ययन, अध्यापन हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here