इक्यानको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अध्यक्षमा चार जनाको प्रतिस्पर्धा

0
48

काठमाडौं ।

नेपाल शैक्षिक परार्मश संघ( इक्यान) को भावी नेतृत्वका लागि आज निर्वाचन हुँदै छ ।

दुई प्यानलसहित अध्यक्षका लागि चार जनाले उम्मेदवारी दिएका छन् । पूर्वअध्यक्ष विष्णुहरि पाण्डे र द्वितीय उपाध्यक्ष शेषराज भट्टराईले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् भने प्रथम उपाध्यक्ष देवीदास भट्टराई र तृतीय उपाध्यक्ष कृष्णहरि केसीले अध्यक्ष पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

प्यानलसहित निर्वाचन तयारी गरेका विष्णुहरि र शेषराजबीच कडा प्रतिस्पर्धा हुने इक्यान सदस्यहरूको अनुमान गरिएको छ । दुई प्यानलबीचको चुनावी भिडन्तमा स्वतन्त्र उम्मेदवारहरूको समेत चर्को प्रतिस्पर्धा हुन सक्ने अनुमान पनि गरिएको छ ।

वर्तमान अध्यक्ष प्रकाश पाण्डेले दुई वर्षका लागि नयाँ नेतृत्व चुन्न निर्वाचन हुन लागेको बताए । गत पुसमा इक्यानको अधिवेशन सम्पन्न भइसकेको छ । निर्वाचन समितिका अनुसार १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन दर्ता भएको छ । तीन उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी दर्ता भएको हो ।

महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदका लागि २–२ जना र सचिवमा ५ जनाको उम्मेदवारी परेको छ । सचिव दुई जना रहने व्यवस्था छ । अध्यक्षलगायत ९ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । मतदाता ४६७ जना छन् । सदस्यतर्फ ९ जनाका लागि १९ जनाको मनोनयन दर्ता भएको समितिले जनाएको छ ।

उम्मेदवारी दर्ता हुनुअघि नै विष्णुहरि र शेषराज समूहसहित चुनावी प्रचारप्रसारमा जुटेका थिए । अध्यक्षका उम्मेदवारहरूले मनोनयन अघि नै छुट्टाछुट्टै भेला गरेर एजेन्डा र प्रतिबद्धताहरू अघि सारेका छन् । शैक्षिक परामर्शदाताको हक–हितमा काम गर्ने, संस्थागत क्षमता विस्तार गर्ने र प्रस्तावित संघीय शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रलाई समेट्ने साझा वाचा अध्यक्षका उम्मेदवारले गरेका छन् । विष्णुहरिले उम्मेदवारी दर्ता गर्नुअघि नै कार्ययोजनासहितको प्रतिबद्धता गरेका थिए भने शेषराजले उम्मेदवारी दर्ता गरेपछि घोषणापत्र सार्वजनिक गरेका छन् ।

विष्णुहरिको कार्ययोजनामा तत्काल, मध्यकालीन र दीर्घकालीन काम विभाजन गरिएको छ । उनले भिजन २०२५ समेत घोषणा गरेका छन् । ‘व्यवसायीको पक्षमा खुलेर काम गर्छु, उनीहरूले पाउने कमिसन बढाउन नेतृत्वमा पुग्नैबित्तिकै प्रयास सुरु हुन्छ,’ उनले भने । निर्देशिका आधारमा शिक्षा मन्त्रालयले शैक्षिक कन्सल्टेन्सी व्यवसायलाई नियमन गर्दै आएको छ । यसकै आधारमा विद्यार्थीलाई वैदेशिक अध्ययन स्वीकृतिपत्र (एनओसी) जारी हुन्छ । उनले निर्देशिकाको भरमा चल्ने व्यवसायलाई शिक्षा ऐनमा समेट्न प्रयास गर्ने बताए ।

शेषराजले शैक्षिक परामर्श क्षेत्रको बृहत्तर हितका लागि काम गर्ने प्रतिबद्धता जनाए । देशभरका सदस्य शाखाहरूसँग समन्वय गरेर काम गर्छु, परामर्शदाताको क्षमता अभिवृद्धि गर्नु मेरो अर्को लक्ष्य हुनेछ, ऐनमा परामर्श क्षेत्रलाई सम्मानित र व्यावसायिक पेसाका रूपमा स्थापित गर्न पहल हुनेछ– उनले बताए । कन्सल्टेन्सी दर्ता गर्न शिक्षा मन्त्रालयले माग गरेको धरौटी रकम खारेज गर्न संघर्ष गर्ने शेषराजले जनाए ।

कृष्णहरि र देवीदासले चाहिँ इक्यानभित्र देखिएको गुटबन्दी अन्त्य गर्न स्वतन्त्र चुनाव उठेको बताएका छन् । संस्थागत हकहितका लागि काम गर्ने उनीहरूको प्रतिबद्धता छ । पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएका विष्णुहरि प्रकाशअघिका अध्यक्ष हुन् । उनको प्यानलबाट उपाध्यक्षमा लक्ष्मण पौडेल, भुवनबहादुर क्षत्री र प्रकाश श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

महासचिवमा वासुदेव दाहाल, सचिवमा शिवप्रसाद त्रिपाठी र फिलिपकुमार डाँगी क्षत्री चुनावी प्रतिस्पर्धामा खडा भएका छन् । कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देल (हरि) रहेका छन् । सदस्यमा उक्त समूहबाट शान्तकुमार शर्मा (सुमन), आशिष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, शशिप्रसाद भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल र श्रीराम गिरीले चुनावी प्रतिस्पर्धा गर्दै छन् ।

शेषराज समूहबाट उपाध्यक्षमा श्रीराम पौडेल, गीता सिवाकोटी (गीताञ्जली) र दयाराम थापा उम्मेदवार बनेका छन् । महासचिवमा दीपकराज भुसाल, सचिवमा भवनाथ हुमागार्ईं, रत्नबहादुर भट्टराई, कोषाध्यक्षमा आशिष कार्की, सहकोषाध्यक्षमा विकल्पराज पौडेल चुनाव जित्ने दौडमा छन् । उक्त प्यानलबाट गोविन्द खनाल, होमराज थापा, रमेश लुइँटेल, सुवर्ण बस्नेत, उमा खड्का पाठक, विजयकुमार बस्नेत, वसन्त पाण्डे, राजेश श्रेष्ठ र मनोरथ साहले सदस्यमा उम्मेदवारी दिएका छन् ।

त्यसबाहेक उपाध्यक्षमा विमलमान राजभण्डारी, पुष्पराज भट्टराई, यज्ञविलास पौडेल र राजन गोदारले मनोनयन दर्ता गरेका छन् । सचिवमा लालबहादुर तामाङको पनि उम्मेदवारी परेको छ ।

इक्यानमा आबद्ध संस्थाहरूले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थी, अभिभावकलाई परामर्श, सूचना दिने र सहजीकरण गर्ने काम गर्दै आएका छन् । पछिल्ला वर्षहरूमा विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दै गएको छ । वार्षिक एक लाखभन्दा बढी विद्यार्थीले एनओसी लिन थालेका छन् ।–ईकान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here