
भारतीय स्वतन्त्रता सङ्ग्रामका अहिंसावादी नेता महात्मा गान्धीले गरिबीलाई हिंसाको निकृष्ट रूप हो भनेका छन् । ग्रीसेली दार्शनिक एरिस्टोटलले संसारमा क्रान्ति र अपराधको जन्मदाता गरिबी हो भनेका छन् । संयुक्त राष्ट्रसंघका सातौं महासचिव कोफी आननले संसारका जुनसुकै ठाउँमा भएको चरम गरिबी संसारका सबै ठाउँमा मानव सुरक्षाका लागि चुनौति हो भनेका छन् । इसाई धर्मावलम्बीको ग्रन्थ बाइबलमा गरिबलाई दमन र घृणा गर्नेले आफ्नै सृष्टिकर्तालाई अपमान गरिरहेको हुन्छ र दुःख पाएका गरीबलाई दया देखाएर सहयोग गर्दा ईश्वरलाई सम्मान गरेको ठहर्छ भनी उल्लेख गरिएको छ ।
चिनियाँ दार्शनिक कन्फुसियसले असल शासन भएको मुलुकमा गरिबी लाजको विषय हो भनेका छन् । गरिबीको विपरीतार्थी शब्द सम्पन्नता होइन, पर्याप्तता मात्र हो । भनिएको छ– संसारमा तिमीसँग सँधै रहने कुनै वस्तु छैन र तिमीले दान गर्न नसक्ने कुनै चिज छैन । तर, गरिबी बाँड्न सकिन्छ ? गरिबी विकासशील राष्ट्र मात्र होइन विकसित राष्ट्रको पनि मुख्य समस्याको रुपमा रहेको छ । विकासशील राष्ट्रहरूमा देखिने गरिबी र त्यसमा पनि निरपेक्ष गरिबी ज्यादै मार्मिक किसिमको हुन्छ ।
नेपाल मात्र होइन, अन्य विकासशील मुलुकहरूमा पनि राजनीतिक दल तथा तिनका नेताहरूले गरीबहरूको गरिबीको केवल उपयोग मात्र गरेका छन् । शक्तिशाली हुन, चुनाव जित्न, सरकारमा पुग्न गरीब जनताको गरिबीको व्यापक उपयोग गरेका छन्, गरीबहरूको गरिबी कम पार्नका लागि नयाँ–नयाँ सोच र योजनाहरू ल्याउनुको साटो । गरिबी निवारणका लागि विभिन्न किसिमका कार्यक्रमहरू ल्याइन्छन्, तर दुई छाक खानसम्म नपाउने परिस्थितिमा खासै परिवर्तन आउँदैन ।
विश्व बैंकको परिभाषा अनुसार दैनिक आम्दानी अमेरिकी डलर १.२५ भन्दा कमको आयमा जीवन निर्वाह गर्नु निरपेक्ष गरिबीमा हुनु हो । विकासशील मुलुकका बहुसंख्यक जनताहरू निरपेक्ष गरिबीमा बाँचिरहेका छन् । निरपेक्ष गरिबीमा बाँच्ने जनता शिक्षा, स्वास्थ्य, आवास, शुद्ध खानेपानी जस्ता समस्याबाट मात्र पीडित हुँदैनन्, ढुक्क भएर दुईछाक खान पनि पाइरहेका हुँदैनन् । विकसित राष्ट्रहरूमा हुने गरिबीमा मुख्य गरी कमजोर क्रय शक्ति, स्तरयुक्त जीवनयापनमा समस्या, धनी र गरिबीबीच ठूलो अन्तर जस्ता समस्याहरू रहेका हुन्छन् ।

क्रयशक्तिको हिसाबले गरीब र धनीबीच ज्यादै नै ठूलो अन्तर विकासशील राष्ट्रहरूभन्दा विकसित राष्ट्रहरूमा हुन्छ । गरिबीलाई दुई किसिमबाट विभाजित गरिएको पाइन्छ । पहिलो हो सापेक्ष गरिबी । सापेक्ष गरिबी भनेको एउटाको तुलनामा अर्को गरीब हुनु हो । महिनाको पचास हजार रुपैयाँ आम्दानी हुनेको तुलनामा महिनाको पच्चीस हजार आम्दानी हुने गरीब मानिन्छ । यस किसिमको गरिबी सापेक्ष गरिबी हो । यस्तो किसिमको गरिबी समाप्त पार्न अप्ठ्यारो मात्र होइन असम्भव नै हुन्छ, किनभने कुनै पनि समाजमा व्यक्तिले आफ्नो बौद्धिक क्षमता अनुसार आयआर्जन गर्छ । व्यक्तिको बौद्धिक क्षमता फरक–फरक किसिमको हुन्छ । व्यक्तिहरूमा फरक–फरक बौद्धिक क्षमता हुने भएकोले नै कुनै व्यक्तिको आम्दानी बढी कुनैको कम हुन पुग्दछ । र, यो स्वाभाविक पनि हो । त्यसकारण कसैले बढी आम्दानी गर्नु कसैले कम गर्नु अनौठो कुरा होइन । सापेक्ष गरिबी प्रत्येक मुलुकमा हुन्छ, केही अपवादलाई छाडेर कुरा गर्ने हो भने ।
निरपेक्ष गरिबीलाई भने कम वा दीर्घकालमा समाप्त पार्न सकिन्छ । अर्थात् कुनै पनि मुलुकको सरकार तथा राजनीतिक दलहरू समन्वयात्मक किसिमले दृढ निश्चयका साथ अगाडि बढ्ने हो भने त्यस्तो किसिमको प्रयासबाट निरपेक्ष गरिबीलाई छोटो समयमै कम पार्न सकिन्छ । विकासशील मुलुकहरूमा विकराल समस्याको रूपमा रहेको निरपेक्ष गरिबीलाई तत्काल समाप्त पार्न नसकिए तापनि ठोस प्रयासका साथ योजनाबद्ध किसिमले लाग्ने हो भने यसलाई निकै कम पार्न सकिन्छ । तर, नेपालमा त्यस्तो हुन सकिरहेको छैन । राजनीतिक क्षेत्रमा व्याप्त स्वार्थी प्रवृत्ति नै यसको मूल कारण हो ।
संसारमा हरेक व्यक्तिको आवश्यकता पूरा गर्न पर्याप्त साधनस्रोत छ, तर मानिसको लोभ पूरा गर्न असम्भव छ । गरिबी कम गर्न धनीहरूको सम्पत्ति खोसेर गरिबहरूलाई बाँड्ने सोचाइ आफैंमा अव्यावहारिक मात्र होइन, गरिबहरूकै लागि पनि उपयोगी हुने देखिँदैन । गरीबहरूलाई गरिबीबाट मुक्ति दिलाउन कसैबाट खोसिएको सम्पत्ति वितरण गर्नु भनेको लम्पट सर्वहाराको संख्या बढाउनु हो ।
चिनियाँ क्रान्तिका नायक माओत्सेतुङले आफू श्रम नगर्ने र अरुको पसिनामा बाँच्ने तर कम्युनिष्ट पार्टीका सदस्य भएको ढोल पिट्नेहरुलाई लम्पट सर्वहारा भनेका थिए र यो प्रवृत्ति क्रान्तिको अनुकूल प्रवृत्ति होइन भन्ने उनको भनाइ थियो । गरीबलाई बरु त्यस किसिमको ज्ञान र सीप चाहिएको छ जसको प्रयोग गरेर उनीहरूले गरिबी जस्तो शत्रुसँग युद्ध गर्न सकून्, गरिबीलाई घृणा गर्न सकून् र गरिबीलाई पराजित गर्न सकून् । कुनै व्यक्तिलाई गरिबीबाट मुक्ति पाउन बौद्धिक रूपमा प्रविधिसहित सक्षम पारिएको छ भने उक्त व्यक्तिले आफ्नो त्यो ज्ञानको उपयोग केवल आफ्नो लागि मात्र गर्दैन साथै आफ्नो सन्तानको बौद्धिक विकासका लागि समेत गर्दछ ।
यसरी ज्ञानको हस्तान्तरण हुन्छ । तर, कुनै व्यक्तिले गरिबीबाट मुक्ति पाउन कसैबाट खोसिएको सम्पत्ति पाएको छ भने त्यसरी सम्पत्ति पाउनेले उक्त सम्पत्ति आफ्ना सन्तानलाई हस्तान्तरण गर्छ भन्ने कुराको सुनिश्चितता गर्न सकिँदैन । गरीबहरूलाई नै सक्रिय तुल्याउनुपर्दछ र यसका लागि उनीहरूलाई प्राविधिक ज्ञानसहित बौद्धिकरूपमा सक्षम पार्नुपर्दछ । गरीबहरूलाई प्रतिस्पर्धात्मक र नाश नहुने किसिमको ज्ञान चाहिएको छ, जसले जुनसुकै वातावरणमा त्यसको उपयोग गर्न सकून् । गरीबहरूमा आत्मबल बढाउन जरुरी छ र उनीहरूलाई उनीहरूमा नै रहेको सीप र ज्ञानको प्रयोग गरेर गरिबीबाट मुक्ति पाउने उपायहरू सिकाउन जरुरी छ । गरिबी कम पार्न शिक्षालाई सरल र व्यापक तुल्याउने अभियानमास शिक्षालाई गाउँ–गाउँ, परिवार परिवारसम्म पु¥याएर लोकतान्त्रिक नागरिकको पहिचान बनाउने अभियानको रुपमा विकास गर्नुपर्छ । गरीबहरूलाई अरुको बैशाखीमा बाँच्नेभन्दा उनीहरूकै खुट्टामा जिउने बनाउनुपर्छ ।
२०औं शताब्दीका महान वैज्ञानिक एवम् समाजवादी चिन्तक अल्बर्ट आइन्स्टाइनले संसारको सबभन्दा खतरनाक ठाउँ अति खराब काम गर्ने मानिसहरूबाट भन्दा पनि आलटाल गरिहने र केही नगरी समय कटाउने मानिसहरू हुन्छन् भनेका छन्, यसबाट गरिबीको मूल कारण सिङ्गो राज्यव्यवस्था, संस्कृति र परम्परा भए पनि स्वयम् व्यक्तिको पनि यसमा भूमिका रहन्छ । गरीबले अरु कसैले आफूलाई गरिबीबाट मुक्ति देला भनेर सोच्नुभन्दा आफैं कर्म गरेर मुक्ति खोज्नु उपयुक्त हुन्छ । त्यसैले गरीबलाई होइन, गरिबीलाई घृणा गर्ने हो– सरकारले, राजनीतिक दलहरुले, धनीले, योजनाविद्ले र स्वयम् गरीबले पनि । हाम्रो सोचमा कमजोरी छ । हामी गरिबीको कारणभन्दा पनि गरिबलाई अपमान गर्न लाग्छौं ।
धनी हुनु वा गरीब हुनु एउटा चक्र जस्तै हो । दुश्मन गरिबी हो, गरीब होइनन् । दुष्टलाई घृणा गर्नेभन्दा असल काम संसारमा धेरै छन् भन्ने बुझ्न जरुरी छ । मानिसले जीवनमा पाउने असफलता दुई प्रकारका हुन्छन्– ती असफलता जो सोचिए तर गरिएनन् र जो गरिए तर कहिल्यै सोचिएनन् । जब मानिस भोकले मर्छ, ऊ इश्वरको कृपा नभएर होइन, हामी मानवले उसलाई के आवश्यक छ भनेर नबुझेर ऊ मरेको हो भनेर शान्तिका लागि नोबेल पुरस्कार विजेता सन्त मदर टेरेसाले भनेकी छन् । ती मानिसका कारणबाट हुन्छ, जो त्यो हो, संसारमा दुष्टताको विजय त्यतिबेला हुन्छ, जब असल मानिस पनि केही गदैनन् र निष्कृय जीवन जिउँछन् ।
गरिबी बढ्ने पनि सजिलो उपाय भनेको सक्षम मानिस पनि विभिन्न बहानामा काम नगर्नु हो । सम्पन्न र विपन्नबीचको असन्तुलन र असमझदारी सर्वप्राचीन हो र यो नै लोकतन्त्र र गणतन्त्रका सबभन्दा घातक बिराम हो भनेर ग्रीसेली इतिहासकार प्लुटार्कले नेका छन् । सम्पन्नता र विपन्नताबाट सृजित समस्या र सम्पन्न एवम् शक्तिशाली हुनका लागि अन्य देशका प्राकृतिक स्रोतसाधनको दोहन गर्ने कारणले ससारमा ठूला–ठूला युद्ध भएका छन्, जसको परिणाम गरिबीको बढोत्तरी हो र गरिबको जीवन अझ कष्टकर बन्ने हो । हाम्रा नीति, नियम, अभियान र कर्म गरिबीका बिरुद्ध केन्द्रित गर्न आवश्यक छ ।


























