महानगरले ५० हजार जरिवाना तिराएपछि करिश्मा भन्छिन्, ‘जय बालेन’

0
201

काठमाण्डौं ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बगान’मा अभिनेत्री करिश्मा मानन्धर अभिनयको हिसाबले मात्र संलग्न छैनन्, निर्माणमा पनि संलग्नता छ । उनका श्रीमान् विनोद मानन्धर फिल्मका कार्यकारी निर्माता हुन् ।

यसैले उनी प्रदर्शनपूर्व प्रचारदेखि अहिले हल भिजिटमा सक्रिय छिन् । घरभित्रको लगानी र अभिनयमा वर्षौंपछिको कमब्याक भएकाले उनलाई फिल्म सफलताको दबाब छ ।

उनले फिल्म प्रदर्शनअघि फेसबुकमा स्टाटस लेख्दै काठमाडौं महानगरका प्रमुख बालेन शाह र धरान उपमहानगरका प्रमुख हर्क साम्पाङलाई फिल्मको प्रदर्शनमा सहयोग गर्न आग्रह गरेकी थिइन् । तर, उनले सहयोगको अपेक्षा राखेको मेयर शाह नेतृत्वको काठमाडौं महानगरले ‘बगान’लाई मंगलबार जथाभावी पोस्टर टाँसेको भन्दै ५० हजार जरिवाना तिरायो । जसको ठूलै चर्चा भयो ।

महानगरले ५० हजार जरिवाना तिराएर फिल्मको प्रचार गरेको भन्दै करिश्माले खुसी व्यक्त गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो ! कसले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन ।’ हुन पनि महानगरले तिराएको ५० हजार जरिवानाले ‘बगान’को ठूलो प्रचार भैरहेको छ ।

फिल्ममा करिश्माले एकल महिलाको भूमिका निभाएकी छन् । श्रीमानले आत्महत्या गरेपछि काखे छोरीलाई हुर्काउन र आफूलाई शिक्षित बनाउन उनले गरेको संघर्षको कथामा फिल्म आधारित छ । फिल्ममा उनको अभिनय मध्यम छ । नव-अभिनेत्री प्रमिला कार्कीले भने अभिनयमा सम्भावना देखाएकी छन् । तीन दशकदेखि अभिनयमा सक्रिय सरोज खनाल यो फिल्मका निर्देशक हुन् ।-फिल्मीखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here