तीन लाखमा धितो बन्धक दिएको घर जग्गा मिटर व्याजीको फन्दामा कसरी पर्यो ?

0
95

विनोद सापकोटा,
झापा ।

‘यो घर र जग्गा मिटर व्याजीको फन्दामा छ,’ झट्ट हेर्दा अनौठो लाग्छ । यो ब्यानर घरको अगाडी झुण्ड्याईएको दुई वर्ष भयो । पीडित आफैले सचेतनाका लागि यो व्यानर सबैले देख्ने गरी झुन्डाएका हुन् । पीडितले भने,‘हामी त सडक मा आयौं । हाम्रो जस्तो नियती कसैले भोग्नु नपरोस् भनेर आफैले ५ सय खर्च गरेर यो व्यानर घर अगाडी झुन्डाएका हौं ।’

१० वर्ष अगाडी शिवसताक्षी– ११ का भवानीशंकर नेपाललाई घरायसी कामका लागि तीन लाख रुपैयाँ आवश्यक प¥यो । खेती किसानी गरेर खाने भवानीशंकरसँग सम्पत्तिको नाममा आठ कठ्ठा १२ धुर जग्गा र भत्कन लागेको काठको घर मात्र थियो । उनलाई अप्ठ्यारो परेपछि छिमेकी खड्गबहादुर काम्बाङकहाँ पैसा माग्न पुगे । खड्गबहादुरले उनले मागे जति पैसा तीन लाख दिने भए ।

तर, सर्त तेर्स्याए– घरजग्गा धितो पास गर्नुपर्छ । भवानीशंकरले सम्झिए– बैंकमा जग्गा राखेजस्तै होला, पैसा फिर्ता पाएपछि जग्गा पाइन्छ होला । उनी तयार भए । पैसा तिर्ने समय तीन वर्षको राखियो । फैसा फिर्ता गरेपछि जग्गा फिर्ता गर्ने घरायसी कागज गरियो । कागजको किनारमा चिनेजानेको छिमेकीलाई समेत साक्षि राखेर सहि गराएका थिए भवानी शंकरले ।

भवानीशंकरले मालपोत कार्यालय दमकमा गएर घरजग्गा धितोका रूपमा राजीनामा पास गरिदिए । तर, भवानीशंकरलाई के थाहा गाउँले खड्गबहादुरले बेइमानी गर्छन् भनेर । ‘बुबाले लिएको पैसा तीन वर्ष नपुगी हामीले फिर्ता गर्न खोज्यौँ । उहाँ (खड्गबहादुर)ले लिन मान्नुभएन । तीन वर्ष पुगेपछि पनि पैसा लिन मान्नुभएन । शंका लागेर बुझ्दा त जग्गा त हामीबाट गएपछि पनि धेरैजनाको नाममा पुगिसकेछ,’ छोरा महानन्दले सेतोपाटी संग भने, ‘अहिले पनि तीन लाखको साँवा–ब्याज दिन खोज्दा भोलि–भोलि भन्दै टार्छन् ।’

भवानीशंकरको कित्ता नम्बर २७०१ (ख) र २८९४ (ख) को जग्गा खड्गबहादुरबाट अशोककुमार कोइराला, सुरजकुमार बस्नेत हुँदै अहिले हिमा लिम्बू र हरिमाया पौडेलको संयुक्त नाममा पुगेको छ । हिमा लिम्बूको संरक्षकमा श्रीमान् डम्बर पुलामी बसेका छन् । उनी नेकपा माओवादीनिकट वाइसिएल तत्कालिन प्रदेश– १ का संयोजक थिए । खड्गबहादुरले नेपाल परिवारसँग जग्गा फिर्ता गर्ने भन्दै कागज गरेका छन् ।

पछिल्लोपटक शिवसताक्षी नगरपालिकाको न्यायिक समितिमा भवानीशंकरका छोरा महानन्दले उजुरी दिएपछि पनि खड्गबहादुरले ११ भदौ ०७६ मा तीन महिनाभित्र जग्गा फिर्ता गराउने प्रतिबद्धतासहित कागज गरे र सहि छाप गरेका थिए । तर, अहिलेसम्म जग्गा फिर्ता भएको छैन ।

छिमेकीलाई धितो वन्धक दिएको जग्गा फिर्ता गर्न नपाई भवानी शंकरको मृत्यु तीन वर्ष अघि मृत्यु भयो । भवानी शंकरको मृत्यु भएपछि वाइसिएल नेता पुलामीले नेपाल परिवारलाई बारम्बार घर खाली गर्न धम्की दिइरहेका छन् । ‘हजुरबुबा पनि यही पिरले बित्नुभयो । अहिले हामीलाई बारम्बार घर खाली गर्न माओवादीको नेता डम्बर पुलामीले धम्की दिनुहुन्छ,’ नाति मञ्जिल भन्छन्, ‘दुईवटा घडेरी दिन्छु भनेका छन् । त्यसले के गर्नु ?’

मिटर व्याजीले १ करोड ५ लाख साँवा व्याज गरेर फिर्ता गरे जग्गा फिर्ता दिने अर्का नाती कुसल नेपालले बताए । ‘तीन लाखको १० वर्षमा कसरी १ करोड नाघ्यो ? नाती कुसलले भने, ‘ यिनीहरु सोझा सिधालाई झुक्याएर सडकमा ल्याउन खप्पिस मिटर व्याजी रहेछन् ।’ कुनै हालतमा पनि घर खाली नगर्ने नाती कुसलले बताए ।

नेपालको घर जगगा पूर्वपश्चिम राजमार्गको दुधे देखि करिव सात सय मिटर दक्षिण शिवगञ्ज रोडले छोएको छ । तीन लाखमा डुबेको नेपालको घरजग्गा अहिले करिब ढेड करोडको भएको छ । नेपाल परिवारको आर्यस्रोत नै आठ कठ्ठा जग्गा हो । ‘म रतुवामाई वृक्षरोपण आयोजनामा वनपालेको काम गर्छु । यहीँ खेती गरेर चारजनाको परिवार पालेको छु,’ महानन्द भन्छन्, ‘दुईवटा छोरा पनि यसले नै पढाएको छु । यदि यो डुब्यो भने त म सुकुम्बासी हुन्छु । बर्बाद हुन्छु ।’

झापामा नेपाल जस्तै १०२ जना मिटर व्याजी पीडित छन् । जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन (मिटर व्याजी)का १०२ जना पीडितहरुले निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको ।

गत बैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म दुइपटक म्याद थपेर जिप्रकामा उजुरी दर्ता गराउन नेपाल सरकारले सूचना जारी गरेको थियो । सोही अवधिमा १०२ जनाको निवेदन परेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । उनका अनुसार तीन जना विपक्षीले समेत कार्यालयमा निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।

निवेदन दर्ता गराउनेमा बार्षिक ३६ प्रतिशत व्याज तिर्ने शर्तमा जग्गा धितो पास गराउने बढी रहेका छन् । मिटरव्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण तिरेपछि पनि अझै धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर जग्गा आफ्नो नाममा पास गरेका, सापटी पैसा लगेर पैसा नभएका बैंकको चेक दिएकालगायतका निवेदन छन् ।

जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दर्ता गराएका नेपाल परिवारको गुमेको घर जग्गा फिर्ता आउने सम्भावना नेपाल परिवारले बलियो देखेका छन् । जिल्लाका १५ पालिकामध्ये शिवसताक्षी र दमक नगरपालिकाबाट निवेदन बढी परेको परेको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here