गबारोबाट धानबालीमा क्षति

0
36

दोधारा चाँदनी, 

कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो कीराले क्षति पु¥याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो कीराको प्रकोप देखिएको हो ।

कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा खेतमा गबारो कीराको प्रकोप देखिएको जानकारी दिनुभयो । “रोपेको धानबालीमा गबारो कीराले क्षति पु¥याएपछि निःशुल्क विषादी वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “झण्डै एक सय किसानलाई विषादी वितरण गरेका छौँ, पालिकाको बजेट अभावले सबैलाई विषादी उपलब्ध गराउन सकिएको छैन ।”

अधिकांश किसानको खेतमा गबारोले कीराले क्षति पु¥याएको र त्यसको निर्मूलका लागि विषादी प्रयोग गर्न कृषि अधिकृत धामीले सुझाव दिनुभयो । “पर्याप्त वर्षा नहुँदा सुक्खा भएपछि गोबारोको प्रकोप देखिएको हो”, उहाँले भन्नुभयो, “हामीले सबै वडामा पुगेर नमूना परीक्षण गरिरहेका छौँ ।”

यस्तै शुक्लाफाँटा नगरपालिकाको सुक्खा क्षेत्रमा पनि गबारो कीराको प्रकोप देखिएको छ । शुक्लाफाँटा नगरपालिकाका कृषि प्राविधिक करनसिंह बुढाऐरले पालिकाको सुक्खा क्षेत्रमा खेतमा गबारो कीराको प्रकोप देखिएको बताउनुभयो । “गबारो कीरा देखियो भनेर किसान आउने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “सुक्खा क्षेत्रमा धानबालीमा गबारो कीरा र धमिराको सङ्क्रमण देखिएको छ ।”

धान रोपेकोे महिना दिनमै गबारोको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी जनक सिंहले कञ्चनपुरका दुई पालिकामा मात्रै गबारो सङ्क्रमण देखिएको जानकारी दिनुभयो । “शुक्लाफाँटा र कृष्णपुरमा धानबालीमा गबारोको प्रकोप देखिएको छ”, उहाँले भन्नुभयो, “जिल्लाका अन्य क्षेत्रमा यसको प्रकोप देखिएको छैन ।”

कञ्चनपुरमा ४८ हजार चार सय ९६ हेक्टरमा धानखेती हुने गरेको सूचना अधिकारी सिंहले बताउनुभयो । यहाँ आर्थिक वर्ष २०७७÷७८ मा एक लाख ८९ हजार मेट्रिक टन तथा आव २०७८/७९ मा एक लाख २३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७९/८० मा एक लाख ९० हजार मेट्रिक टन धान उत्पादन भएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here