यसरी लोभिन्छन् पशु चिकित्सक, सशस्त्रले नियन्त्रणमा लियो कुखुरा र जीप

0
43

विनोद सापकोटा,
झापा ।

सशस्त्र प्रहरीले सुनसरीको इनरुवाबाट भारतीय प्रतिवन्धित ब्रोइलर कुखुरा बरामद गरेको छ । मंगलबार बिहान साढे ४ बजे सशस्त्र प्रहरीको इनरुवास्थित ४ नम्बर गणका प्रमुख डीएसपी प्रेम सिग्देल नेतृत्वको टोलीले ‘बोलेरो’ जिपसहित जिउँदो कुखुरा बरामद गरेको हो ।

मधेस प्रदेशको सिराहाबाट झापाको दमकतर्फ ल्याउँदै गरेको ‘ब्रोइलर’ कुखुरा पूर्वपश्चिम महेन्द्र राजमार्गको इनरुवा सडकखण्डबाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोख्रेलले जानकारी दिए । उनका अनुसार स १ च १६८४ नम्बरको ‘बोलेरो’ र त्यसमा रहेको ४०० भारतीय जिउँदो ब्रोइलर कुखुरा बरामद भएको हो ।

प्रतिवन्धित कुुखुरा र माछा आयातमा कोशी प्रदेशमा प्रहरीले कडाइ गरेपछि तस्करले मधेशप्रदेशका नाकाबाट भारतीय प्रतिबन्धित कुखुरा नेपाल भित्र्याउने गरेका छन् । मधेशसमा भारतबाट भित्र्याइएका कुखुरा कोशी प्रदेशमा अबैध ढंगबाट तस्करले ल्याउने गरेका छन् । जिल्ला कुखुरा व्यवसायी संघ सुनसरीका अध्यक्ष डाक्टर राजकुमार यादवले तस्करले नेपालका विचौलिया संगको मिलेमतोमा सुनसरीको कोशी व्यारेज र चतराको कोशी पुलबाट प्रहरीको आँखा छलेर कोशी प्रदेशका विभिन्न शहरमा पु¥याउने गरेको बताए । ‘दैनिक १०देखि १५ वटा गाडीले प्रतिवन्धित जिउँदो कुखुरा कोशीका दुईवटा पुल प्रयोग गरेर सुनसरी, मोङ र झापाको दमकसम्म लैजाने गरेका छन्’– अध्यक्षले भने ।

सशस्त्र प्रहरीका डीएसपी सिग्देलले सिराहाका पशु चिकित्सक जगतनारायण यादवले बरामद गरिएका कुखुराको निरोगिताको प्रमाण–पत्र जारी गरेको बताए । डा. यादवले नेपाल भेटेरिनरी काउन्सिलबाट २८४ नम्बरको सदस्यता लिएको भेटेरिनरी पेपरमा उल्लेख भएको पनि उनले जानकारी दिए ।

चिकित्सकले खोरमा गएर कुखुराको स्वास्थ्य र जात छुट्याएर बस्तुको प्रमाणित गर्नुपर्छ । तर, भारतीय कुखुरालाई नेपालमा बैधता दिन डा. यादवले फिल्डमै नपुगी बरामद भएको कुखुराको भेट्नरी प्रमाण पत्र जारी गरेका छन् । उनले जारी गरेको प्रमाण–पत्रमा ‘कव ५००’ उल्लेख छ । तर, इनरुवा नगरपालिकाका पशु चिकित्सक डा. राजकुमार यादवले बरामद भएको कुखुरा भारतीय जात ‘कव ४००’ भएको दावी गरेका छन् । उनले भने– ‘बरामद भएको कुखुरा नेपालमा नपाइने जात हो, यो भारतीय जात हो ।’

यता, डा. जगतनारायण यादवले फिल्डमा नपुगी कुखुराको भेटेरिनरी प्रमाण–पत्र भुलबस जारी भएको स्वीकार गरेका छन् । बरामद गरिएका कुखुराको झुटो विवरण दिने डा. यादवले भने– ‘मैले कुखुराको स्थलगत जाँच गरेको होइन । सिराहाको जय कृष्ण ट्रेडर्सले मेरा नाममा काउन्सिलबाट जारी भएको भेटेरिनरी प्रमाण–पत्रको दुरुपयोग गरेका रहेछन् । प्रतिवन्धित भारतीय कुखुरा दमकका कुखुरा व्यवसायी कुलवहादुर तामाङलाई पठाएको थाह पाएँ’– उनले भने– भेटनरी प्रमाणमा अगाडि मैले हस्ताक्षर गरेको थिएँ । त्यही हस्ताक्षरलाई दुरुपयोग गरेर जय कृष्ण ट्रेडर्सले दमकका व्यवसायीलाई बिक्री गरेका रहेछन् ।’

यता पशु क्वारेन्टाइन सुनसरीका प्रमुख डा. सरिलाल चौधरीले कुखुराको जाँच नगरी भेटेरिनरी कागज दिने डा. जगतनारायण यादवलाई कार्वाहीका लागि भेटेरिनरी काउन्सिलमा सिफारिस गर्ने बताए । बरामद गरिएका कुखुरा पशु क्वारेन्टाइनमा र ‘बोलेरो’ जिप भने भन्सार कार्यालय बुझाइने र त्यसको बजार मूल्य ५ लाख पर्ने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here