दमक ।

दैनिक रुपमा १ हजारभन्दा बढी बिरामीहरु जाँचका लागि आउने सरकारी दमक अस्पतालमा आवश्यकता अनुसार पङ्खा (फेन) समेत जडान हुन नसक्दा विरामीहरुले हैरानी व्यहोर्नु परेको छ ।
दमक नगरपालिका मातहत रहेको अस्पतालको नयाँ भवनबाट सेवा शुरु गरेको छ महिना बित्दा पनि जाँचका लागि आउने बिरामीहरुका लागि आवश्यकता अनुसार फेनको समेत व्यवस्था नभएपछि हैरानी व्यहोर्नु परेको हो ।
दमकका जे बिमलीका अनुसार बिहान ७ बजे लाइन बसेको विरामीले विशेषज्ञलाई भेटन ५ देखि ६ घण्टासम्म कुर्नु पर्ने अवस्था रहेको छ । यस्तो गर्मीको समयमा ६ घण्टासम्म कुर्दा थप विरामी हुनुपर्ने अवस्था आउँदासम्म पनि नगरपालिकाको ध्यान नजानु गम्भीर बिषय हो– उनले भने ।
पहिलो दिन विशेषज्ञ भेट्न र आवश्यक जाँच गर्न लाग्ने रहेछ– उनले भने । दोश्रो दिन त्यो रिपोर्ट देखाएर औषधि लिन लाग्ने अवस्थामा दुई दिन अस्पतालमा रहँदा विरामीको अवस्था के हुन्छ ? आफैं बुझ्नुहोस्, उनले भने । कमसेकम फेनको व्यवस्था, इन्टरनेटको व्यवस्था त गर्न सकिन्थ्यो होला– उनी भन्छन् ।
दमक अस्पतालको आम्दानी पनि राम्रो रहेको र अहिले पनि खातामा १० करोडभन्दा बढी रकम रहेको जनाइएको छ । नगर प्रमुख रामकुमार थापाको संयोजकत्वमा नै अस्पताल सञ्चालक समिति पनि बनेको छ । अस्पताल श्रोतका अनुसार अस्पतालको नाममा खातापाता नचलेको र नगरपालिकाले आफ्नै खाताबाट रकम चल्ने ब्यवस्थापन गरेकाले एउटा कलम किन्न पनि माग फारम भरेर नगरपालिकामा जानु पर्ने अवस्था रहेको छ ।
एक सयदेखि १ सय २५ वटासम्म फेन राख्नु पर्ने अवस्था रहेको भनेर बारम्बार भनिएको अस्पताल श्रोतले जनाएको छ । दमक नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र भट्टराईका अनुसार अस्पताल सञ्चालक समितिले चिकित्सकहरुको कार्यकक्षमा एसी र विरामीहरुका लागि लाइनमा बस्दा सहज होस् भनेर फेन राख्ने निर्णय डेढ महिना अघि नै भएको छ ।
प्रक्रिया पुर्याउनुपर्ने भएकाले समय लागेको उनले बताए । नगरपालिकाले त्यसै खरिद गर्न नमिल्ने भएकाले प्रक्रियामा जाँदा केही ढिला भएको हो– उनले भने । विशेषज्ञ चिकित्सकलाई देखाउन लाइन बस्नु पर्ने बिरामीहरुका लागि लाइन बस्ने ठाँउमा केही समयमा नै फेनको ब्यवस्था हुने उनले बताए । समस्या र अप्ठ्यारोको बिषयमा जानकारी रहेको छ– उनले भने ।
दमक अस्पताल नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमको लागि दमक सहित नजिक रहेका कमल गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिकाको प्रथम बिन्दु अस्पताल हो ।
दमक नगरपालिका प्रमुख थापाले अस्पतालको सेवा विस्तार र सुदृढीकणका लागि प्रयास भइरहेको बताएका छन् । बिरामीको चाप अधिक रहेका कारण व्यवस्थापनमा कठिनाइ भए पनि हामी सुधारका प्रयास गरिरहेका छौं– उनले भने ।































