आज जुलाई ३० का दिन मानव बेचबिखनबिरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१३ देखि यो दिवस मानव बेचबिखनबिरुद्ध जनचेतना जगाउने र पीडितको मानव अधिकार संरक्षण गर्ने उद्देश्यले मनाउन थालिएको हो । मानवको बेचबिखन वा तस्करी प्रत्येक वर्ष बढिरहेको र खासगरी बालबालिका तथा महिला यस्तो अपराधबाट प्रताडित रहेका छन् । विश्वमा कम्तीमा अठ्ठाइस प्रतिशत बालबालिका र सत्तरी प्रतिशतभन्दा बढी महिला बेचबिखनको शिकार हुने गरेको तथ्यांकले देखाएको छ । त्यसमा पनि दक्षिण एसियामा मात्रै चालीस प्रतिशत बालबालिका बेचबिखनमा परेको संयुक्त राष्ट्र संघको तथ्यांकमा उल्लेख छ ।

मानवका विभिन्न कमजोर पक्ष तथा अवस्थालाई आधार बनाएर मानवद्वारा मानवकै बेचबिखन गरिने कार्य मानव बेचबिखन हो । यस्ता अपराध विश्वका ठूला र विकसित भनिने देशदेखि विकासशील देशहरुमा पनि निरन्तर भइरहेका छन् । आममानिसका शिक्षा, रोजगारी र स्वास्थ्य सेवाको पहुँच साझा समस्या हुन् । त्यसैले मानव बेचबिखन विश्वकै लागि जटिल समस्याका रुपमा रहेको छ । आज चेतनाको विस्तार भएसँगै सामाजिक सञ्जालको प्रयोग तथा दुरुपयोग, वैदेशिक रोजगारी, पैसा कमाउने लोभ, गरिबी, भ्रष्टाचारको व्यापकता र सूचनाको अपर्याप्तताले यस्तो अपराधलाई मलजल गरिरहेको छ ।
पछिल्लो समय नेपालमा मानव बेचबिखन तथा ओसारपसारका घटनाका स्वरुपमा फेरबदल हुन थालेको छ । विभिन्न बहानामा देशभित्रै बेचिने वा शारीरिक तथा मानसिक शोषणमा पर्नु परेका घटना दिनहुँ सार्वजनिक भइरहेका छन् । गरिबीको फाइदा उठाउँदै विभिन्न प्रलोभन देखाइ यौन शोषण गर्नेदेखि बेचिनु परेका घटनाहरुमा सचेतनाका बावजुद कमी आउन सकेको छैन । त्यसैगरी रोजगारीका नाममा वाह्य देशमा पु¥याएर शोषण गरिनु वा शोषणमा पर्नु पनि सामाजिक अपराध कै श्रृंखला हो । कुनै व्यक्तिको इच्छा विपरीत, धम्की दिएर, जबर्जस्ती वा झुक्याएर कुनै प्रकारको शोषण गर्नु अथवा यौन शोषण गर्नु पनि मानव बेचबिखनकै उदाहरण हो । यस वर्षको नारा ‘पीडितसँग पुगौं, कसैलाई न्यायबाट वञ्चित नपारौं’ भन्ने रहेको छ । त्यही नाराको लक्ष्य अनुरुप यस्तो अपराधका बिरुद्ध सामुहिक आवाज आउनुपर्छ । मानव बेचबिखनबिरुद्ध सशक्त रुपमा लड्नुपर्छ र यस्तो अमानवीय अपराधको श्रृंखला रोक्दै यसलाई निरुत्साहित गर्नुपर्छ ।

























