दशनामीको जनसंख्या कसरी घट्यो ?

0
49

उमेश भारती,

१२औं राष्ट्रिय जनगणना २०७८को जात जातिगत विवरणसहितको पूर्ण प्रतिवेदन १९ जेष्ठ २०८०मा सार्वजनिक भयो । प्रकाशित विवरणमा नेपालमा १४२ जाति, १२४ भाषा र १० विभिन्न धर्म मान्ने समुदाय रहेको उल्लेख छ ।

तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा धेरै जनसंख्या भएको जाति क्षेत्री र कम जनसंख्या भएको जाति नुराङ रहेको छ । जसमा दशनामी जातिको जनसंख्या १ लाख ९८ हजार ८ सय ४९ जना देखाइएको छ ।
जुन कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय अठ्हत्तर जनामध्ये ०.६८ प्रतिशत दशनामी हुन आउँछ । यो विवरण २०६८को जनगणनाभन्दा ०.१८ प्रतिशतले कमी हो । २०६८को गणनामा दशनामीको जनसंख्या ०.८६ प्रतिशत थियो । त्यतिबेला २ लाख २७ हजार ८ सय २२ जना दशनामीको संख्या थियो भने २०५८ को जनगणनामा ०.८८ प्रतिशत थियो । बीस वर्ष अगाडि नै दशनामीको संख्या १ लाख १ हजार १ सय एकाइस थियो । राष्ट्रिय सर्वाधिक महत्वको गणनामा दशनामी जातिको संख्या किन र कसरी घट्यो भन्ने विषय सर्वत्र चासो र खोजीको विषय बनेको छ ।
जनगणना २०७८को पूर्व सन्ध्यामा नेपाल दशनामी समाजले गिरी, पुरी, भारती, वन, आरण्य, तीर्थ, सागर, सरस्वती, पर्वत र आश्रम १० थरलाई जातीय महलमा दशनामी लेखाउनु भन्ने सचेतना पनि नगरेको होइन तर जातीय पहिचानको कुरा नबुझेर या नबुझाइएर धेरै जसोले जातीगत महलमा क्षेत्री लेखाइएको भेटियो ।

कर्णाली प्रदेशको खसान क्षेत्र मूल थातथलो भएको दशनामी जाति देशको ७३ जिल्लामा बसोबास गरेको देखिन्छ जस्मा मनाङ, मुस्ताङ, रसुवा र डोल्पामा बसोबास देखिँदैन भने हुम्ला जिल्लामा १३ जना पुरुषको मात्र संख्या देखाइएको छ । यो जातिको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला दाङ र पालिकामा तुलसीपुर उपमहानगरपालिका रहेको छ । दाङ जिल्लामा १२ हजार ७५७ जना र तुलसीपुरमा ४ हजार १७० जना देखिन्छ भने प्रदेशहरुमध्ये सबै भन्दा धेरै संख्या लुम्बिनी प्रदेशमा ४५ हजार १८४ जना र कम जनसंख्या रहेको प्रदेशमा गण्डकीमा १३ हजार ६ सय ४० जना उल्लेख गरिएको छ । मुलुकभरि १ लाख ३ हजार १ सय २० जना महिला र ९५ हजार ७ सय २९ जना पूरुष देखाईएको दशनामी जातिको कोशी प्रदेशमा ३४ हजार ४ सय ३७ जना संख्या देखिन्छ ।

यस प्रदेशको कूल जनसंख्या ४९ लाख ६१ हजार ४ सय १२ हो यसरी हेर्दा कोशी प्रदेशमा ०.६९ प्रतिशत मात्र दशनामी हुन आउँछ । झापा जिल्लाकै कुरा गर्ने हो भने कूल जनसंख्या ९ लाख ९८ हजार ५४ जना मध्ये १० हजार ७ सय ८२ जना मात्र दशनामी छन् । यो संख्या १.०८ प्रतिशत हुन आउँछ । तथ्याङ्क र यथार्थ संख्या मेल खाँदैन, नेपाल दशनामी समाजसँग मुलुकभर बसोबास गर्ने बन्धुको संख्या ४ लाखभन्दा माथि रहेको विवरण छ भने झापामा समेत २० हजारको हाराहारीमा संख्या छ ।

राष्ट्रिय कूल जनसंख्यालाई प्रतिशतको आधारमा रोलक्रममा राख्दा दशनामी २५आंै स्थानमा मात्र आएको छ । यस समुदायका मानिसलाई समेत आफ्नो पहिचान के हो ? भन्ने कुरा उत्तिसारो ज्ञान छैन, झन बाहिरी मानिसले पुरी, वन, भारती भनेको के थरी हो भनेर उदेक लाग्दो जिज्ञासा तेस्र्याएर दशनामी बन्धुलाई उपेक्षा गरेको पाइन्छ । गणनामा हाम्रो समुदायलाई जान्ने बुझ्ने मान्छे नभएको कारण गणकहरुले समेत दुविधामा तथ्याङ्क संकलन गरेको यर्थाथ सहजै अनुमान गर्न सकिन्छ ।

खस–आर्य समुदायका अन्य जाति क्षेत्रीको १६.४५ प्रतिशत, ब्राहमणको ११.२९ प्रतिशत र ठकुरीको १.७ प्रतिशत जनसंख्या रहेको छ, यसै समुदाय अन्तर्गत पर्ने १० थरी दशनामी राज्यको लाभ सुविधा र पहिचानको क्षेत्रमा अझै पनि ओझेमा पारिएका छौ । खस आर्य समुदायलाई छुट्याइएको समानुपातिक कोटामा हाम्रो समाजलाई विशेष आरक्षण र समावेशी प्रतिनिधिको ग्यारेन्टी बैधानिक हिसावले गराइनुपर्छ । हाम्रो समुदायको रीतिरिवाज, संस्कृति ऐतिहासिकतालाई संरक्षण, सम्बद्र्धन गर्न राज्यले अझै पनि यथेष्ट ध्यान पु¥याउन सकेको छैन । यो बिडम्बना हो । देशमा ठूला मानवशास्त्री, समाजशास्त्री हूँ भन्ने स्वघोषित बुद्धिजीवी पण्डितहरुले मन्दिर आश्रम, अखडा सत्संगमा बस्ने विभिन्न जात धर्मबाट विरक्तिएर केही समयका लागि सन्यास लिएका साधु सन्त, फकिर, पन्थीलाई समेत पहिचानको नाममा हाम्रो समुदायमा जबरजस्ती धकेलिदिएर भ्रम पार्ने र पहिचान गिजोल्ने गरेको पनि पाइन्छ ।

दशनामी भनेको कर्मले हैन, जन्मजात गृहस्थ आश्रममा रहेको खस सभ्यतामा हुर्केको आदिवासी हो । आादि जगतगुरु शंकराचार्यलाई कूल गुरु मान्ने दशनामीको पहिचान र सभ्यता शंकराचार्यको जन्म हुनुभन्दा सयांै वर्ष अगाडिदेखि नै खसान क्षेत्र सभ्यताको इतिहास हो । परापूर्वकालमा हिन्दू धर्मभन्दा जेठो शैव धर्म मान्ने र आज पनि मष्टो देवता पुज्ने आदिम जाति हो ।

खासगरी मुलुक संघीय गणतन्त्रमा गएपछि कतिपय स्थानीय पालिका, प्रदेशहरुले स्थानीय पाठ्यक्रम निर्माण गर्दा समेत हाम्रो जातिको बाहुल्य रहेको स्थानमा समेत जातीय पहिचानका विषयहरुमा दशनामीको पहिचान अटाउन नसकेको तीतो यथार्थ पाइन्छ ।

दश÷दश वर्षमा जनगणना गर्नु भनेको नागरिकको टाउको गन्नु मात्र होइन, समग्र विकास नीतिको खाका साथै राष्ट्रिय पहिचानको उन्नत ऐना हेर्नु पनि हो । २०४८ सालको जनगणनामा नेपालमा जम्मा ६० जाति, ३१ भाषाभाषी थिए ।

अर्को दश वर्षपछि २०५८ सालको गणनामा १०१ जाति ९२ भाषाभाषी पुगे भने २०६८ सालको जनगणनामा १२५ जाति र १२३ भाषा देखियो र हाल २०७८को गणनामा १७ जाति थपिएर १४२ जाति पुगे । युगको माग बमोजिम पहिचानको मुद्दालाई झन फराकिलो र दरिलो हुँदै गएको तथ्याङ्कले नै बताउँछ । यसपटक त झन मगरबाट पुन, गुरुङबाट घले, र थारुबाट रानाथारु छुट्याइएको छ ।

नेपालको संविधान २०७२को धारा २५८ अनुसार गठित राष्ट्रिय समावेशी आयोगले आफै अग्रसरता लिई राज्यको तर्फबाट विज्ञ कार्यदल गठन गरी दशनामी समुदायको जातीय अस्तित्वको गहिरो खोजी गर्नको लागि अध्ययन अनुसन्धान गर्न अति जरुरी छ, नत्र दशनामी समाजको अस्तित्व खिइँदै जान सक्ने खतरा टार्न सकिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here