पाटेनागी क्षेत्रमा ७०० गुराँसका बिरुवा रोपियो

0
118

भगीरथ भण्डारी,
इलाम ।

इलाममा धेरै पर्यटकीय गन्तव्य रहेका छन् । कतिपय ठाउँ उत्कृष्ट गन्तव्यको सूचीमा छन् त कतिपय ठाउँ चर्चामा आउन सकेका छैनन् ।

पर्यटकीय गन्तव्यका लागि भरिपूर्ण रहेको पाटेनागी क्षेत्रको विकासका लागि इलाम नगरपालिका काम गरिरहेको छ । पर्यटनको सम्भावना बोकेको उक्त क्षेत्रमा डिपिआर तयार गरेरै काम गरिरहेको हो । सात सयभन्दा बढी रातो र सेतो फुल्ने रैथाने जातका गुराँसका बिरुवा रोपिएको हो ।

पर्यटन क्षेत्रको विकासका लागि काम भइरहेको उक्त क्षेत्रमा नगर प्रमुख केदार थापाको अध्यक्षता तथा इलाम जिल्ला समन्वय समितिको प्रमुख जयप्रकाश राईको प्रमुख अतिथ्यमा वृक्षरोपण कार्यक्रम गरिएको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी, इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेपाली सेना कर्नेल, नेपाल प्रहरी इलामका प्रमुख, इलाम नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, पत्रकार पाटेनाघी पर्यटन विकास समिति स्थानीय बासीको श्रमदानमा बिरुवा रोपिएको हो । यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न डिपिआर तयार गरेरै काम गरिरहेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले यस क्षेत्रको विकास गर्न सके इलामको पर्यटन क्षेत्रमा थप टेवा पुग्ने भन्दै नगरपालिकाले योजना बनाएरै काम गरिरहेको बताए । ‘पाटेनागी क्षेत्रको विकासका लागि पर्यटन बोर्डसँग समन्वय गरिरहेका छौं खड्काले भने– ‘गत आर्थिक वर्षमा प्रदेश सरकार मार्फतको बजेटबाट पनि केही काम भइरहेको र यस वर्ष नगरपालिकाले वनभोज स्पटको व्यवस्थापनका लागि काम गर्ने योजना बनाएका छौं ।’

जैविक विविधताको अवलोकनका साथै रेडपाण्डाको वासस्थान समेत रहेको उक्त क्षेत्रमा रेटपाण्डा नेटवर्कसँग समन्वय गरी रेडपाण्डा जोनको सिमाङ्कन गर्ने तयारी रहेको खड्काको भनाइ छ । यहाँ पुग्ने पर्यटकलाई सहज बनाउने उद्देश्यका साथ बागखोर बजारबाट धनमाने देउरालीसम्म कच्ची सडकको स्तरोन्नति गर्ने काम नगरपालिकाले गरिरहेको छ ।

पाटेनागी पुग्दा

यहाँबाट जिल्लाभित्र र बाहिरका अधिकांश ठाउँको दृश्य देखिनुका साथै जैविक विविधताले र प्राकृतिक सौन्दर्यले भरिपूर्ण फाँट देख्न पाइने भएको कारण नगरपालिकाले गुरुयोजना तयार गरेरै काम शुरु गरेको हो । तीन हजार ५४ मिटरको उचाइमा रहेको पाटेनागी क्षेत्रबाट चाँदी झैं टल्किएका हिमालको आनन्द सँगै सूर्योदय र सूर्योस्थको मज्जा लिन सकिन्छ । यहाँबाट आँखैअघि चाँदी झैं टल्किने सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने र यहाँबाट सूर्योदय र साविक पूर्वाञ्चलका धेरै भू–भाग नियाल्न सकिन्छ ।

यस क्षेत्रमा घना गुराँसे जङ्गल रहेकाले चैत बैशाखको समयमा राताम्मे हुने गरेको छ भने फरक–फरक रङ्गमा फुलेका गुराँसले जता हे¥यो उतै राताम्मे देख्न सकिन्छ । विश्वमै दुर्लभ मानिएका रेडपाण्डा (हाब्रे), थार, ध्वाँसे चितुवा, सालक, चरी बाघ, राजपङ्खी, कालो भालु लगायतका वन्य जन्तु पाइनुका साथ धेरै प्रजातिका चराचुरुङ्गी, सयौं प्रजातिका जडीबुटीहरू पाइन्छन् । पाटेनागी आसपास कुहिभिर, नाग ढुङ्गा, धनमाने देउराली लगायत रमणीय ठाउँ छन् ।

इलाम र पाँचथरको सिमानामा पर्ने लोहाकिल पनि पाटेनागी क्षेत्रमै पर्दछ । सीमा क्षेत्र भए पनि लोहाकिल पाँचथरतिर परे पनि यहाँबाट इलामको सौन्दर्य अनि झापाका सुन्दर फाँटहरू देखिन्छ । यहाँ सानु पुवा खोला, देउमाई खोला, ठूलो पुवा खोला लगायत खोलाहरूको उद्गम स्थल रहेको छ । पाटेनागीबाट सुन्दर देखिने देशकै पर्यटकीय क्षेत्रको रुपमा रहेको छिन्टापु पनि देख्न सकिन्छ ।

बसन्त ऋतुमा डाँडा पाखाभरि राताम्मे फुल्ने लालीगुराँस अनि छिन्टापुको काखैमा रहेका पोखरीहरूमा कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको दृश्यले पर्यटहरुको मनै लोभ्याउने गर्दछ । यो क्षेत्र सन्दकपुरको हाराहारी र सन्दकपुरभन्दा ठूलो क्षेत्र भएको कारण विकास गर्न सके पर्यटकीय गन्तव्यका लागि अब्बल रहेको छ ।

जिल्लाको साबिकका चमैता, पुवामझुवा, माइपोखरी, पाँचथरको पौवा सारताप, रानीटार र लुङरूप्पा गाविसले छोएको यस स्थान पुग्न इलामको सदरमुकामबाट ४० किलोमिटर पर्दछ । इलाम नगरपालिका एकको बाग खोर बजारबाट छ किलोमिटरको कच्ची सडकको यात्रा पछि यहाँ पुग्न सकिन्छ । बागखोर बजारबाट पैदल मार्ग समेत निर्माण गरिएको छ । यो क्षेत्र सानु पुवा खोला, देउमाई खोला, ठूलो पुवा खोला लगायत खोलाहरूको उद्गम स्थल र नाग ढुङ्गा भएको कारण धार्मिक हिसाबले पनि अब्बल मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here