दमक ।

झापाको कमल गाउँपालिकाले किसानहरुलाई निःशुल्क रुपमा अग्र्यानिक ‘कमल झोल’ वितरण शुरु गरेको छ । रासायनिक मलको न्यूनीकरणका लागि पालिकाले किसानहरुलाई निःशुल्क रुपमा जैविक मलको रुपमा कमल झोल वितरण शुरु गरेको हो ।
कमल गाउँपालिकाका कृषि शाखा प्राविधिक प्रेम पोखरेलका अनुसार पालिकाको कार्यालय परिसर र वडा नं. ६को वडा कार्यालयको परिसरबाट किसानले आवश्यकता अनुसार कमल झोल प्राप्त गर्नेछन् । ७ वटै वडाका किसानहरुले कमल झोल सहज रुपमा पाउने गाउँपालिकाले जनाएको छ ।
झोलमल स्थानीयस्तरमा उपलब्ध हुने गोबर, पिसाब र वनस्पतिहरूको प्रयोग गरी सहजै रुपमा बनाउन सकिन्छ । यसमा सख्खर र ‘वेस्ट डी कम्पोजर’ को सम्मीश्रणबाट तयार गरिएको कमल झोल मलको ब्राण्डिङ समेत पालिकाले गरेको छ । यसभन्दा अघि पालिकाले कमल युरिया, कमल प्राङ्गारिक, कमल जीबामृतलगायत सात प्रकारका मल बनाएर किसानलाई निःशुल्क वितरण गरेको थियो ।
झोलमलमा प्रयोग भएका सामग्रीमा बिरुवाका लागि आवश्यक युरिया, क्रेटानाइन, फिनोल, कार्बोलिक एसिड, एमिनो एसिड, जिबेरेलिन, क्याल्सियम, म्याग्निज जस्ता पोषक तत्व पाइने भएकाले अग्र्यानिक खेतीका लागि यो प्रभावकारी हुने कृषि प्राविधिकहरुको भनाइ छ ।
यहाँ उत्पादन भएको झोलमल उत्पादन र प्रयोगबाट रासायनिक मल तथा विषादिमा लाग्ने खर्च कटौती गर्न सकिन्छ भन्ने विश्वास लिएका छांै– गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भने । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राख्दै अग्र्यानिक उत्पादनमा जोड दिँदै आएको पनि राईले बताए ।
किसानले आवश्यकता अनुसार पालिका र वडा परिसरमा रहेको झोल मल आफंै झिकेर लैजान सक्ने व्यवस्था मिलाइएको पनि राईले जानकारी दिए । किसानहरुले मल लैजानका लागि भाँडाकुँडा भने लिएर आउनुपर्नेछ । पालिकाले माटो सुधारका लागि निःशुल्क रुपमा माटो परीक्षण गर्न ल्याव पनि स्थापना गरेको छ ।






























