नेपाल, बंगलादेश र श्रीलंका उडान गर्दै भारतको आकासा एयर

0
84

काठमाण्डौं ।

भारतीय निजी वायुसेवा कम्पनी आकासा एयरले नेपाल उडान गर्ने भएको छ। आकासाले नेपालसहित श्रीलंका र बंगलादेशमा उडान गर्न लागेको हो।

आकासाले मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका अन्य देशमा उडान गर्न नयाँ जहाज थपेको छ। आकासाले अन्तर्राष्ट्रिय उडानका लागि आफूलाई योग्य बनाउँदै मंगलबार २०औं जहाज थपेको जानकारी दिएको छ।

कम्पनीले गत महिना मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका श्रीलंका, नेपाल र बंगलादेशका रुटमा नेटवर्क विस्तार गर्ने जानकारी दिएको थियो।

अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि योग्य बन्न एयरलाइन्सको कम्तीमा २० वटा जहाज हुनुपर्छ। बोइङको ’७३७ म्याक्स–८–२०’ सिरिजका जहाज थप्ने आकासा एयर पनि एसियाकै पहिलो एयरलाइन बनेको छ। अमेरिकाबाट उडेको उसको जहाज मंगलबार बेंगलुरु आइपुगेको कम्पनीले जानकारी दिएको छ।

‘हाम्रो जहाज संख्यामा आज कोसेढुंगा थपिएको छ। जसले अन्तर्राष्ट्रिय उडानको अध्याय थपिएको घोषणा गर्छ। यसले हामीलाई हाम्रो भविष्यबारे धेरै आशावादी बनाएको छ। हामी हाम्रो अद्वितीय र विशिष्ट सेवा संसारमा प्रदर्शन गर्न उत्साहित छौं,’ आकासा एयरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनय दुबेले भने।

गत वर्ष अगस्टमा सुरु भएको आकासा एयरको बजार हिस्सा ४.९ प्रतिशत थियो। गत महिना बढेर ६ लाख १८ हजार यात्रुले आकासा जहाजबाट उडान गरेका थिए। गो फर्स्ट एयर समस्याग्रस्त हुँदा आकासाको बजार हिस्सा बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here