मेची भन्सारको बेथिति फलोअप: कन्टेनरको सामानको राजश्व छलेको पुष्टि

0
114

पार्थ मण्डल,
झापा ।

झापास्थित मेची भन्सार कार्यालय काँकरभिट्टाबाट बाहिरिएको कन्टेनरभित्र लाखौँको राजश्व छलेको सामान भेटिएको राजश्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ ।

सन्तोष खवास प्रोप्राइटर रहेको स्वाभिमान सन्स एण्ड सप्लायर्स मेचीनगरले मेची भन्सारमा तिरेको भन्दा बढी र फरक सामान कन्टेनरमा फेला परेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले पूर्वाञ्चललाई जानकारी दिए । राजश्व अनुसन्धानले कन्टेनर खोलेर छानबिन गर्दा भन्सार प्रज्ञापन–पत्र भन्दा बढी र फरक सामान जफत गरेसँगै भन्सारभित्रबाटै राजश्व छली भएको प्रमाणित भएको छ ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा कन्टेनरमा राजश्व तिरेको भन्दा बढी सामान भेटियो’– राजश्व अनुसन्धान कार्यालयका प्रमुख आचार्यले भने– ‘भन्सार प्रज्ञापन–पत्र भरेको सामान जफत हुँदैन, त्योभन्दा बढी भएको सबै सामान जफत गरेका छौँ ।’ प्रज्ञापनपत्रमा उल्लेख नभएको अफजल प्रामाणिक स्वादको गुड नाम लेखिएको ८० कार्टुन हुक्काको फ्लेवर, काँचनको झ्याली/ झ्याम्टा एक हजार किलो र हुक्कामा प्रयोग हुने कोइला ३०० किलोभन्दा बढी भेटिएको उनले बताए ।

राजश्वले जफत गरेका सामान बापत ४८ लाख ४१ हजार रुपैयाँ धरौटी माग गरेको छ । कन्टेनरको चालकको हकमा ५० हजार धरौटी कायम गरिएको उनले बताए । राजश्वले पहिलो चरणमा सामान जफत गरी बिगो र धरौटी रकम कायम गरेको बताउँदै उनले भने– ‘राजश्वले अब थप छानबिनको प्रक्रिया अघि बढाउँछ ।’ भन्सारबाट बाहिरिएको कन्टेनरभित्र कसरी यतिका सामान फेला प¥यो । त्यस बारेमा मेची भन्सारलाई राजश्वले पत्र काट्नेदेखि भन्सार कर्मचारीमाथि छानविन गर्छ । ‘छानबिनको क्रममा कर्मचारी दोषी देखिएमा विभागीय कारबाही हुन्छ’– उनले भने ।

यता जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले साउन १२ गते शुक्रबार बेलुका ७ बजेर १५ मिनेटमा मेचीनगर–६स्थित फायरिङ चोकमा पार्किङ गरी राखिएको ना६ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएर राजश्वमा बुझाएको थियो । मेची भन्सार परिसरभित्रबाट विभिन्न सामान लोड गरी बाहिरिएको कन्टेनरभित्र राजश्व छलेको लाखौँ रुपैयाँको सामान रहेको विशेष सूचनाको आधारमा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो ।

कन्टेनरभित्र राजश्व तिरेको भन्दा बढी र फरक सामान फेला परेपछि एक करोड १ लाखको सामान र २० लाखको कन्टेनरसहित एक करोड २१ लाख २७ हजार ५ सय मूल्य तोकेर आवश्यक कारबाहीका लागि राजश्वमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here