भद्रपुरको ३ करोड ८७ लाख बजेट फ्रिज

0
125

झापा ।

भद्रपुर नगरपालिकाको ३ करोड ८७ लाख रुपैयाँभन्दा बढी रकम फ्रिज भएर फिर्ता गएको छ ।

नगरपालिकालाई गतआर्थिक बर्ष ०७९/०८०मा संघीय र प्रदेश सरकारबाट प्राप्त सशर्त/विशेष/समपूरक अनुदानतर्फको ३९ करोड २० लाख ७३ हजारमध्ये ३ करोड ८७ लाख १८ हजार २ सय ५१ रुपैयाँ ९७ पैसा फ्रिज भएर फिर्ता गएको नगरपालिकाको आर्थिक प्रशासन शाखाले जनाएको छ ।

त्यसमध्ये संघीय सरकारबाट प्राप्त विशेष अनुदान पुँजीगततर्फ मेची किनारमा ल्याण्डफिल्ड साइड निर्माण (फोहोरमैला व्यवस्थापन) को दुई करोड ५० लाख बजेट पूरै फ्रिज भएर फिर्ता गएको छ । प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान पुँजीगततर्फ संगम चोकदेखि भन्सार सडक निर्माणको एक करोड बजेटमध्ये २ लाख ३२ हजार ७६० रुपैयाँ खर्च भई बाँकी रकम ९७ लाख ६७ हजार २४० रुपैयाँ फ्रिज भई फिर्ता गएको छ ।

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ३३ लाखमध्ये १२ लाख ६२ हजार २६० रुपैयाँ, उन्नत वीऊ वितरण अनुदान कार्यक्रम/कृषि स्नातक करार/बीऊ विजन उत्पादन आपूर्ति तथा व्यवस्थापनको १८ लाखमध्ये ७ लाख ३८ हजार ८५८ रुपैयाँ, कृत्रिम गर्भधारण/ पशु आहार मिसन कार्यक्रम/हरियो घाँस विस्तार कार्यक्रमको १९ लाखमध्ये ८ लाख ५२ हजार ४५९ रुपैयाँ, गरिब परिवार पहिचान तथा परिचय–पत्र वितरण कार्यक्रमको पूरै २ लाख रुपैयाँ फिर्ता गएको आर्थिक प्रशासन शाखाले जनाएको छ ।

त्यसैगरी रोजगार प्रवद्र्धन कार्यक्रम/ सामी परियोजनाको ६१ लाखमध्ये १७ लाख ८८ हजार २६१ रुपैयाँ, विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडीपी कार्यक्रमको ५ करोड १२ लाख ४ हजारमध्ये ३५ लाख ३ हजार ९६२ रुपैयाँ, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको २७ लाखमध्ये २१ लाख १५ हजार २८३ रुपैयाँ, खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रमको ३ लाख ३५ हजार रुपैयाँ पूरै फिर्ता गएको जनाइएको छ ।

भद्रपुर–५स्थित मेची किनारमा ल्याण्डफिल्ड साइड निर्माणका लागि बजेट निकासा भए पनि नेपाल–भारत सीमामा पर्ने दशगजा क्षेत्रमा सो निर्माण कार्य गर्न असम्भव देखिएकोले सो बजेट फिर्ता गएको योजना तथा प्राविधिक शाखाका इञ्जिनियर योगेन्द्र रञ्जितकारले जानकारी दिए । ‘भारतले तटबन्ध गर्न त दिएन, त्यहाँ कसरी ल्याण्डफिल्ड साइड बनाउन सकिन्छ र ?– उनले भने ।

अब छिमेकी पालिकाहरु कचनकवल र हल्दिबारीसँग समन्वय गरी तीन वटै पालिकाको एउटै ल्याण्डफिल्ड साइड बनाउने बारेमा छिट्टै छलफल गरिने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here