भगीरथ भण्डारी
इलाम ।

पानीको समस्याका कारण मध्य साउनसम्म पनि किसानले रोपाइँ गर्न सकेका छैनन् ।
पानी पर्न छाडेपछि इलामका धेरैजसो ठाउँमा आलि काटेका खेत बाँझै छन् । खोलाको पानी नपुग्ने र धेरै दिनयता आकाशबाट पानी नपरेको कारण खेत रोप्न समस्या भएको हो । पानी अभावका कारण रोपाइँ हुन नसकेपछि धानको बीऊ बुडिने अवस्था रहेको किसान बताउँछन् ।
इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पामा खेत आली काटेर बाँझै रहेका छन् । आकाशबाट पानी नपर्नु र कुलोमा आउने पानी पनि सुख्खाको कारण खेतमा नसर्ने भएको हुँदा रोपाइँ गर्न समस्या भइरहेको स्थानीय पञ्च योङहाङ बताउँछन् ।
‘अझै पनि दोकानडाँडा मुनि धेरै खेत रोपाइँ हुन बाँकी नै छ पानी आउन सकेको छैन टन्टलापुर घाम लागेर धुलो उड्न थालिसकेको छ’ –योङहाङले भने– ‘कुलोको पानी पालो सिस्टममा लगाएर थोरै–थोरै रोपाइँ त हुँदैछ, तर आकाशको पानी नभएपछि कति पनि नहुँदोरहेछ ।’
खोल्सा नजिकका केही खेत रोपाइँ भए पनी खोल्सा आसपास बाहेकका खेत पानीको समस्याका कारण रोपाइँ हुन सकेका छैनन् । त्यस क्षेत्रको एकातिर देउमाई खोलो र अर्कोतिर फाकफोक खोला बगे पनि खोला गहिरो ठाउँमा रहेको हुँदा खेतीका लागि पानी प्रयोग गर्न सकिँदैन । खोलाको पानी पनि नआउने र आकाशबाट पनि पानी नपरेको कारण खेती किसान समस्यामा रहेका छन् । रोपाइँ हुन नसकेपछि आकाशबाट पानी पर्छ कि भनेर किसान आकाश हेरेर दिन बिताइरहेका छन् ।
फाकफोकथुममा मात्र होइन इलाम नगरपालिका–९ मा पनि धेरै खेत बाँझै छन् । कुलो नलाग्ने र खोल्साको सानो पानीको भरमा खेती गर्नुपर्ने हुँदा खोल्सै सुक्ने अवस्था भएपछि रोपाइँ हुन नसकेर खेत बाँझै छन् । साउन लागेयता पानी पर्न नसक्नु र बर्खामा खडेरी लागेको कारण रोपाइँ हुन नसकेपछि मानो रोपेर मुरी उब्जाउने समयमा किसान आकाश हेरेर बस्न बाध्य छन् ।
लामो समयदेखि पानी पनि नपरेको र चर्को घामले खोल्साको सानो पानीमा दुःखले रोपिएको ठाउँमा पनि धान मर्न थालेको छ । रोपेपछि सिँचाइ हुन नपाएपछि रोपिएको धान डढ्न थालेको हो ।
जिल्लामा ६९ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । समथर जिल्लाको माई नगरपालिका र चुलाचुली गाउँपालिकामा सबैभन्दा धेरै खेती हुने र उक्त क्षेत्रमा रोपाइँ भइसकेको कारण ६९ प्रतिशत देखिए पनि अन्य पालिकामा रोपाइँ हुन सकेको छैन ।
चुलाचुली र माईका क्षेत्र तराइसँग जोडिएको र खोलाको पानी प्रयोग गर्न सकिने भएको कारण धेरैजसो रोपाइँ भइसकेको छ, तर पहाडी भेगका पालिकाका खेतीमा भने रोपाइँ हुन सकेका छैनन् ।
कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जिल्लाको सबैभन्दा बढी धान उत्पादन हुने माई नगरपालिका र चुलाचुली गाउँपालिकामा धेरै रोपाइँ भए पनि अन्य पालिकामा पानीको समस्याका कारण रोपाइँ हुन नसकेको बताए ।






























