नरेन्द्र ढकाल,
बिर्तामोड ।

टुथपिकदेखि सियो मात्र होइन चामलदेखि कोदो तथा बन्दागोभीदेखि फर्सीसम्म आयात गरेर विदेशीको भरपर्ने बानी परेका नेपालीलाई आत्मनिर्भर बनाउन नेपाल कम्युनिष्ट पार्टी (विप्लव) माओवादी लागीपरेको छ ।
अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । उत्पादनबिना कुनै पनि मुलुकको अर्थतन्त्र सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा व्यहोरिरहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक भएको नेपाल कम्युनिष्ट पार्टीका मेची व्यूरो प्रमुख सुमन सीको भनाइ छ । आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवम् कार्यकर्ताको नारा दिएर मुलुकभर यो अभियान चलाइएको विप्लव माओवादीले जनाएको छ ।
‘एकीकृत क्रान्ति’ को नारा बोकेर हिँडेको नेकपा यतिबेला संगठन विस्तारलाई उत्पादनसँग जोड्न थालेको छ । बाँझो रहेका खेतबारीहरू हरियाली बनाउँदै संगठन विस्तार गर्ने योजनाका साथ काम भइरहेको सुमनको भनाइ छ । विप्लव माओवादीले झापासहित इलाम, पाँचथर लगायतका जिल्लामा सामुहिक खेती गरिरहेको छ । जग्गा लिजमा लिएर खेती गरिरहेको तथा केही ब्यक्तिगत जग्गामा समेत सामुहिक रुपमा खेती गरिरहेको मेची ब्यूरो प्रमुख सुमनले बताए ।
झापाको गौरीगञ्जमा दुई बिगाह जग्गा भाडामा लिएर सामुहिक धानखेती गरिएको छ भने दमकमा एक विगाह जग्गा लिजमा लिएर धान रोपिएको विप्लव माओवादीले जनाएको छ । कनकाई, शिवसताक्षी लगायतका क्षेत्रमा कागती खेती, बाख्रापालन पनि गरिरहेका छन् । झापाको दमक र बिर्तामोडमा होटल सञ्चालनको तयारी भइरहेको जनाइएको छ । सी भान्सा–घर नाम राखेर होटल सञ्चालन गरेर व्यवसायिक क्षेत्रमा समेत अघि बढेको विप्लव माओवादीका मेची व्यूरो प्रमुख सुमनले बताए ।
त्यस्तै नेकपाका कार्यकर्ताले इलाममा तीन हजारभन्दा बढी चियाका बिरुवा रोपेका छन् भने पाँचथरमा अम्लिसो, अदुवा लगायतका खेती पनि गरिरहेका छन् । पछिल्लो समय हरेक क्षेत्रलाई उत्पादनसँग जोड्नुपर्ने आवाजहरू उठिरहेका छन् । अनिवार्य श्रम र उत्पादनमा जोडेर केही बाँझो भूमिलाई हरियाली बनाउनुपर्छ भन्ने योजनाका साथ काम गरिरहेको सुमनको भनाइ छ । देशको ठूलो पुँजी विदेश गइरहेकाले अब आत्मनिर्भरको बाटो अपनाउनुको विकल्प नभएको भन्दै उनले भने– हाम्रो गाउँ–घरमा उत्पादन हुने वस्तुमा विदेशीको भरपर्दा परनिर्भरता बढ्छ । यसलाई न्यूनीकरण गर्न आत्मनिर्भर भएको बाटोतर्फ अब सबैलाई एकीकृत गर्नुछ । उनले आउँदो वर्षसम्ममा मेचीका सबै पालिकामा सामुहिक खेती गर्ने योजना रहेको बताए ।

मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउनुपर्छ भन्ने पार्टीको योजना रहेकाले श्रम र उत्पादनसँग जोडिनुपर्छ भनेर अभियान सञ्चालन गरेको नेताहरू बताउँछन् । उत्पादन र श्रममा जोडिने बेलामा को नेता को कार्यकर्ता भन्ने नहुने भएकाले नेपालमा कम्युनिष्ट पार्टीमा बस्ने नेतादेखि कार्यकर्तासम्म उत्पादनमा जोडिएको सुमनले बताए । उत्पादनसँग जोडिएपछि पार्टीमा लागेका कोही पनि भोकै बस्न नपर्ने दाबी नेताहरूले गरेका छन् ।
नेकपाले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता–कार्यकर्ता तथा आत्मनिर्भर देशको उद्देश्यसहित देशव्यापीरुपमा एक सय विगाह क्षेत्रफलमा धान खेती गरेको बताइएको छ । विप्लवले यतिवेला देशको परनिर्भरताको पराकाष्टा देखेरै हुनसक्छ भाषणमा भन्दा श्रमलाई प्राथमिकता दिइरहेका छन् । सबैले नेपालमा केही हुँदैन, युवाहरू विदेश जाउँ, आफ्नो व्यक्तिगत जीवन समृद्ध बनाउँ भनिरहेका बेला नेपालमा सबै सम्भव छ भन्दै युवाहरुलाई विप्लवले आशावादी बनाउने काम गरिरहेको मेची व्यूरो प्रमुख सुमनको भनाइ छ ।
आफ्नो देशलाई माथि नउठाउँदासम्म बिदेशीको अगाडि नेपालीको शिर कहिल्यै उचो नहुने विप्लवको ठहर रहेको छ । विप्लवले बङ्गुर पालन, पशुपालन, तरकारी खेती, स–साना घरेलु उत्पादनलाई जोड दिँदै आएको छ । युवालाई सबै क्षेत्रमा अब्बल र आत्मनिर्भर बनाउँदै देशको अर्थतन्त्रलाई मजबुत बनाउन आफूहरु लागीपरेको पार्टीका झापा सेक्रेटरी सञ्जय सीले बताए ।
देशको आर्थिक क्रान्ति तथा राजनीतिक क्रान्तिमा लागेको विप्लव माओवादीले नागरिकलाई उत्पादनसँग जोडेर श्रम र आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले उत्पादन र बजारीकरणमा ध्यान दिएर काम गरिरहेको बताइएको छ । अर्थतन्त्र सफल नभएसम्म मुलुकको राजनीतिक स्थायित्व नहुने भन्दै विप्लव माओवादीले सबैलाई श्रममा जोड्ने काम गरिरहेको मेची व्यूरो इञ्चार्ज सुमनको भनाइ छ ।





























