बाह्रदशीको अर्थ नीति व्यवसायीको पक्षमा: अविवाहित प्रमाणित गर्न रु.१०००

0
372

झापा ।

के तपाईं अविवाहित हुनुहुन्छ ? यदि अविवाहित हुनुहुन्छ भने अविवाहित भएको प्रमाणित गर्न शुल्क तिर्नुपर्ने भएको छ । बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा प्रकाशित गरेको राजपत्रमा अविवाहित भएको प्रमाणित गर्न एक हजार रुपैयाँ शुल्क लाग्ने उल्लेख छ ।

नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न एक सय ५० रुपैयाँ लाग्नेमा अविवाहित भएको प्रमाणित गर्न भने एक हजार रुपैयाँ लाग्ने भएको हो । यसअघि पालिकाले नागरिकता प्रमाणपत्रको सिफारिस गर्न एक सय रुपैयाँ लिँदै आएकोमा आर्थिक वर्ष २०८०÷०८१ मा ५० रुपैयाँ वृद्धि गरेको हो । त्यस्तै नागरिकताको प्रतिलिपि सिफारिस गर्न दुई सय रुपैयाँ लिने राजपत्रमा उल्लेख छ भने नाता प्रमाणित गर्न
पाँच सय रुपैयाँ लाग्ने भएको छ । यसअघि नाता प्रमाणित गर्न तीन सय रुपैयाँ मात्रै लाग्दै आएको थियो । त्यस्तै बसोबास प्रमाणित गर्न पाँच सय रुपैयाँ लाग्ने राजपत्रमा उल्लेख छ । पालिकाले अविवाहित प्रमाणित गर्न मात्र होइन नाबालकको परिचयपत्र बनाउन गरिने सिफारिसका लागि समेत शुल्क लिने भएको छ । जसका लागि दुई सय रुपैयाँ शुल्क लाग्ने जनाइएको छ ।

यता गाउँपालिकाले सम्बन्धविच्छेदको सिफारिसमा तेब्बर बढी शुल्क बढाएको छ । सम्बन्धविच्छेदका लागि गरिने सिफारिसका लागि यस अघि तीन सय रुपैयाँ लिँदै आएकोमा यस वर्षबाट बढाएर एक हजार रुपैयाँ पु¥याइएको छ ।

व्यवसायीका लागि घट्यो करको दर

बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट व्यवसायीको पक्षमा ल्याएको छ । नागरिकको दैनिकीलाई प्रत्यक्ष प्रभाव पार्ने विषयमा मौन देखिएको पालिकाले व्यवसायिक क्षेत्रमा भने करको दर घटाएर आर्थिक नीति व्यवसायीको पक्षमा ल्याएको छ ।

गत आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षदेखि लागू हुने गरी करको दर घटाएसँगै राजश्व संकलन प्रभावित हुने देखिएको हो । पालिकाले फर्निचर उद्योगदेखि मदिराको थोक तथा खुद्रा र इँटा उद्योगको करको दर घटाएर व्यवसायी पोस्ने काम गरेको हो । गाउँपालिकाले स–मिलसहितको काठ उद्योगमा गत वर्ष आठ हजार रुपैयाँ कर लिँदै आएकोमा यस वर्षदेखि पाँच हजार रुपैयाँ कायम गरेको छ । त्यस्तै फर्निचर उद्योग वेन्सोसहित गत वर्ष पाँच हजार रुपैयाँ कर लिँदै आएकोमा यस वर्ष तीन हजार रुपैयाँ कायम गरिएको छ । गाउँपालिकामा रहेको इँटा उद्योगबाट ५० हजार रुपैयाँ कर लिँदै आएकोमा यस वर्षबाट २० हजार रुपैयाँ घटाएर ३० हजार कायम गरिएको छ ।

त्यस्तै इँटा टायल, मार्वल लगायतको थोक तथा खुद्रा बिक्रेताले वार्षिक रुपमा तीन हजार रुपैयाँ कर तिरे पुग्ने भएको छ । यसअघि उनीहरुले वार्षिक रुपमा पाँच हजार कर तिर्दै आएका थिए । वार्षिक रुपमा करोडौंको कारोवार हुने उद्योगहरुबाट करको दर घटाएर गाउँपालिकाले व्यवसायीलाई फाइदा पुग्नेगरी बजेट ल्याएको हो । नागरिकले सिफारिस तथा घर जग्गाको करको दायरा नघटेको भनेर पटक–पटक आवाज उठाउँदा समेत व्यवस्था नगरेको गाउँपालिकाले व्यवसायीको पक्षमा भने व्यवसायीलाई पोस्ने काम गरेको स्थानीयको आरोप छ ।

यता घर जग्गाको सिफारिसमा समेत करको दर बढाएको पाइएको छ । मूल बाटोले छोएको जग्गाको प्रति सिफारिस एक हजार रुपैयाँ लिने गाउँपालिकाले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ । यसअघि पालिकाले सिफारिस शुल्क सात सय रुपैयाँ लिँदै आएको थियो ।

त्यस्तै सहायक बाटोले छोएको जग्गाको प्रति सिफारिस दुई सय रुपैयाँ बढाइएको छ । यसअघि छ सय रुपैयाँ राजश्व लिँदै आए पनि यस आर्थिक वर्षदेखि सिफारिस दस्तुर आठ सय लिन लागिएको हो । भित्री शाखा बाटोले छोएको जग्गाको प्रति सिफारिस पाँच सयबाट सात सय, बजार क्षेत्रले छोएको जग्गाको प्रति सिफारिस एक हजार रुपैयाँबाट एक हजार पाँच सय रुपैयाँ पु¥याइएको छ । बाटोले नछोएको जग्गाको प्रति सिफारिस तीन सयबाट पाँच सय बनाइएको छ ।

त्यस्तै विद्युत मिटर जडानका लागि गरिने सिफारिसमा पनि शुल्क बढाइएको छ । कृषि व्यवसाय तथा सिँचाई प्रयोजनका लगि मिटर जडानमा एक सय ५० रुपैयाँलाई बढाउँदै दुई सय रुपैयाँ पु¥याइएको छ । आवासीय घरमा एक सय ५० बाट दुई सय रुपैयाँ बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here