तिलक योञ्जन
झापा।

झापा अर्जुनधारा नगरपालिका वडा नम्बर –२ साठ्ठीमुरेका शेरबहादुर सिजाली मगर दुई महिना यता रोगले थला परेका छन् । २ छोरा, एक श्रमती र एक आमाको मुख्य सहारा नै थला परेपछि अहिले यो परिवारले रोग र आर्थिक संकटसँंग लडाइँ गरिरहेको छ ।
मगर परिवारको जेष्ठ सदस्य तथा शेरबहादुरकी आमा रनमाया सिजाली मगर विगत केही बर्षदेखि अशक्त अवस्थामा छिन् । उमेरले ९१ वर्ष पर गरेकी आमा र परिवारको स्याहार तथा पालनपोषण गर्दै आएका शेरबहादुर दुई महिनाअघि उच्च–रक्तचापका कारण ढलेपछि अहिले यो परिवारमा स्वास्थ्य समस्यासँंगै आर्थिकसंकट चुलिएको छ ।
शेरबहादुर थला परेकी आर्थिक अभावकै कारण परिवारले राम्रो उपचार समेत गराउन पाएको छैन । मगर अहिले अरु कसैको साहरा बिना उठ्न–बस्नै नसक्ने अवस्थामा हुनुहुन्छ । अहिले मगरको देब्रे पट्टिको शरीरको भाग नचल्ने अवस्थामा रहेको परिवारले बताएको छ ।
यस्तो अवस्थामा परिवारको जिम्मेवारी काँधमा लिनुपर्ने उमेरका छोराहरु भए पनि उनीहरु दुवै सामान्य अवस्थामा भने छैनन् । मगरको जेठा छोरा सन्तोषको मानसिक अवस्था सामान्य नभएको बताइएको छ । उनी डिप्रेसनको रोगी भएको आफन्तले बताएका छन् । कान्छो छोरा सुमन मृगौला रोगी हुन् । उपचार पश्चात स्वास्थ्य लाभ गरिरहेपनि उनले दिलोज्यान दिएर काम गर्न सक्ने अवस्था छैन । मगरको श्रीमती पुष्पा सिजाली मगर पनि विभिन्न रोगका कारण स्वास्थ्य समस्या भोगिरहेकी छिन् । स्वास्थ्यमा समस्या भएपनि अहिले परिवारको स्याहार उनले नै गरिरहेकी छिन् ।
घरमा बुढी सासू र घर धान्ने आफ्ना श्रीमान ओछ्यानमा परेका छन्, कान्छा छोराको उपचारमा विगतमा घर गाउँले र साहारा नेपाल सहकारीसँंग लिएको ऋण अझै तिर्न सकेको छैन्, आफ्नो पैतृक सम्पत्ति पनि छैन् । घरमा सबै बिरामी हुनुहुन्छ, जवान छोराहरु पनि असक्षम छन्,कमाएर ल्याउने कोही नहुदाँ जीवन यसै पनि चरम कष्टमा बाँचिरहेका छौ –मगरले भनिन् ।
उनले भनिन् – गाउँले छिमेकीहरुले सक्ने जति सहयोग गर्नु भएको छ, अन्य दुई÷तीन वटा संघ–संस्थाबाट केही सहयोग आएको हो तर पनि हामी यो अवस्थामा छौं, अब बिरामीको उपचार गर्नु छ, घर पनि चलाउनै पर्ने छ, म अहिलेसम्म ज्याला मजदुरी गरिरहेको छु तर मलाई पनि यो ढाड दुख्ने समस्याले दःुख दिइरहन्छ ।
थला परेका शेरबहादुर आफूलाई पीडा भइरहेको बताउँछन् । उनले भने – शरीरका विभन्न भागमा दुखाइ छ, देब्रे पाटो चलेको छैन्, पिसाब लागे अरुको यहीँ गर्छु । उनलाई दिसापिसाब लाग्दा समेत चर्पीसम्म लैजाने अवस्था नभएको आफन्तले बताएका छन् । चिकित्सले शेरबहादुरको स्वास्थ्यमा सुधार ल्याउन राम्रोसंँग थेरापी गर्न सुझाएका छन् । परिवार र आफन्तले अझै व्यवस्थित उपचार गर्ने पहल गरिरहेका छन् । तर उनीहरुका लागि अहिले आर्थिक अभाव मुख्य समस्या बनेको छ ।
साधारण बाँसको टाटी–बेराले बनेको घरमा बसेका मगर परिवारसँंग, न सुत्ने खाट छ न त पर्याप्त लत्ताकपडा र खानेकुरा नै छन् । आर्थिक अभावकै कारण अहिले मगर परिवारले राम्रोसंँग उपचार गराउन पाएका छैनन् । यो परिवारलाई अहिले केही व्यक्ति तथा संघ–संस्थाहरुले सहयोग गरेका छन् ।
यसैबीच झापामा सक्रिय क्लब हिमालयन टाईगर बिर्तामोडको टिमले मगरको घरमा पुगेर उनीहरुको स्वास्थ्य अवस्था बुझेको छ । क्लबले केही आवश्यक सामाग्री, फलफूल र खाद्यान्न सहयोग गरेको क्लबका अध्यक्ष भीम कडरियाले जानकारी दिए । पहिलो चरणमा क्लबका सदस्यहरु र केही निकटका दाताहरुको समन्वयमा मगर परिवारलाई सहयोग हस्तान्तरण गरिएको उनले बताए ।
आगामी दिनमा विभिन्न माध्यम र स्रोतहरुसँंगको समन्वयमा उक्त परिवारका लागि पहल गर्ने उनको भनाइ छ । क्लबले मगर परिवारको सहयोग अभियानमा जोडिनका लागि मनकारी दाताहरुलाई आह्वान समेत गरेको छ ।































