अर्जुनधारा नगर विकासको मकै बाली बीज वृद्धि कार्यक्रमबाट कृषकहरु उत्साहित

0
86
अमित खम्बू,
अर्जुनधारा ।
झापाको अर्जुनधारा–८ स्थित अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले गत वर्षदेखि परीक्षणको रुपमा शुरु गरेको मकै बाली बीज वृद्धि कार्यक्रम प्रभावकारी भएको छ ।
उक्त कार्यक्रममार्फत् संस्थाले अर्जुनधारा–१, ४, ७ र ९ नम्बर वडाका ३० जना कृषकलाई उत्पादनको लागि उन्नत जातको रामपुर कम्पोजिट एक सय ५० केजी बढी मकैको बीज वितरण गरेको थियो ।
हालसम्म तीन हजार आठ सय ९० केजी अर्थात् ९७ मन १० केजी मकै कृषकहरुबाट संकलन भएको संस्थाका उपाध्यक्ष छत्र पौडेलले जानकारी दिए । उनी भन्छन्–“अझै केही कृषकहरुबाट मकै आउन बाँकी रहेको हुँदा सबै संकलन हुँदा अनुमानित आठ हजार केजी पुग्ने छ ।”
खडेरी र सिञ्चाईं अभावका कारण केही समस्या भए पनि संस्थाले शुरु गरेको उक्त कार्यक्रममार्फत् संस्था र कृषक दुवै उत्साहित भएको उपाध्यक्ष पौडेलले दावी गरे । संकलन भएको मकै भण्डारणको अवस्थामा रहेको र बाँकी सबै मकै संकलन भएपछि बीज वृद्धिको प्रक्रियामा अगाडी बढ्ने उनले बताए ।
त्यसैगरी संस्थाका कृषिविज्ञ टेकबहादुर पोखरेलले भण्डारण गरिएको मकै बीज वृद्धीको लागि सुनसरीमा रहेको प्रयोगशालामा परीक्षणका लागि पठाइने जानकारी दिए । परीक्षण गरिएको मकैको ग्रेडिङ गरे पश्चात् बजारीकरणमा जाने संस्थाको तयारी रहेको उनले बताए ।
अर्जुनधारा नगरपालिकालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले संस्थाले शुरु गरेको यस कार्यक्रमलाई सफल बनाउन सम्बन्धि निकायसँगै सरोकारवालाहरु सबै लाग्नुपर्ने संस्थाका अध्यक्ष प्रत्युस रानाले बताए । यस कार्यक्रमको लागि आवश्यक पूँजी, अनुदान र पूर्वाधारको व्यवस्थापन गर्न सकेको खण्डमा यसलाई नगरपालिकाको सबै वडामा विस्तार गर्न सकिने अध्यक्ष रानाले दावी गरेका छन् ।
धान बालीसँगै मकै बाली बीज वृद्धी कार्यक्रममा प्रभावकारी कार्य गरेको संस्थाले गहुँ, तोरी र जय घाँसको पनि बीज वृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यसैबीच संस्थाले अर्जुनधारा नगरपालिकाकासँगको साझेदारीमा मकैको बीज उत्पादक कृषकहरुलाई बुधबार एक कार्यक्रमको आयोजना गरि रकम वितरण गरेको छ ।
संस्थाका अध्यक्ष रानाको अध्यक्षता र नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बजारको मूल्य भन्दा ४० प्रतिशत बढी रकम भुक्तान गरिएको बताइएको छ ।
बजारमा प्रति मन एक हजार दुई सय रुपैयाँ रहेकोमा संस्थाले प्रति मन दुई हजार रुपैयाँका दरले एक लाख ९४ हजार पाँच सय रुपैयाँ रकम कृषकहरुलाई वितरण गरेको बताइएको छ । कार्यक्रममा अर्जुनधारा–९ स्थित जागृती कृषक समूहका सदस्य निर्मल दाहाललगायतले आफ्नो धारणा राखेका थिए ।
संस्थाकी सदस्य देवकला प्रसाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here