‘पार्टीभित्रका छिद्रलाई सार्वजनिक ठाउँमा देखाउने गलत बानी सुधार गर्नुपर्नेमा जोड’

0
50

बिर्तामोड।

पार्टी भित्रको आन्तरिक अभियानका क्रममा झापामा रहेका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसले कांग्रेसलाई नै खेदिराखेको अवस्था र पार्टीभित्रका छिद्रलाई सार्वजनिक ठाउँमा देखाउने गलत बानी सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीको आन्तरिक जीवनमा देखिएका समस्याको पहिचान गर्ने र समाधानका लागि कार्यकर्ताको सुझाव संकलन गर्ने उद्देश्यले कांग्रेसले साउन २० देखि ३० गतेसम्म अभियान सञ्चालन गरिरहेको छ ।

सोही अभियान अन्तरगत झापा क्षेत्र नं.–२ क्षेत्र, नगर, वडा तथा जिल्ला सदस्यहरुसंगको छलफलका क्रममा उपस्थित कार्यकर्ताले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा अभियानमा झापाका लागि केन्द्रीय प्रतिनिधि विश्वकर्माले यस्तो बताएका हुन् ।

राजनीतिक दलले पनि कति बेला के गर्ने हो भन्ने कुरामा सचेत हुनुपर्नेमा जोड दिंदै विश्वकर्माले कुनै बेला नेपाल टेलिकम र एनसेल मोवायलको प्रतिष्पर्धात्मक अवस्था र त्यसमा जनताले पाएको लाभको उदाहरण प्रस्तुत गरे ।
संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले कार्यकर्ताको कुरा नसुन्ने प्रबृत्ति परिवर्तन हुनुपर्नेमा जोड दिंदै बेरोजगारी लगायत विभिन्न कारणले उत्पन्न फ्रष्ट्रेसनबाट विदेशीन बाध्य युवाका कारण नेपालका ठूला दलहरुलाई चुनौति थपिएको बताए ।

पार्टीभित्र संस्थागत निर्णय भन्दा व्यक्तिगत भनाईको बढी प्रचार हुँदा संस्थागत निर्णय ओझेलमा परेको उल्लेख गर्दै सबैले संस्थागत निर्णयलाई प्रचार गर्नुपर्नेमा जोड दिए । नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटीले पार्टीको आन्तरिक संरचनामा पदाधिकारीमा पनि महिलालाई अवसर दिनुपर्ने माग गरिन् । निर्वाचनमा समानुपातिकमा भोट नआउनुको कारण पार्टीभित्रैको आन्तरिक कारण भएको बताउँदै आन्तरिक कमीकमजोरीलाई पार्टीले स्विकार गरेर सच्याउन तत्पर हुनुपर्ने उनको भनाई थियो ।

महाधिवेशन प्रतिनिधि सिता पौडेलले पानी सफा हुनका लागि मुहान सङ्लिन जरुरी भएजस्तै पार्टी सङ्लिनका लागि पहिले नेता सच्चिनुपर्ने धारणा राखिन् । महाधिवेशन प्रतिनिधि राधा सुब्बाले बिर्तामोडमा परम्परादेखिकै गुट भन्दा माथि उठ्न नसकेको जनाउँदै ठूला कुरा गर्ने र पार्टीका पक्षमा चर्का नारा लगाउनेहरु नै भोटका दिन कैची लगाउनु पर्छ भन्दै हिड्ने गरेको बताइन् । अघिपछि कांग्रेस भोट हाल्ने दिन कैची देखाउने र तिनै कैची देखाउनेलाई नेतृत्वले सच्चा कार्यकर्ता देख्ने प्रबृत्ति अन्त्य नभएसम्म समस्याको समाधान नहुने सुझाव दिइन् ।

धर्म लक्सम्बाले पार्टीभित्र गुटले समस्या पारेको बताए । पार्टीभित्र आफ्नै आस्थाको फरक मत राख्नेलाई स्वीकार गर्नुभन्दा अन्य पार्टी समर्थितलाई नजिकको ठान्ने प्रबृत्ति हावी भएसम्म पार्टीभित्र सुधार ल्याउन नसकिने बताए । चिनीनसक्नुका चरित्र झापा कांग्रेसभित्र देखिएको उनको भनाई थियो ।

देवी घिमिरेले कार्यकर्ता व्यवस्थापनमा नेताले अडान राख्नुपर्ने बताए । व्यक्तिपिच्छे बचन दिएर नेताले कार्यकर्तालाई आकांक्षी बनाएकै कारण चुनावमा समस्या देखिने गरेको उल्लेख गर्दै नेताले बचन दिन र कार्यकर्ता व्यवस्थापन गर्न नसकेका कारण चुनावी परिणाम हात नलागेको उल्लेख गरे ।

पुष्पलाल चौधरीले पार्टीले आदिवासी जनजातिको भोटमात्रै खोजेको आरोप लगाउँदै पार्टीको वडा संरचनामा प्रतिनिधित्व नगराएको भन्दै आपत्ती जनाए । मोहन अधिकारीले पार्टीभित्र केटाकेटीपन देखिएको बताउँदै पदीय जिम्मेवारीमा रहेर गुटको बिल्ला भिराउँदै अनावश्यक कुरा भन्ने र सामाजिक सञ्जालमा लेख्ने क्रम अन्त्य गर्ने मेकानिजम तयार गर्न सुझाव दिए ।

झापा क्षेत्र नं–२ का उपसभापति किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव चन्द्र चुडालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here