पुल नबन्दा मोहनडाँगीबासी जोखिमपूर्ण यात्रा गर्दै

0
44

छविराज ढकाल,
बेलबारी ।

सलल सलल बगिरहेको खोला, त्यो खोलामाथि खानेपानीका लागि बिच्छ्याइएको पाइप, त्यही पाइपको छेउ–छाउमा सटेरै बनाइएको मक्किएको बाँसको स्थायी फटके ।

यो दृष्य मोरबको बेलबारी नगरपालिकाको वडा नम्बर ५ को हो । बगिरहेको केशलिया खोलामाथि स्थानीयले खानेपानीको लागि राखिएका पाइपसँगै पुराना बाँसको फटके (बाटो) बनाएका हुन् ।

त्यही पाइप र बाँसको सहाराको भरमा ज्यानै जोखिममा राखेर सोही वडामा पर्ने मोहनडाँगीका दैनिक २० भन्दाबढी बिद्यार्थीहरु यही बाटो भएर आवतजावत गर्दै आएका छन् । उज्ज्वल भविष्यको खोजीमा निस्किने त्यो ठाउँका बालबालिका र दिनहुँ गर्जो टार्न स्थानीयवासीहरू सोही जोखिमपूर्ण खोला तर्ने फटके हिँड्न बाध्य छन् ।

मुलुकमै विकसित जिल्ला मोरब भनेर चिनिने यो जिल्लाको अतिसुगम बेलबारीनगरपालिकाको क्षेत्रभित्र यस्तो विकट गाउँ छ भन्दा पत्यार नलाग्न सक्छ ! तर, यो केशलिया खोलाले मोहनडाँगी गाउँ र स्थानीयको दैनिकीलाई जो कोहीलाई बिकट कर्णालीको झल्को दिलाउँदै आएको छ । यही फटके भएर दिनहुँजसो ज्यानै जोखिममा राखेर विद्यार्थी र स्थानीय वारिपारि गर्छन् । तर पनि स्थानीय सरकार भनिएको नगरपालिकाका जनप्रतिनिधिहरूको नजर त्यसमा पर्न सकेको छैन । स्थानीयले आफ्नो वर्षौंदेखिको समस्या समाधान गर्न स्थानीय सरकारको आँखा कहिल्यै नपुगेको गुनासो पोखेका छन् ।

बेलबारी–५ को वारि र पारिको मोहनडाँगी जोड्ने पक्की पुल वा झुलुङ्गे पुल हालसम्म पनि नबन्दा त्यहाँका बासिन्दाको बर्षौदेखिको समस्या ज्यूँकोत्यूँ बनिरहेको छ । हरेकपटकको निर्वाचनमा यो खोलामाथि पुल बनाइदिने भन्दै आश्वासन बाँडिन्छ । तर, अझैसम्म त्यो खोलामाथि पक्की पुल बन्न सकेको छैन । पुल नबन्दा अर्को वडामा रहेको बिद्यालयमा धाएर उज्ज्वल भविष्य खोजिरहेका विद्यार्थीहरू र स्थानीय बासिन्दाहरूलाई पनि अफ्ठ्यारो परिरहेको उनीहरूको गुनासो छ ।

त्यस्तै बेलबारी–५ का अध्यक्ष डिल्लीबहादुर कटुवालले आफ्नो तर्फबाट सो खोलामा यसपटक झोलुङ्गे पुल निर्माणका लागि पहल गरिरहेको बताए । उनले बेलबारीका नगरप्रमुख दिलप्रसाद राईमार्फत पहल गरिरहेको तर झोलुङ्गे पुलको छुट्टै समिति रहेका कारण समय लागेको बताउँछन् । उनले त्यस ठाउँको समस्या समाधानका लागि पहल गर्ने समेत उनले आश्वासन दिएका छन् । बेलबारीका नगरप्रमुख दिलप्रसाद राईले उक्त खोलामाथि झोलुङ्गे पुलको माग गरिएको बताए । उनले अगाडि भने– तर प्रदेश सरकारले सो बिषयमा कुनै निर्णय गरेको छैन । अझै झोलुङ्गे पुल हाल्न बजेट नै परेन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here