माओवादी केन्द्रको रूपान्तरण सम्भव छ ?

0
73

सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले पार्टीभित्रको एकतालाई थप बलियो बनाएको दाबी गर्दै ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । माओवादी विशेष अभियान भनेर जनतासँग जोडिने र छ हजार सात सय वडामा पुगेर तीन महिने अभियान चलाउने योजना अन्तर्गत एउटा पनि जनताको घर नछोड्ने, सहिद, बेपत्ता सबै घर परिवारसँग भेट्ने जनाइएको छ । माओवादी केन्द्रले मंसीरमा विधान सम्मेलन गर्ने जनाउँदै भदौ १६ गतेबाट तीन महिने अभियान शुरु गर्ने भएको हो । मंसिरमा हुने विधान अधिवेशनले पार्टीका सबै तहमा आन्तरिक निर्वाचन गर्ने गरी विधान संशोधन गर्ने माओवादी निर्णय छ । सहमतिबाट नेतृत्व चयन हुने र आन्तरिक प्रतिस्पर्धा नहुँदा जनतासँग नेता टाढिँदै गएको माओवादी बुझाइ छ ।

असार १७ देखि २१ सम्म राजधानीमा चलेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकबाट तीन महिनापछि विधान सम्मेलन र लगत्तै विशेष महाधिवेशन गर्ने निर्णय भएको हो । सङ्गठनात्मक संरचना छरितो बनाउने, पार्टीमा विधि स्थापित गर्ने उद्देश्यका साथ विधान सम्मेलन गर्न लागिएको पार्टीको सोच छ । तीन महिने रूपान्तरण अभियानका क्रममा पार्टीलाई वैचारिक, राजनीतिक, सङ्गठनात्मक र सांस्कृतिक रूपमा पुनर्गठन गर्ने बताइएको छ । बैठकको समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले जनसम्बन्धलाई बचाइराख्न नसकेको स्वीकार गर्दै असफलताको प्रयोगबाट फेरि उज्यालो बाटोमा लाग्न तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ घोषणा गरिएको बताएका थिए ।

प्रश्न छ– माओवादी केन्द्रले जनतासँग टुटेको सारङ्गीको तार फेरि जोड्न सक्छ ? २०५२ सालको माघ महिनामा नेकपा माओवादी समर्थित जनमोर्चाको तर्फबाट डा. बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग प्रस्तुत गरेका थिए । भट्टराईले पेश गरेका माग पूरा गर्न सक्ने अवस्थामा देउवा थिएनन् । २०५२ फागुन १ बाट आफूले बुझाएका चालीस बुँदे मागकै आडमा माओवादीले जनयुद्ध शुरु ग¥यो । युद्ध १० वर्षपछि रोकियो, युद्धमा झण्डै १७ हजार नेपालीले ज्यान गुमाए । युद्ध रोकेर शान्ति प्रक्रियामा आएपछि निर्वाचनबाट माओवादी पटक–पटक सत्तामा पुग्यो । तीन पटक पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए र एक पटक डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व गरे । २०५२ सालमा बुझाएका चालीस बुँदे मागमा कतिपय यस्ता माग पनि रहे जसलाई आफू सत्तामा हुँदा माओवादीले पूरा नगरेको मात्र होइन आफैले लत्याएर हिँड्यो ।

माओवादी नेतृत्वमा यस्तो रङ्गफेराइ कसरी भयो ? जनसङ्घर्ष, जनान्दोलन र जनयुद्धको थालनी गरी सञ्चालन गर्न र त्यसलाई निष्कर्षमा पु¥याउन पार्टी नेतृत्व, कार्यकर्ता र जनताका वीचमा बलियो सम्बन्ध हुनुपर्छ । जनशैली भनेको जनतासँग घुलनशील हुने शैली हो । जनतासँग घुलमिल हुन सकेमा मात्र जनसङ्घर्ष, जनान्दोलन र जनयुद्धका उपलब्धिलाई संस्थागत गर्न सकिन्छ । तत्कालीन नेकपा (माओवादी) र सात संसदवादी दलहरूबीच २०६२ सालमा भारतको संस्थापन पक्षको साथ र समर्थनमा नयाँ दिल्लीमा सम्पन्न १२ बँुदे सहमतिको आधारमा दशवर्षे जनयुद्धको आडमा भएको १९ दिने जनान्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्न जनचाहनाको संविधान निर्माण गर्ने मुख्य उद्देश्यका साथ २०६४ साल चैत्र २८ गते संविधानसभाको चुनाव सम्पन्न भएको थियो । तत्कालीन एमाओवादी सबैभन्दा ठूलो शक्तिको रूपमा नेपाली राजनीतिक आकाशमा उदाएको थियो । तर, माओवादीको बहुमत भएको संविधानसभाले जनअपेक्षा अनुरूप सफलता दिन सकेन र पटक–पटक म्याद थप्दा पनि संविधान बनाउन नसकी छ वर्ष गुजारेर संविधानसभाको विघटन गरियो । अर्को संविधानसभाको निर्वाचन २०७० सालको मंसीर ४ मा भयो । संविधानसभाका लागि १५औं हजारको शहादतबाट निर्मित संविधानसभाको चुनावको परिणाम तत्कालीन एकीकृत माओवादीको लागि अप्रत्याशित थियो । कुनै पनि पूर्व समूहको निरन्तरता नभएर एकता र ध्रुवीकरणको बीचबाट विकसित कम्युनिष्ट क्रान्तिकारीहरूको मूलधार भएको दावी गर्ने माओवादी पार्टी आज आधा दर्जनभन्दा बढी टुक्रामा विभक्त छ ।

जनपक्षीय नीति र सामाजिक रूपान्तरणका जनप्रिय कार्यक्रमको जगमा तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध शुरु गरेको थियो । त्याग, तपस्या र बलिदानको उच्च स्पीरिटसहित माओवादी पार्टी विकसित भएको कुरा साँचो हो । लामो समयदेखि व्याप्त रहेको सङ्क्रमणकालको अन्त्य गरी देशलाई समुन्नति, शान्ति र स्थिरताको धारमा हिँडाउने आजको मूल कार्यभार हो । तर, १५औं हजार सहिदको बलिदान, छ हजारभन्दा बढी बेपत्ताको योगदान, सयौं घाइते योद्धाहरुको कष्ट, लाखौं कार्यकर्ताको लगानी र करोडौं जनताको साथ र समर्थनको आधारमा विकसित नयाँ परिस्थितिलाई परिवारवाद, तस्करसँगको सामिप्यता, जनताका समस्याप्रति उदासीनता, व्यक्तिगत लोभलालच र महत्वकांक्षासँग सौदावाजी गरेर विश्व कम्युनिस्ट आन्दोलनमै अनुपम उदाहरण प्रस्तुत गर्ने उचाइमा पुगेको क्रान्तिको उभारलाई बरफ खन्याएर नेपाली जनताप्रति विश्वासघात भएको आजको टर्रो यथार्थ हो । जनताको दह्रो समर्थन बिना कुनै पनि देश र समाजका परिवर्तनका मुद्दाहरू अघि बढ्न सक्दैनन् ।

जनयुद्ध, जनान्दोलन, शान्ति प्रक्रिया र संविधानसभाको निर्वाचन हुँदै अघि बढ्ने क्रममा १५औं हजार सहिदको रगतको के मूल्य भयो भन्नुपर्ने अवस्था आज सृजना भएको छ । बलिदान खेर गएको होइन भनेर दाबा गरे त्यो दावा फिक्का हुन्छ । त्यति ठूलो बलिदानको पृष्ठभूमिमा भन्न सकिन्छ– समर्थक, शुभचिन्तक सर्वसाधारण जनताको ठूलो आशा माथि वञ्चरो प्रहार भएको छ । पार्टीका पेचकिलाहरू खुकुलो बनाएर पार्टीको शक्ति र प्रभावलाई दुरुपयोग गरी व्यक्तिगत लाभका लागि भजाउने प्रवृत्ति प्रभावी हुँदै गएको कारण जनतामा माओवादीप्रति निराशा जन्मेको हो । तर्क गर्न सकिन्छ– सत्ताको उपल्लो कुर्सीमा विराजमान प्रचण्डलाई हेरेर नेकपा माओवादी केन्द्र नै आजको सबभन्दा ठूला, बलियो र सबैभन्दा बढी जनाधार भएको पार्टी हो । तर, वास्तविकता त्यस्तो होइन ।

जनअपेक्षा विपरीत क्रियाकलापकै कारण जनसमर्थन ओइलाउन थालेको हो । पार्टीका नीति तथा कार्यक्रमहरू केन्द्रदेखि तल जाँदै गर्दा बाटैमा अलपत्र परेर लोप हुने तीतो परिस्थिति देखापर्नु माओवादी केन्द्रका लागि सामान्य विषय बनेको छ यतिबेला । तीन महिने विशेष रूपान्तरण अभियान पनि एक औचारिकता पूरा गर्ने कार्यक्रम नहोला भन्न सकिँदैन । जनयुद्धकालमा पार्टीका हरेक निर्णय ठीक भए पनि बेठीक भए पनि लागू हुन्थे, ती निर्णयका निर्मन समीक्षा हुन्थे, तर आज अवस्था त्यो रहेन । पार्टीका समर्थक शुभचिन्तकहरूमा घोर निराशा उत्पन्न भएको छ र पार्टीमा गुटबन्दी मौलाएको छ भनेर उभिन सक्ने कार्यकर्ता पार्टीभित्र कम हुँदै गएका छन् । नेतृत्वका गलत क्रियाकलापको आलोचना गर्ने कुनै कार्यकर्ता बाँकी नरहनु भनेको माओवादी केन्द्रका लागि सबभन्दा दुःखद् स्थिति हो । विशेष रूपान्तरण अभियानको पूर्व सन्ध्यामा माओवादी नेता तथा कार्यकर्ताको मनोवृत्ति हेर्दा लाग्छ– उनीहरू सर्वसाधारण जनताको दयनीय अवस्थासँग जानकार छैनन् । माओवादी केन्द्र ध्वंश होइन, सृजना र निर्माण गर्ने ठाउँमा छ भन्ने सच्चाइ बुझ्न चाहँदैन । माओवादी केन्द्रले मुलुकको आमूल रूपान्तरणको खाका दिने र लागू गर्ने बेला हो अहिले ।

विगतका आफ्ना वाचा–बन्धनलाई व्यहारमा रूपान्तरण गर्ने बेला हो यो । तर, के जनयुद्ध र जनआन्दोलनमा बलिदान गर्नेका परिवार आज खुशी छन् ? युद्धमा घाइते भएकाहरू आजको अवस्थादेखि सन्तुष्ट छन् ? १५औं हजार सहिदको बलिदानको मूल्य खोइ ? उनीहरूले कस्का लागि र के का लागि सहादत प्राप्त गरेका थिए ? उनीहरूको सपनाको गरिमा के रह्यो अब ? जनतासँगका जीवन्त सम्पर्कका तारहरुलाई चुँडालेर पार्टी नेतृत्व नित्यनिरन्तर अभिमान गर्छ भने समाजमा भएका अन्याय र विभेदका घटनालाई नजरअन्दाज गर्छ भने खुल्ला मोर्चाबाट आएका पार्टीका नेता कार्यकर्ताहरू पनि तार चुँडालेर फुक्का हुन सक्छन्, कम्तीमा पनि धागो चुँडालेर विकल्पका सम्बन्धमा मन्थन गर्न सक्छन् ।

विवेकलाई बन्दकी नराखी पार्टीको आधार बनेर, समाजका विविध कोणबाट उठेका सुन्नै नसकिने र पचाउनै नसकिने आरोपहरूलाई पनि आँशुसँगै निलेर भए पनि पार्टीका लागि क्रियाशील हुने नेताकार्यकर्ताहरूले पार्टीका लागि थोरै भए पनि योगदान गरेका थिए । तर, तिनीहरु आज पार्टीको मूलधारबाट धेरै टाढा छन् । माओवादी नेतृत्वप्रति सबैभन्दा बढी आरोप छ– जनताका सपनामाथि किन बरफ खन्याइयो ? नेपाल आमाका सर्वोत्तम सन्तानहरू जसले आफ्नो रातो र तातो रगत मातृभूमिको मुक्ति र जनताको स्वतन्त्रताका लागि बगाएका थिए, आज उनीहरुको सपना फगत पानी बनाइएको छ ।
जनता बिनाको पार्टी हुँदैन । जनतासँग विच्छेदन गरेर पार्टी जीवन्त हुन सक्दैन, जसरी टुटेको तार भएको सारङ्गीबाट संगीत निकाल्न सकिन्न । तर, माओवादी केन्द्रले यो विशेष रूपान्तरण अभियान मार्फन टुटेको सारङ्गीको तार जोडेपछि मात्र सुमधुर सङ्गीत निकाल्न सकिन्छ भन्ने सच्चाइलाई आत्मसात गर्छ ? जनतासँग अन्तरघुलित हुने, जनतासँग जाने, जनताको आक्रोश सुन्ने, जनताको कठोर आलोचना सुन्ने र आफूलाई सच्याउँदै अघि बढ्ने योजनाका साथ जनसम्बन्ध सुदृढ गर्ने र जनतालाई झक्झकाएर रक्त नलीहरु चुस्त बनाएर पार्टी र जनताबीचको सम्बन्धलाई नियमित बनाउन माओवादी नेतृत्व अघि सर्छ ? यसमा कम विश्वास गर्न सकिन्छ । आश र त्रास भएपछि कार्यकर्ता बोल्दैनन् । वायरिङका विच्छेद भएका तारहरू नजोडी घरमा करेण्ट प्रवाहित हुन सक्छ र ?

धेरै कमी–कमजोरी हुँदाहुँदै पनि साठी र सत्तरीको दशकमा अध्यक्ष माओका अगुवाइ र चिनियाँ कम्युनिस्ट पार्टीको पहल र नेतृत्वमा सञ्चालित सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षा नेपाली कम्युनिस्टरूका लागि महत्त्वपूर्ण सन्दर्भ हुन सक्छ । जनताको सुख–दुःखको कुरा पार्टीले सुन्छ र जनताले नै पार्टीको संरक्षण गर्छन् भन्ने सच्चाइलाई बुझ्न आवश्यक छ । स्वार्थ र अहम्ले वशिभूत भएका, गुटउपगुटमा विभक्त र राज्यकोषको दोहनमा रमाउन आवृत्त हुँदै गएका नेताहरूले यो कुरा बुझ्न गाह्रो छ । इतिहासको कालखण्डमा माओवादी आन्दोलनको अति विशिष्ट योगदान रहेको कुरालाई कसैले छोपेर छोप्न सक्दैन, तर त्यसकै भजन गाएर र त्यसकै महिमामण्डित गरेर अब मुलुक अघि बढ्दैन ।

भ्रष्टाचारका फाइल खोल्नु राम्रो र स्वागतयोग्य कुरा हो । तर, अहिले उदाएका नयाँ दलहरू झैं प्रियतावादी बन्ने छुट माओवादी केन्द्रलाई छैन । जेका लागि र जसका लागि माओवादी अभियान शुरु गरिएको थियो त्यो एकपटक सम्झन जरुरी छ । जनजीविका, लोकतन्त्र र राष्ट्रियताका सन्दर्भमा के कार्यक्रम छन् ? माओवादी केन्द्र सत्तामा आएपछि मुलुकमा रोजगारी, स्वालम्बन र आर्थिक रूपान्तरणका के त्यस्ता जनताका मन छुने कार्यक्रम ल्याइए ? निरङ्कुश राजतन्त्रको अन्त्यको प्रमुख आधार माओवादीको जनमुक्ति सेना र जनताको परिवर्तन प्रतिको उत्कट चाहना नै हो ।

जनताको आँशु, पसिना र रगतबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको संस्थागत विकास आजको मूल कार्यभार हो । एउटा हातले ताली बज्दैन, एकातिरबाट निरन्तर तार टुटाउने र अर्को पक्षले जोड्ने गरेर समस्याको समाधान हुँदैन । नेपालको इतिहासमा अति महत्त्वपूर्ण भूमिका खेल्ने क्रान्तिकारी पार्टी प्रजापरिषद् आज कहाँ छ ? चीनमा गणतन्त्र स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने डा. सनयात्सेन नेतृत्वको कोमिन्ताङका नेतृत्वमा नभएर किन चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भयो ? इतिहासको तस्वीर देखाएर माओवादी केन्द्र अब अगाडि बढ्न सक्दैन । पिछडिएका वर्ग, भूमिहीन, सुकुम्बासी, दलित र राज्यको मूलधारको प्रगतिबाट वञ्चितिमा परेका र पारिएका वर्गका लागि माओवादी केन्द्रले सोच्दैन भने रूपान्तरण अभियान फगत औपचारिकता हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here