बिर्तामोड ।

झापाको बिर्तामोड-३, विराटपोखरस्थित पञ्चमुखी ज्योतिर्लिंग मन्दिर व्यवस्थापन समितिले श्रावणी पर्वको अवसरमा धार्मिक अनुष्ठानसहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
धार्मिक तथा ऐतिहासिक विराटपोखरीसँगै रहेको विश्व हिन्दू महासंघ जिल्ला शाखाको कार्यालय परिसरमा निर्माण गरिएको पञ्चमुखी शिव मन्दिरमा श्रावणी पर्व तथा पुरुषोत्तम मासका अवसरमा आयोजित एक कार्यक्रमकाबिच पूर्वाञ्चलकर्मी रत्नबहादुर बस्नेतसहित एक दर्जनबढी विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको हो।
नेपाल पत्रकार महासंघका सदस्यसमेत रहेका बस्नेतलाई पत्रकारिताको माध्यमबाट मन्दिर तथा विराटपोखरी क्षेत्रको धार्मिक गतिविधि प्रचारप्रसार गरि धर्मसंस्कृतिको संरक्षण-सम्बर्द्धनमा योगदान पुर्याएको भन्दै समितिले सम्मान गरेको बताइएको छ। त्यस्तै सञ्चारकर्मी सुरेश आलेलाई सम्मान गरिएको थियो।
त्यसैगरी सम्मानित हुनेहरुमा कविता गौतम,(नवदुर्गा कीर्तन मण्डली विराटपोखर) नैनकला थापा(मनकामना कीर्तन मण्डली) सीता प्रसाईं(देववाणी कीर्तन मण्डली) अग्नि तिम्सिना (राधाकृष्ण कीर्तन मण्डली,ठुटेवर) डिल्ली भट्टराई ( विराट सरोवर शिव कीर्तन मण्डली, सैनिकमोड) त्रिलोचन आचार्य (ओमकार कीर्तन मण्डली) गीता भण्डारी(सिद्धिविनायक कीर्तन मण्डली) तथा धार्मिक सामाजिक व्यक्तित्व रमेश पाठक, कृष्णप्रसाद उप्रेती,धनमाया संग्रौला,सोमनाथ अधिकारी, यामप्रसाद खतिवडालगायत रहेका छन्।
वि.सं २०७३ मंसिरमा स्थापित भगवान पशुपतिनाथको स्वरुपमा रहेको पञ्चमुखी ज्योतिर्लिंग मन्दिरमा साउनभरि दैनिक दिवाकालिन तथा साप्ताहिकरुपमा नियमित सायंकालिन भजनकीर्तन तथा अखण्ड दीप प्रज्ज्वलन भइरहेको जनाइएको छ। पोखरी परिसरमा रहेको विराटेश्वर शिव मन्दिरलगायत यहाँ श्रावणी पर्वमा भगवान शिवलाई जलार्पण गर्न विभिन्न क्षेत्रबाट श्रद्धालु भक्तजन आउने गरेका छन्।
पञ्चमुखी ज्योतिर्लिंग बजरंगबली कीर्तन मण्डली तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राधिका संग्रौलाको अध्यक्षता तथा विश्वहिन्दू महासंघका अध्यक्ष उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत पञ्चमुखी बजरंगबली कीर्तन मण्डलीकी सचिव सीता अधिकारीले गरेकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथि उप्रेती, सिद्धिविनायक कीर्तन मण्डलीकी उपाध्यक्ष गीता भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सहसचिव दिपक संग्रौलाले गरेका गरेका थिए।































