
वि.सं. १९९० जेठ २८ गते यस धराधाममा जन्मेका लप्टन हरिप्रसाद वली र तुलसादेवी वलीका कोखमा काइला सुपुत्रका रुपमा जन्मेका धनपति वली (पछि विनोदकुमार) सानैदेखि सरल स्वभावका थिए । त्यतिबेलाको चलन अनुसार उनले हिउँदे धुले पाठशालामा चण्डी, रुद्रीका साथै घरायसी लेनदेनमा चाहिने तमासुक लेख्न साधारण हिसाब–किताब गर्न जानेका थिए । त्यो होडा गाउँमा कुनै आधुनिक स्कूल वा पाठशाला थिएनन् । उनको काइँली दिदी धनमायाको विवाह इलामका नन्दप्रसाद शिवाकोटीका साथमा भएको थियो । नन्दप्रसादले दार्जलिङबाट आधुनिक शिक्षा पढेका र इलाममा अङ्ग्रेजी स्कूल खुलेकोले लप्टन हरिप्रसादले तत्कालीन समयमा वि.सं.२००४÷०५ सालतिर आफना तीन भाइ छोराहरु (साइला प्रेमप्रसाद, काइँला धनपति र अन्तरे त्रैलोक्य)लाई इलाममा छोरी–ज्वाइँका माध्यमबाट आधुनिक शिक्षा हासिल गर्न पठाए । छोरीज्वाइँ नन्दप्रसाद तत्कालीन राणाकालीन समयमा इलाममा खुलेको स्कलका शिक्षक भएकाले र उनकै प्रेरणाले पढने अवसरपाएका लप्टन हरिप्रसादका छोराहरुलाई पढ्न पनि सजिलो भयो । दिदीको घर इलामको गोलाखर्कमा बसेर तिनै भाइले राम्ररी पढे ।
वि.सं. २०११ सालतिर धनपतिले इलाममा एसएलसी परीक्षा दिएर आठराइ घरमा होडा गए । त्यो बेला अहिलेको तेह्रथुम जिल्ला भरमा मूलपानीमा वि.सं. २००३ मा खुलेको त्रि–मोहन अङ्ग्रेजी स्कूल र चुहानडाडामा खुलेको शारदा अङ्ग्रेजी स्कूल मात्र थिए । तत्काल अङ्ग्रेजी पढाउने शिक्षकको ज्यादै अभाव थियो । भारतको दार्जलिङ जिल्लाबाट अङ्ग्रेजी पढेका शिक्षकहरु ल्याएर स्कूलमा पठनपाठन गराइन्थ्यो । शिक्षकहरुको ज्यादै अभाव थियो । त्यो बेलामा अङ्ग्रेजी पढेर एसएलसी दिएका धनपतिको आठराईमा ठूलो महत्व भयो । मूलपानीका स्कूलका सञ्चालक समितिका व्यक्तिहरुले उनलाई होडा घरमा आएर शिक्षकका लागि लगे । उनी पनि गए । उनी आफ्नी जन्तरी दिदी र भिनाजु हरिप्रसाद बिमलीको घरमा बसेर मूलपानी स्कूल संक्रान्ती डाडामा सेरेको थियो । त्यहाँ पढाउन थाले ।
त्यो समय वि.सं.२०१२ तिर हुनुपर्छ । कारण म र भाइ पुण्य काइलाउ शिक्षक भएर संक्रान्तीमा जाँदा हामी ३÷४ कक्षामा पढ्दै थियौं । काइँलाउले लामो कालो ग्याम्बेकोट (लङ्गकोट) लगाएका अग्ला व्यक्ति हामीलाई भूगोल र इतिहास पढाउँथे । आप्mनै गाउँघरका काइलाउ भएतापनि हाम्रो त्यति हिमकिम थिएन । कारण हामी तल्लोघर माथिल्लो घर भएतापनि काइलाउ इलाममा बसेर पढ्दै गरेकाले हामी त्यति नजिक हुन पाएनांै । त्यसकारण हाम्रो लागि अरु सरहरु सरह नै उनको पनि हामीलाई डर र धक लाग्दथ्यो । पछि–पछि उनले आफै तिमीहरु त मेरा छोराहरु पो त भन्दै प्रेमपूर्वक सम्झाए । हामी खुशी भयौं । पछि के भएर हो लगभग एक वर्ष त्यहाँ पढाए पछि उनी त्याहाँबाट विदा भए । हामीलाई नरमाइलो लाग्यो । पछि बुझ्दा उनी शारदा स्कूल चुहानडाँडामा गएछन् । त्याहाँ पनि केही समय पढाएपछि उनी आफ्नै गाउँघर होडामा बस्न थालेछन् ।
होडामा उनीहरु कै पहलमा वि.सं. २०११ मा सरस्वती प्राइमरी स्कूल स्वीकृत भएको रहेछ । प्रेमप्रसाद (साइला) काका इलामबाट होडा घरमा गएर स्कूल सञ्चालक समिति गठन गरेर हाम्रा बाबु जगतमणि ओलीको सभापतित्वमा एउटा सञ्चालक समिति गठन गरेर काइँलाउलाई होडा स्कूलको पहिलो शिक्षकपछि सेक्रेटरीको रुपमा नियुक्त भएका रहेछन् । काइँलाउले वि.सं. २०१६ सम्म होडामा पढाएको देखिन्छ । वि.सं. २०१६ मा पोखरी स्कूल खुले पछि होडा स्कूलमा पढने विद्यार्थी पोखरी स्कूल गएपछि एक–दुई वर्ष होडा स्कूल चलेन छ । त्यसपछि उनै काइलाउका जेठा दाजुका छोरा गंगाप्रसाद ओलीले होडामा पढाउन थालेछन् । हाम्रा माइलाउ रामप्रसादको अगुवाइमा होडामा स्कूल भवन बनेपछि फेरि होडामा पढाइ हुनथाल्यो । तर, काइँलाउले फेरि त्यहाँ पढाएनन् । तर, सेक्रेटरीको भूमिकामा भने रहेका थिए ।
काइँलाउ वि.सं. २०१५ को आम चुनावका बेलामा नेपाली कांग्रेसको चारतारे झण्डा आप्mनै घरमा गाडेर नेपाली कांग्रेसको कार्यकर्ता भएर रहे । वि.सं. २०१४ सालतिर म बिरामी भएर घरमा रहेको बेलामा उनीसित उनका घरमा म प्राक्टिस हिसाब सिक्न जान्थेँ । उनी राम्ररी हिसाब सिकाउथे । त्यसपछि उनले केही समय पाँचथरको सुभाङस्थित मुक्तुरामा पनि पढाउने कार्य गरे । त्यसपछि मेरो उनीसित २०२१÷०२२ तिर झापा शनिश्चरेमा भेट भयो । म विराटनगरमा आइकम पढ्थे । हाम्रो पथ्थरभिट्टाको खेती बाबुले बेची सकेकाले छुट्टीको बेला म शनिश्चरेमा आउँथे । त्यो बेला छ जना वलीहरु मिलेर ‘नेपाल स्टोर’ नामको धान–चामल, पाटाको कारोवार र किराना पशल खोलेका थिए । हाम्रा दाजु हरिप्रसाद पनि त्यो दोकानमा हिस्सेदार थिए । त्यसो हुँदा म त्यहाँ केही दिन बस्थेँ । काइँलाउ नेपाल स्टोरको लेखापाल एकाउन्टेण्ट थिए । मैले बसेको खाएको पैसा दिन खोज्दा उनले रिसाएर भने– ‘सरोज एक जनाले खाएको पैसा दिनुपर्छ, पर्दैन ।’ पछि वि.सं. २०२२ मा भारतीय रुपैयाँको डिभ्यालुएसन र नेपाली पैसाको रिभ्यालुएसन हुँदा नेपाल स्टोर ठूलो घाटामा पर्न गयो । नेपाल स्टोर उठयो । त्यसपछि उनी पञ्चायती व्यवस्था अनुसार अनिवार्य निःशुल्क प्राथमिक पाठशाला पाराखोपी गाउँ पञ्चायतको सचिव भएर पारोखोपी गाउँ पञ्चायतभित्रका सबै पाँच वटा विद्यालयहरुको प्र.अ. तथा सचिव भएर रेखदेख गर्न थाले । पछि नयाँ शिक्षा योजना लागू भएपछि उनले व्यवसायिक शिक्षकका रुपमा नि.मा. दरबन्दीमा रहेर फूलबारीको स्कूलमा पढाउन थाले । उनी आप्mनो खेती भाङ्गवारीमा बसेर शिक्षा सेवामा लागे । उनले फूलबारीको भानु नि.मा. स्कूलमा प्र.अ. भएर पनि काम गरे । यसरी फूलबारीमा धेरै वर्ष काम गरेर उनले पछि घरछेउमा भएको अरुणोदय प्राथमिक स्कूलमा सरुवा भएर केही वर्ष त्याहाँ पनि प्र.अ. भएर पढाए । त्यसपछि उनी शनिश्चरे मा.वि.मा सरुवा भएर पढाउन थाले । २०४० को दशकदेखि निवृत्त भइञ्जेलसम्म उनले शनिश्चरे मा.वि.मा निरन्तर रुपमा पढाए ।

संयोग कस्तो पर्न गयो भने वि.सं. २०१२÷०१३ मा आठराइ स्थित संक्रान्तिको त्रि–मोहन स्कूलमा हामीलाई पढाउने काइँलाउ र म एउटै स्कूलमा त्यो पनि झापा स्थित शनिश्चरेमा एउटै स्कूलमा पढाउने गुरुबा बन्न पुग्यौ । गुरु चेला र काका भतिज भएर निकै वर्ष शनिश्चरे मा.वि. मा सेवा ग¥यौं । प्र.अ. मोहन जोशी थिए । तर, उनले जहिले पनि काइँलाउलाई आदर गरेर सदैव प्रेमले मामा भन्थे । एउटा प्रसङग भन्नैपर्ने हुन्छ । काइँलाउको शुरुको नाम धनपति थियो । पछि के भएर हो पोखरी मा.वि. आठराइबाट एस.एल.सी परीक्षा दिदा नाम फेरेर विनोदकुमार ओली राख्नु भएछ । त्यसपछि एसएलसी त्यही नामबाट गरेको रहेछन् । त्यसो हुँदा पछि सम्पर्कमा आएका मानिसहरुले उनलाई विनोद सरका नामबाट जाने । उनी निवृत्त हुँदा पनि त्यही नामबाट भए ।
होडा गाउँका वली परिवारमा लप्टन हरिप्रसाद धनीमानी गनिन्थे । उनका काइला छोरालाई बाबु कै सम्पत्तिले जीवन बिताउन र खान लाउन प्रशस्त पुग्दथ्यो । तर, काइलाउले बाबु कै सम्पत्तिमा जीवन बिताउन नचाहेरै हुनुपर्छ । उनी शिक्षा क्षेत्रमा पछाडि परेको आप्mनो समाजमा आधुनिक शिक्षा दिन मै खुशी भए । त्यति मात्र होइन उनले शिक्षा पाएको बेलामा नेपालमा शिक्षित व्यक्तिहरुको ज्यादै नै कमी थियो । त्यो बेला उनले चाहेको भए निजामति, सैनिक, प्रहरी आदि जुनसुकै सेवामा जाँदा पनि सजिलै काम पाउँथे । तर, उनले अज्ञानी समाजलाई ज्ञानी बनाउने बाटो नै रोजे । त्यतिबेला अहिलेको जस्तो शिक्षकलाई नियमितरुपमा बेतन दिने कुनै ग्यारेन्टी थिएन । कहिले पाँच÷छ महिनामा कहिले वर्ष दिनमा वेतन पाइन्थ्यो । त्यो पनि तोकेको जति होइन । नाममात्रको वेतन पाइन्थ्यो । तर, हाम्रा काइँलाउले त्यसको वास्ता गर्दैन थिए । कारण उनलाई खान लाउनको दुःख थिएन । जनताका छोराछोरीले शिक्षा पाउन र समाज शिक्षित होस भन्ने उनको व्यवहारमा झल्किन्थ्यो । काइँलाउ वि.सं. २०१२ बाट शिक्षकको रुपमा शिक्षा क्षेत्रमा प्रवेश गरे । जीवनको अधिकाशं समय शिक्षक जीवनमै बिताए र वि.सं. २०५९ मा शनिश्चरे मा.वि.बाट निवृत्त भए । लगभग ९० वर्ष बाँचेका काइँलाउले ४७ वर्षसम्म शिक्षकको रुपमा जीवन बिताएर नेपालको अशिक्षित समाजमा ज्ञानको ज्योति फैलाई शिक्षित बनाउने काम गरे ।
मैले सुने अनुसार काइँलाउको पहिलो विवाह ६ वर्षको उमेरमा भएको थियो । होडा गाउँबाट झण्डै दुई दिनको बाटो हिँडेर याङ्रुप च्याङथापुका महाजन सेतु खरेलको नातिनी देवीप्रसादको छोरी भदशीलासित वि.सं. १९९६ सालमा भएको थियो । त्यसबेला काइँलेमा ५ वर्षको मात्र हुनुहँदो रहेछ । त्यतिबेला बाल विवाह भए तापनि केटीको उमेर नपुगी घरमा ल्याउने चलन थिएन । उमेर पुगेपछि मात्र मैतालु ल्याउने चलन थियो । काइँलेमालाई मैतालु ल्याएपछि काकाहरु (प्रेमप्रसाद, धनपति र त्रैलोक्य)लाई भात पकाउने, लुगा धुने आदि जस्ता घरभित्रका काममा सहयोग गर्न उनीहरु पढीरहेको ठाउँ इलाम गोलाखर्क काइली फुपू धनमायाको घरमा होडाबाट जानुभइ काइल्यमाले केही समय इलाममा बितएको थियो । काइँला बाले पढी सकेपछि होडा घरमै गएर सासु–ससुरालाई रिझाएर काइँलेमा बसेको थाहा पाइन्छ । पछि काइँलाउ छुटिएपछि मूल घर नजिकैको लप्टन हरिप्रसादले बनाएको नयाँ घरमा धेरै वर्ष बिताएर खेतीपाती गर्दै सन्तानहरु हुर्काउने काम काइँलेमाले गरिन । काइलाउ झापा पाराखोपीमा शिक्षक जीवन बिताउँदै खेती गर्दैगर्दा काइँलेमाले आप्mना छोराछोरीहरुलाई राम्ररी हेरचाह गरेर हुर्काउने काम गरिन् । उनी पट्टी तीन भाइ छारोहरु मध्ये माइलो छोरो २ वर्षको उमेरमा बितेको हुनाले हाल मोहनप्रसाद, दिपक(चुडामणि) र छोरीहरु साबित्रा, शर्मिला, भीमा र चन्द्रा जन्मेकामा आजसम्म सबै सकुशलै छन् । तर, काइल्यामा भद्रशीलाको वि.सं. २०६२ सालमा ७२ वर्षको उमेरमा मधुमेहको रोगबाट आप्mना पतिका काखमा निधन भयो । यता काइलाउ झापा पाराखोपी भाङ्गवारीमा खेतीमा बसेर शिक्षक भइरहेको अवस्थामा इलाम गोलाखर्कका नन्दप्रसाद शिवाकोटीको बहिनीसित दोस्रो विवाहा गरेको थिए । उनीबाट दुईवटा छोरा जन्मिए तापनि जेठो छोरा पाँच महिना कै हुँदा बितेकाले यसपछि छोरीहरु गीता र रीता त्यसपछि कान्छो छोरा प्रकाश जन्मेका थिए । सानी काइल्यामाले पनि २०४६ सालमा नै आफ्नो पतिका काखमा देह त्याग गरिन् । यसरी दुई–दुई वटी श्रीमतीलाई गुमाएर विदुर भएर उनी धेरै वर्ष छोरा–बुहारीको अभिभावकत्वमा रहेर उनीहरुकै साथ रहे ।
लप्टन हरिप्रसादका दुई गुडबाट जम्मा सात भाइ छोरा र नौ बहिनी छोरी भए । उनीहरु मध्ये छोराहरुमा साह्रै शान्त स्वभाव र सदैव हँसमुख रहने काइँलाउ नै थिए भन्ने मलाइ लाग्छ । त्रि–मोहन हाई स्कूलमा पढाउदादेखि वास्तवमा मैले थाह पाएका काइँलाउ जीवनको अन्त्यसम्म उस्तै शान्त स्वभावका थिए । शनिश्चरे पाराखोपीको नेपाल स्टोरमा म विराटनगरबाट छुट्टीमा आउँदा उनी सितै दुई–तीन महिना एउटै कोठामा सुत्ने र एउटै भान्सामा खाने गर्दथ्र्यौ । भात खाने निकै जना भए पनि उनी सदैव हसिलो खुशिलो देखिन्थे । उनको दैनिक जीवन अत्यन्त सादा थियो । बिहान ४.३० मा उठेर नित्य कर्र्म गर्दथे । नुहाउनु उनको नित्य कर्म नै थियो । आप्mनो नित्यकर्म गायत्री मन्त्र जप्नु र जनैका शिखा समातेर मन्त्र जप गर्ने कार्य उनी गर्दथे । आप्mना भतिजालाई पनि त्यसो गर्न प्रेत्साहान गर्दथे । परिवारका सबै सदस्यलाई उनी उमेर अनुसार श्रद्धा र प्रेम गर्दथे । उनी जेठा लप्टन रामचन्द्रका नाति थिए । हाम्रा बाहरु भाइ साइँला सुबेदार काशीनाथका नाती थिए । तर, उनीहरुका बीचमा साख्खै दाजुभाइको जस्तो प्रेम र सम्बन्ध थियो । वडादशंैमा सबै जना हाम्रा बाको हातको टीको थाप्न आउँथे । त्यसमा पनि काइँलाउ विशेष हाम्रा बा सित घुलमिल हुन्थे । उनी भन्दथे– ‘दशैंको दही–चिउरा र पक्कु मासु खान गैरीघर दाइ कै घर हो’ उनी हाँस्दै खान्थे र साइँलाउहरुलाई पनि हसाउँथे । वि.सं.२०३१÷०३२ तिर हाम्रा गैरीघरमा बाहरुको संगोलको फोटा हाम्रा भाइ कृष्ण (रामु)ले खिचेको काइँलाउको घरमा अझै टाँगिएको छ । त्यो दुर्लभ फोटो मैले पनि सुरक्षित राखेको छु ।
म धुलाबारी माविबाट सरुवा भएर शनिश्चरे माविमा आउँदा उनी धेरै खुशी भए । कारण उनका धेरै छोरीहरु र छोराहरु शनिश्चरे माविमा पढ्थे । आफ्नो भतिजो शिक्षक भएर आएकाले आफ्ना सन्तानहरुको राम्रो रेखदेख हुन्छ र पढाइ पनि राम्रो हुन्छ भन्ने उनको सोचाइ थियो । त्यो बेला उनी भने फूलबारीको भानु निमामा पढाउँथे । शर्मिला लगायत उनी मुनीका सबै भाइ बहिनीहरुले शनिश्चरे माविमा पढे ।
एक समय शनिश्चरेको पाराखोपीमा काइँलाउहरुको निकै ठूलो चहलपहल थियो । छ जना दाजुभाइहरुका आ–आफना घर थिए । उनीहरुको बसाइ एउटै कम्पाउन्ड जस्तो थियो । लप्टन बाको पहिले नै स्वर्गवास भइसकेकाले लप्टन्नी आमै (तुलसादेवी)लाई पनि पाराखोपी कान्छा छोरा बेदनिधि कै घरमा ल्याएको थियो । आफ्नै सुनका गहना लगाएर सदैव सिगारिएर छ भाइ छोरा र नजिकै भएकी काइँली छोरी (धनमाया)का घरमा खुशीले रमाएर वरपर गर्ने गर्थिन् । अरु काकाहरु कता–कता काममा गएको भए पनि काइँलाउ स्कूलको काम सकिएपछि आमासित हुन्थे । त्यो बेला काइँलाउले देखाएको मातृ देवो भवः अवर्णनीय थियो । झन् चाडबाडको बेलामा त उनका सबै छोराछोरीहरु नाति–नातिनीहरुको भीडले आमैको स्वागत गरेको दृष्य हेर्न लायक हुन्थ्यो । त्यसमा पनि काइँलाउको परिवारको आमाप्रतिको सेवा अलग्गै झल्किन्थ्यो । मातृदेवो भवः भन्ने आर्ष वाणी उनले पालना गरेको थियो । दाजुभाइ, छोराछोरी, भतिजा–भतिजी इष्टमित्र छरछिमेकी सबैलाई यथायोग्य सम्मान, माया र प्रेम गर्ने व्यक्ति थिए उनी ।
शनिश्चरे माविमा पढाउँदा उनी सबै सरहरुसँग मिल्दथे । त्यसमा पनि छत्रमणि ढकाल र कृष्ण शिवाकोटीसित ख्याल ठट्टा र हसीमजाक पनि गर्ने गर्थे । मलाइ भने पुत्र व्यवहार गरेर सरोज भन्थे । सधैँ तिमी भनी सम्बोधन गरेर बोलाउँथे । प्र.अ.मोहन जोशी उनलाई विनोद मामा भन्थे । सबै टिचर स्टाफसित राम्रो व्यवहार थियो । विद्यार्थीहरुलाई नकुटी आधुनिक पाराले पढाउँथे । विद्यार्थीहरु विनोद सर भनेर आदर गर्थे । पढाइ सम्बन्धी लामो अनुभव भएकाले विद्यार्थीहरुलाई राम्ररी र बुझिने गरी पढाउँथे ।
काइँलाउको सामाजिक व्यक्तित्व सारै राम्रो थियो । गाउँघरमा मरिमराउ हुँदा मलामी जाने, थलामा जाने सिदा पु¥याउने आदि काम आफै उपस्थित भएर गर्दथे । त्यसमा पनि ओली परिवारमा परेको दुःखमा त उनको अनिवार्य उपस्थिति रहन्थ्यो । वि.सं. २०३९ को असोज महिनामा हाम्रा बाबु जगतमणि ओली धुलाबारी निन्दा पारी ठूल्दाइको घरमा सारै बिरामी हुनु भयो । त्यो थाह पाएर लप्टन्नी आमै समेत सबै काकाहरु हाम्रा बालाई हेर्न गए । हेरे सबै फर्किए पनि काइलाउ भने हाम्रा बालाई रुँगेर बसे । पुराना बातचित गरे । त्यही रात हाम्रा बाको चोला उठ्यो । काइँलाउले हामीलाई सम्झाए । हाम्रा बासित उनको आत्मीय प्रेम थियो ।
हाम्रा विनोद काइँला बा रुपैयाँ, पैसा वा धन सम्पत्तिलाई धेरै महत्व दिँदैनथे । उनी अशक्त र गरीब परिवारका नानीहरुलाई पढ्न प्रोत्साहन गर्न र आर्थिक सहयोग गर्दथे । उनले झापा जिल्ला ओली वंश समन्वय समितिमा एउटा कोष खडा गरेर विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरेका छन् । त्यस्तै शनिश्चरे बहुमुखी क्याम्पसमा केही रकमको अक्षयकोष खडा गरेर त्यसको व्याजबाट छात्रवृत्ति दिने व्यवस्था गरेका छन् । उनी जहिले पनि नेपालको शिक्षा क्षेत्रको उन्नयनका लागि आप्mनो क्षमताले भ्याएसम्म आर्थिक सहयोग गर्न तत्पर रहन्थे । उनकै अशल शिक्षा र गुणका कारणाले आज उनका सन्तानहरु पनि नेपाली अशिक्षित समाजलाई शिक्षित बनाउन आ–आप्mनो क्षमता अनुसार काम गरिरहेको छन् ।
देश–विदेशको भ्रमणमा भारतका विभिन्न सहरहरु काइँलाउले घुमे । तीर्थ व्रत मठमन्दिरहरुमा नेपाल बाहेक भारतका केदारनाथ, बद्रीनाथ, गङ्गोत्तरी, जमुना, काशी गया आदि आदि स्थानको दर्शन र भ्रमण गरे । जीवनको उत्तरार्धमा छोरा दीपक रबुहारी सरिता अमेरीकामा रहेकाले बाको अमेरीका भ्रमण गराए । उनी केही दिन अमेरीका बसेर फेरी आप्mनै पाराखेपीको घरमा आएर जीवनको अन्तिम समय बिताए । आफ्नो कान्छो छोरा प्रकाश ब्ुहारी जिनाका सेवामा रहेका बेलामा २०७९ साल कार्तिक ३० मा आफ्नै निजी निवासमा ८९ वर्षको उमेरमा उनको चोला उठ्यो । जेठा छोरा मोहन लगायत सबै छोराछोरीहरु नाति–नातिनाहरु छोरी–ज्वाइँहरु, इष्टमित्रहरु भेला भएर पबित्र कनकाई माईमा उनको दाह–संस्कार गरियो । गुणी व्यक्ति, शिक्षासेवी व्यक्तिको निधनमा उनको परिवार रोयो । इष्टमित्र रोए । उनका पूर्व विद्यार्थी रोए । शनिश्चरे पाराखोपी बजार रोयो । शनिश्चरे मावि, फूलबारी मावि अरुणोदय प्रावि सबै रोए । अम्मर आत्माप्रति श्रद्धाञ्जली अर्पण गरे । म पनि हाम्रा शिक्षासेवी काइँला बाको निर्वाणमा अवाक भए । पीरमा डुबे । भाइबहिनीहरु प्रति समवेदना व्यक्त गरे र अम्मर आत्माप्रति श्रद्धासुमन व्यक्त गरे । आदरणनीय काइला बा प्रति सदाका लागि बिदा भन्दै उनीप्रति केही शब्द श्रद्धाञ्जली व्यक्त गरे । अब होडाले जन्माएको हसिलो अनुहार भएको शिक्षासेवी व्यक्ति हामी माझ शशरीर कहिल्यै देख्न पाइँदैन । सम्झनामा मात्र काइँला बा अन्त्यमा यिनै शब्दका साथ श्रद्धाञ्जली व्यक्त गर्दै विदा लिन्छु । सदाका लागि विदा काइँला बा !


























