नक्कली नोटको कारोबार, ५२ लाख नोटसहित गिरोहका ९ जना पक्राउ

0
86

काठमाडौँ,

प्रहरीले ५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित ९ जना कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै नक्कली नोट कारोबारीलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बलेफी नगरपालिका–७ घर भई चाँगुनारायण नगरपालिका–४ बुढाथोकी गाउँ बस्ने ४० वर्षीय अर्जुन सुवेदी, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ घर भई काठमाडौं मुलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, २३ वर्षीय श्रीकृष्ण भण्डारी, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ घरभई पेप्सीकोला सनसिटी बस्ने २६ वर्षीय सुशील कार्की, सोही स्थानका ३२ वर्षीय शिव भण्डारी, नवलपरासी पश्चिम सरावल गाउँपालिका–१ की ३५ वर्षीया पार्वती नेपाली, गुल्मी मुसीकोट नगरपालिका–२ वडागाउँ घर भई सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई काठमाडौं मातातिर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा, झापा घर भई सामाखुशी बस्ने २४ वर्षीय युवराज राई छन् ।

सुरुमा प्रहरीले बिहीबार काठमाडौंको थानकोटबाट लु१प ५ नम्बरको पर्यटक बसमा पठाइएको नक्कली ३५ लाख ७३ हजार रुपैयाँ बरामद भएको थियो । त्यसपछि खोजतलासका क्रममा थप रकम र कारोबारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले गोंगबुबाट १७ लाख २ हजार बराबरको नेपाली नक्कली नोट बरामद गरेको थियो । कारोबारीहरुले भक्तपुरको चाँगुनारायणमा कारखाना नै सञ्चालन गरेर नक्कली नोट उत्पादन गर्ने गरे थिए । जिल्ला प्रहरी परिसर भक्तपुरले चाँगु बुढाथोकीगाउँस्थित अर्जुन सुवेदीको डेरामा छापा मारी नक्कली नोट बरामद गरेको थियो ।

प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको छ । उनीहरुको साथबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here