परमार्थ मार्गका बाधक

0
199

भनिन्छ, मानव जीवनमा त्यसैको जीवन सार्थक र सफल मानिन्छ जसले लौकिक तथा पारमार्थिक लक्ष्य प्राप्त गर्दछ । जसका लागि हाम्रा साधना शास्त्रमा निर्देशित नीति–नियमको पालनासँगै जीवन कर्मशील एवम् साधनामय तुल्याउन अपरिहार्य छ । यसै सन्दर्भमा पारमार्थिक लक्ष्य प्राप्तिका लागि के–कस्ता बाधा–व्यवधानहरु रहेका छन् । अर्थात् परमार्थ साधनका बाधक वा परमार्थ मार्गका विघ्नबारे जानकारी राख्नु आवश्यक छ । यहाँ यसैबारे संक्षेपमा चर्चा गरिन्छ–

आलस्यता : परमार्थ साधनाको पहिलो तथा प्रमुख विघ्न हो– आलस्यता । जसबाट प्रभावित बनेपछि मानिस भरे गरौंला, भोलि गरौंला भन्ने विचार लिई साधना पथबाट टाढिने गर्दछ । साधकले कुनै उपायले आलस्य त्यागेर वा आलस्य नाशको उपाय अपनाएर साधना गरी हाल्नुपर्छ । आलस्यता नै मानवजीवनको यस्तो दुरगुण हो । जसले मानिसलाई धनले मात्र नभई सबै पक्षबाट दीनहीन तथा दुर्बल बनाइदिन्छ । यसलाई त्यागेर परिश्रमी बन्न सकेमात्र सबै प्रकारको उन्नतिप्रगति सम्भव छ ।

विलाशिता : परमार्थ साधना मार्गको अर्को मुख्य बाधक विलाशितालाई मानिन्छ । यस्तो व्यक्ति विलाशिताको वस्तु संग्रह गर्ने र त्यसबाट शरीर सजाउने कार्यमा तत्पर रहिरहने हुन्छ । खर्चको प्रवाह नगरी नयाँ–नयाँ श्रंगारका सामान संग्रह गर्नतर्फ ध्यान दिने गर्छ । साधनातर्फ ध्यान दृष्टि नै रहन्न उसको । जसबाट दशवटा हानी (नाश) गर्दछ भनिएको छ । ती हुन्– धन, धर्म, साधापन(सरलता)बाट प्राप्त हुने सुखको नाश, ज्ञान, वैराग्य, भक्ति, सत्य, स्वास्थ्य र आरोग्यको नाश ।

प्रशिद्धी : यसपछि परमार्थ मार्गको अर्को बाधकतत्व प्रशिद्धीलाई मानिएको छ । व्यक्तिमा प्रशिद्धी बढ्दै गएपछि सबैको परिचित हुने, जनसम्पर्क बढ्ने, प्रिय बन्ने अनि एकपछि अर्को गर्दै भेटघाटमा टेलिफोन वार्तामा (तीन÷चार टेलिफोनमा व्यस्त रहने) सम्मान कार्यक्रम आदि प्रियतामा व्यस्त रहिरहनुपर्ने अवस्थाका कारण भक्ति साधनाका लागि एकाग्रयुक्त अवस्थाको समय नै प्राप्त नहुने भएका कारण प्रशिद्धीबाट बाधा उत्पन्न हुन्छ ।

मानबढाइको चाहना : मानबढाइँको चाहना, भावनालाई अर्को मुख्य बाधकका रुपमा उल्लेख गरिएको पाइन्छ । व्यक्तिमा जब निन्दाबाट दुःख र प्रशंसा तथा मानबढाइँबाट प्रफुल्लताको अनुभव गर्ने गर्दछ, जसबाट अनुहारमा उज्यालोको रेखा बन्ने हुन्छ । तर, कार्यकुशल तथा समझदार व्यक्तिले निन्दा प्रशंसालाई समानरुपमा ग्रहण गर्नुपर्छ भनिएको छ । व्यक्तिले जब मानबढाइँ, मानसम्मानको इच्छा राख्न थाल्यो तब बुझ्नुपर्छ कि ऊ साधना मार्गबाट अर्कोतर्फ लाग्यो, बाटो बदल्यो । राजनीतिक नेतृत्वले यसैका लागि मर्यादा र आदर्श बेचेको देखिएकै पनि छ ।

गुरुभावको अभिमान : परमार्थ साधनाका मुख्य आठ बिघ्नहरुमध्ये पाँचौं बाधकका रुपमा गुरुभावलाई लिइएको छ । ज्ञानमा पूर्णता वा पूर्ण सफलता प्राप्त नगरी आफूलाई सिद्धपुरुष वा गुरु ठान्नु, गुरुको बडप्पन देखाई साधना छोड्ने र गुरुभाव राख्नाले सफल बन्न सकिँदैन । सिद्धरुपमा ठानेर शिष्य बनाउने, दीक्षा दिने जस्ता कार्य गर्दा साधना अघि बढ्न सक्दैन ।

देखावटीभाव: परमार्थिक कल्याणको लागि छैटौं बाधकको रुपमा रहेको छ– देखावटीभाव । सरल भेषभन्दा उच्च भेषभूषा पहिरिने भित्रिरुपमा वैराग्य भाव, ज्ञानभन्दा पनि बाहिरीपन देखाई बहिर्मुखी बन्ने गर्नाले बाधा उत्पन्न हुन्छ । सामान्य सस्ता पहिरहन र उच्च धार्मिक पहिरन दशैंमा यस प्रकारका देखावटीपन हुन्छ ।

परदोष निन्दा : पारमार्थिक लक्ष्य प्राप्तिको मुख्य बाधक मध्ये अर्को तथा सातौं बाधक परदोष निन्दा गर्नु हो । मानिसले आफ्नो दोष खोज्नुपर्ने र अरुको गुण खोज्ने प्रयत्न गर्नुपर्छ । तर, यसको विपरीत अरुको दोषको निन्दाचर्चा गर्ने प्रवृत्तिले साधक उभो लाग्दैन । अरुको अवगुणको ब्याख्यानले मानिस स्वयम् दोषी बन्दछ । यस्ता मानिसहरु सन्त महापुरुषहरुको समेत निन्दा चर्चा गर्ने गरेको पाइन्छ । यसो गर्नु आकाशतर्फ थुक्दा त्यसको छिटा आफैं तर्फ परे झैं दुषित बन्न पुग्दछ । अरुको अवगुणको निन्दा चर्चाको त के कुरा प्रशंसामा समय व्यतित गर्नु भूल मानिन्छ । कुनै महापुरुषले भनेका छन् – ‘अरुको सदगुणको प्रशंसा गर्नमा समय खेर नफाल बरु त्यसलाई अपनाऊ ।’

अधिक सांसारिकता : जीवनमा परमार्थ मार्गका प्रमुख बाधक मध्ये आठौं तथा अन्तिम बिध्न तथा बाधकका रुपमा अधिक सांसारिकतालाई मानिएको छ । मानिसको जीवन निर्वाहका लौकिक तथा सांसारिक कर्म तथा व्यवहार गर्नु आवश्यक छ । यद्यपि, सांसारिक भावको अधिकताबाट पारमार्थिक लक्ष्य प्राप्त गर्न सम्भव हुँदैन । आजको मान्छे सांसारिक कार्य गर्दागर्दै यति व्यस्त बनेको छ कि ऊ मुस्किलले खाना खान र नुहाउँन समय पाउँछ, खाना खाँदा पनि हिँड्ने गर्दछ । तर, साधकले एक÷दुई स्वअध्ययनका लागि र भगवग भगवत चिन्तन, भजन गर्न समय नै पाउँदैन ।

हामीले काम त्यति नै गर्नुपर्छ, जति व्यवहार धान्न आवश्यक छ । त्यतिका लागि काम गर्नुपर्छ । एक मजदुर गुजाराका लागि त्यसरी अहोरात्र खट्नु स्वभाविक पनि छ । किनकि त्यति नगरी उसले जीवन निर्वाह गर्न सक्दैन, तर व्यक्ति अधिक धन सञ्चयका लागि त्यसो गर्नु उचित हुँदैन । योगयुक्त भई शान्त र आनन्दपूर्वक कार्य गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here