झापा ।

नवजात शिशु र परिवारलाई राहत स्वरुप ३५ लाख रुपैयाँ दिने सहमतिपछि बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा देखिएको विवाद समाधान भएको छ ।
बिर्तामोड –१ निवासी २७ वर्षीया सृजना संग्रौला खनालको प्रसूति गराउने क्रममा चिकित्सकले लापरवाही गरेको भन्दै उनका आफन्तले दुई दिनदेखि अस्पतालमा आन्दोलन चर्काएका थिए ।
तर,अस्पताल प्रशासन र पीडित परिवारबीच भएको बार्ताका क्रममा सृजनाको उपचारमा लागेको सबै खर्च मनमोहन अस्पतालले व्यहोर्ने, उनको परिवारलाई राहत स्वरुप २० लाख रुपैयाँ दिने र नवजात शिशु (छोरी) को स्वास्थ्य, शिक्षाका लागि १५ लाख रुपैंयाँ बैंकमा जम्मा गर्ने लगायतका सहमति पछि अस्पतालमा देखिएको विवाद समाधान भएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले जानकारी दिए ।
गत साउन २७ गते अस्पताल भर्ना भएकी सृजनाको प्रसूति गराउने क्रममा डा.ले लापरवाही गरेको भन्दै उनका आफन्तले अस्पतालमा सोमवारदेखि उपचारमा सम्लग्न चिकित्सकलाई कारवाही गर्नुपर्ने माग सहित आन्दोलन गरेका थिए ।
बिर्तामोड नगरपालिका –१ की २७ वर्षीया सृजनाको अस्पतालमा कार्यरत डा.एकराज गौतमले प्रसूति गराएका थिए । डा. गौतमले २७ गते राति नै सिर्जनाको शल्यक्रिया गर्दै शिशु (छोरी) सकुशल निकालेका थिए । तर, राति सवा नौ बजे उनलाई यहाँ उपचार सम्भव नभएको भन्दै बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा रेफर गरिएको थियो ।
मनमोहन अस्पतालमा स्टाफ नर्सका रुपमा कार्यरत संग्रौला प्रसूतिका लागि २७ गते साँझ साढे ६ बजे अस्पताल भर्ना भएकी थिइन् । तर, उनको शल्यक्रियापछि उच्च रक्तचाप देखिएसंँगै स्वास्थ्य अवस्था गम्भीर भएकाले बिर्तासिटी रेफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
उच्च रक्तचापका कारण ‘ब्रेन हेमरेज’ भएसंँगै उनको अहिले बिर्तामोडस्थित बिर्तासिटी अस्पतालको ‘भेन्टिलेटर’मा राखेर उपचार भइरहेको बताइएको छ । सृजनाको शल्यक्रियापश्चात होस आएको तर, करिब एक घण्टापछि उनको स्वास्थ्यमा समस्या देखिँदै गएको बताइएको छ । सृजनाको स्वास्थ्यमा जटिल समस्या आउँदा समेत उनका आफन्तलाई जानकारी नगराएको र अन्तिम अवस्था आएपछि मात्रै डा. गौतमले रेफर गरेको भन्दै डा. गौतमलाई कारवाहीको मागसहित आफन्तले आन्दोलन चर्काएका थिए ।
यता उनका आफन्तले भने सृजनालाई चिकित्सकको लापरवाहीले मृत्यु शय्यामा पु¥याएको भन्दै सोमवार साँझदेखि अस्पताल परिसरमा आन्दोलन चर्काएका थिए । सृजनाका आफन्तले उपचारमा सम्लग्न डा. गौतमलाई कानूनी कारवाहीको माग सहित उनको लाइसेन्स समेत खारेज गरिनु पर्ने बताउँदै आएका थिए ।
सृजनाका आफन्तले सोमवारदेखि नै आन्दोलन चर्काएसंगै पीडित पक्षसंग पटक पटक बार्ता भएपनि निष्र्कषमा नपुग्दा मंगलवार मध्यान्हसम्म मनमोहन अस्पताल तनावग्रस्त बनेको थियो । अस्पताल परिसर तनावग्रस्त बनेसँंगै सोमवार साँझदेखि मनमोहन अस्पताल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । अस्पतालको सुरक्षाका लागि प्रहरी खटाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।






























