अविवाहित युवतीले जन्माएको बच्चा अस्पतालबाटै गायव

0
33

झापा ।

मोरङमा अबिबाहित युवतीबाट जन्मिएको बच्चा गायव बनाइएको घटना सार्वजनिक भएको छ ।

विराटनगर महानगरपालिका–९मा रहेको ग्रीनक्रस अस्पतालबाट बच्चा गायब बनाइएको हो । प्रेमीसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गतअसार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । भोलिपल्टै उनले छोरीलाई जन्म दिएकी थिइन् ।

२६ वर्षीया युवती र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईबीच २ वर्षदेखि प्रेमसम्बन्ध रहेको थियो । दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर ल्याएरको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

सुरुमा ग्रीनक्रस अस्पताल नजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले गर्भवतीको परीक्षण गरेका थिए । लगत्तै युवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गराइएको थियो ।

प्रहरीका अनुसार वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ ।

ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ । अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् ।

बच्चाबिनै आफूलाई इटहरी लगेको र त्यहाँ एउटा होटलमा राखेको उनले बताइन् । बच्चा अस्पतालमै छ भनेर उनलाई भनिएको थियो । दुई दिनपछि आफ्नो केही काम छ भन्दै युवक होटलबाट हिँडेका थिए । त्यसपछि फर्के नआएको युवतीले बताएकी छन् ।

होटलमै छाडेर हिँडेका गोविन्द नफर्किएर आफू सुनसरीको सोनापुर आएर बसेको उनको भनाइ छ । गोविन्दले छाडेर गएको खर्च सकिएकाले ८ दिनपछि आफूले होटल छाडेको र सोनापुरमा डेरा लिएर बसेको बताइन् ।

सकुशल छोरी जन्मिएको भनेर नर्सहरुले बताएको तर डिस्चार्ज गर्दा बच्चा नदिएको उनले बताएकी छन् । आफूले जन्माएको बच्चा साथमा नरहेको भन्दै उनले अस्पतालबाटै गायब बनाइएको बताइन् ।

बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चा समेत गायव बनाएको गुनासो उनको छ । होटलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् ।

उपचारमा संलग्न चिकित्सक र प्रेमीबिरुद्ध साउन ३२ गते बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन् । प्रहरीले अन्दाजी ६८ वर्षीय डा. कर्ण र उनका प्रेमी (बच्चाको बाबु) भनिएका गोविन्दलाई पक्राउ गरेको छ ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण विराटनगरस्थित कोशी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) हुन् । सरकारी सेवाबाट अवकाश पाएका उनले दिपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका थिए । उनी ग्रीनक्रस अस्पतालमा पनि काम गर्छन् ।

डीएसपी दाहालका अनुसार दुवै जनालाई शुक्रबारसाँझ पक्राउ गरिएको हो । प्रहरीले पक्राउ गरेपछि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै उपचारका लागि डा. कर्ण कोशी अस्पतालमा भर्ना भएका छन् । प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ ।

उनका अनुसार डा. कर्णले ८ महिना पूरा भएर ९ महिना लागेको बच्चा अभिभावकलाई बुझाइसकिएको बताएका छन् । तर, पक्राउ परेका गोविन्द र युवतीले बच्चा आफूहरुसँग नरहेको बताएका छन् ।

दाहालका अनुसार चिकित्सकले युवतीलाई असहज भएकाले तत्कालै बच्चा बाहिर निकाल्नुपर्ने अवस्था आयो भनेर भनेका छन् । ‘प्रारम्भिक सोधपुछका क्रममा उपचारका लागि आउँदा युवतीलाई सुत्केरी ब्यथा लागेको थियो भनेर चिकित्सकले भनेका छन्’– उनले भने– ‘बच्चा जन्मिएपछि बाबुलाई नै जिम्मा लगाएको दाबी गरेका छन् ।’ तर, गोविन्दले भने अस्पतालबाट बच्चा आफूले जिम्मा नलिएको र प्रेमिकालाई लिएर इटहरीतिर गएको बताएको दाहालको भनाइ छ ।

उनका अनुसार बच्चा कहाँ पु¥याइयो भन्ने खुल्न बाँकी छ । विवाहपूर्वको सम्बन्धबाट जन्मिएको बच्चा गायव बनाइएको भनेर युवतीले कारबाहीको माग राख्दै चिकित्सक र प्रेमबिरुद्ध किटानी जाहेरी दिएको उनले बताए । युवतीले मिलेमतोमा बच्चा गायव बनाइएकाले खोजी पाउँ भनेर माग पनि गरेकी छन् । उनले बच्चा नर्सहरुले लिएर गएको र त्यसपछि आफूले नदेखेको बताइन् ।

उनले गोविन्दसँग २ वर्षदेखि आफू प्रेम सम्बन्धमा रहेको र बिहे गर्ने योजनामा रहेको पनि सुनाइन् । उनले बच्चा जन्माउनुपर्छ भनेर भोजपुरदेखि प्रेमी गोविन्दले नै विराटनगर ल्याएको पनि बताए । उनले प्रसूतिका लागि डा. कर्णलाई ३५ हजार रूपैयाँ पनि तिरेको बताइन् । ‘बच्चा कसले लग्यो भन्ने खुलेको छैन ।

फेला पनि पार्न सकिएको छैन’– डीएसपी दाहालले भने– ‘जीवितै बच्चा जन्मिएको भन्ने कुरा आएकाले खोजी भइरहेको छ । थप अनुसन्धानपछि वास्तविकता खुल्छ ।’ उनले पक्राउ परेका चिकित्सक र गोविन्दविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूरमा आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिने जानकारी दिए ।

ग्रीनक्रस अस्पतालका अध्यक्ष कृष्ण खवासले अस्पतालमा ९ सय ५० ग्रामको बच्चा जन्मिएको बताए । ‘सामान्य प्रसूतिमार्फत बच्चा जन्मिएको हो । तौल कम र स्वास्थ्य अवस्था नाजुक रहेकाले उपचार गर्नसक्ने अवस्था भएन’– उनले भने– ‘एनआईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएकाले ग्रीनक्रसबाट रेफर गरियो । सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर बच्चा अभिभावकलाई नै जिम्मा लगाएका हौं ।’

खवासले उपचार हुन नसकेपछि रेफर गरिएको बच्चा कसले कता लग्यो भन्ने थाहा नभएको बताए । उनले अस्पतालबाट कुन चिकित्सकले रेफर गरेका हुन् र बच्चा जिम्मा लिने अभिभावक को हुन् भन्ने खुलाएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here