चन्द्रगढी विमानस्थल चराका कारण : दिनैपिच्छे जहाज ‘डिले’

0
38

झापा ।

भद्रपुरस्थित चन्द्रगढी विमानस्थलभित्रबाट केही दिन पहिले दिउँसो एक्कासी ठूलो आवाज आयो । जहाज उड्न लाग्दा रन–वे (धावनमार्ग) मा चराको हुल बसिदिएकोेले एक्कासी रोकिनु पर्दा आवाज आएको थियो ।

काठमाडौंका लागि उडान भर्न लागेको बुद्ध एयरको फोरके ९५७ नम्बरको एटीआर–७२ जहाज रन–वेमा रोकिएको थियो । हावाको गति अनुसार बुद्ध एयरको जहाज विमानस्थलको पूर्वबाट पश्चिमतर्फ उड्न खोज्दा पाइलटले रन–वेको पश्चिमतर्फ चरा बसेको देखेका थिए । त्यसपछि पाइलटले जहाज एक्कासी रोक्न खोज्दा ठूलो आवाज आएको चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख इन्दुराज अधिकारीले बताए । बिमानस्थलका कर्मचारीले रन–वेबाट चरा उडाएपछि जहाज ३० मिनेट ढिलो (डिले) गरी काठमाडौंका लागि उडेको थियो ।

अघिल्लो दिन पनि विमानस्थलमा यस्तै घटना घटेको थियो । बुद्ध एयरको फोरके ९५७ नम्बरकै एटीआर–७२ जहाज अवतरण (ल्याण्डिङ) गर्दा जहाजको ल्याण्डिङ गियरमा केही ठोक्किएको थियो । पाइलटले ठोक्किएको आवाज महशुस गरे । त्यसपछि सो कुरा पाइलटले विमानस्थललाई तत्काल जानकारी गराए । कर्मचारीले रन–वेमा गएर चेकजाँच गर्दा ढुकुर मरेको फेला परेको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख अधिकारीले बताए । पश्चिमतर्फ सेनाको व्यारेकमाथिबाट ल्याण्डिङ गर्ने क्रममा जहाजसँग ढुकुर ठोक्किएको बताउँदै कार्यालय प्रमुख अधिकारीले भने– ‘ढुकुर मरेछ तर जहाजमा भने केही क्षति भएन ।’

ढुकुर ठोक्किएकोले जहाज चेकजाँचका लागि इञ्जिनियरको टोली आएको थियो । ‘सो टोलीले जहाजको चेकजाँच ग¥यो, त्यस्तो केही त्रुटि फेला नपरेपछि जहाज यात्रु लिएर काठमाडौं उड्यो’– उनले भने । साढे ४ बजे उड्ने जहाज साँझ ८ बजे उडेको थियो । रन–वेमा ढुकुर बसिदिँदा जहाजका पाइलट र विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले पनि देख्दैनन् ।

‘ढुकुर सानो हुन्छ, सानो चरा आँखाले नदेख्दा जहाजलाई जोगाउनै मुस्किल भइरहेको छ’– उनले भने । रन–वेबाट गति लिएर आकाशमा उडिसकेका जहाजमा कुनै पनि समस्या नहोस् भनेर दैनिक बिहान र बेलुका साइरन जडित गाडी रन–वेमा घुमाउँदै आएको बताउँदै उनले भने– ‘रन—वेमा पहिला जस्तो चराचुरुंगीको समस्या छैन, यसको नियन्त्रणका लागि रन–वे आसपासको नालामा उम्रिएको झार जंगल मार्ने काम गरिरहेका छौं ।’ यहाँको रन–वेमा विशेष गरी काग, परेवा, ढुकुर, सर्पको समस्या छ । त्यसको निगरानीका लागि बिहान र बेलुका दुई सिफ्ट गरी कर्मचारी खटाएका छौं ।

‘अन्य विमानस्थल जस्तो यहाँ चराचुरुंगीको शिकार गरिरहने कर्मचारी भने छैन’– उनले भने– ‘छिट्टै प्राधिकरणसँग समन्वय गरी शिकार गरिरहने दुई जना कर्मचारी खटाउनुपर्ने हुन्छ, यसका लागि पहल गरिरहेका छौं ।’ काठमाडौं–भद्रपुर–काठमाडौंका लागि यस बिमानस्थलबाट दैनिक ८ देखि १० वटा जहाज उड्छन् । बुद्ध एयरको ६, यति र सौर्यका १÷१ जहाजले दैनिक उडान भरिरहेको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here