लाखे नाच जात्रा शुरु

0
44

जोश्ना श्रेष्ठ,
बिर्तामोड ।

हरेक बर्ष नेपालका विभिन्न जिल्लाका प्रमुख शहरहरूमा नेवार समुदायले सास्कृतिक झाँकीका रूपमा प्रदर्शन गर्दै आएको लाखे नाच जात्रा बिर्तामोडमा शुभारम्भ गरिएको छ ।

नेवाः पासा मुना पुचः बिर्तामोड र अर्जुनधारा नेवाः देय दवुको संयुक्त आयोजनामा लाखे नाच जात्रा कार्यक्रमको विधिवत उद्घाटन तथा शुभारम्भ बिर्तामोडमा गरिएको हो । नाग पञ्चमीको दिन अर्जुनधारा–६ दासपुलमा अवस्थित भीमसेन मन्दिरमा विधिवत् रूपमा पूजाआजा गरी एक कार्यक्रमकाबीच लाखे नाचको उद्घाटन तथा शुभारम्भ गरिएको हो ।

लाखे नाचसँगै यस बर्ष मुना पुचःले ठाकठुके नाच पनि प्रदर्शन गर्दैछ । नेवाः पासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा सल्लाहकार तथा पूर्व अध्यक्ष गणेश शाक्य, अर्जुनधारा नेवाः देयः दवु अध्यक्ष रूद्रमणि श्रेष्ठ, लाखे संरक्षक लक्ष्मी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन भीमसेन थान मन्दिरका अध्यक्ष प्रभात मानन्धर गरेका थिए ।

सांस्कृतिक झाँकी, जातीय संस्कार संरक्षण गर्ने उद्देश्यले हरेक बर्ष बिर्तामोडमा लाखे नाच प्रदर्शन गर्दै आएको छ । पुचले यसबर्ष एक महिनाअघिदेखि लाखे नाच सँगसँगै ठाकठुके नाचको प्रशिक्षण कार्यक्रम चलाएको थियो । पुचले आयोजना गरेको प्रशिक्षणमा गौरादह र अर्जुनधारा नेवाः देय दवु लाखे टिमले समेत प्रशिक्षण लिएको मुना पुचः अध्यक्ष श्रेष्ठले जानकारी दिए । लाखे नाच तथा जात्रा शुभारम्भ कार्यक्रममा सल्लाहकार तथा निवर्तमान अध्यक्ष इश्वरा श्रेष्ठ लगायत नेवाः बन्धुहरु आफ्नो जातीय भेषभुषामा सहभागी भएका थिए ।

नाग पञ्चमीको दिनदेखि विधिवत रूपमा उद्घाटन शुरू गरी शुभारम्भ गरिने यो सांस्कृतिक झाँकी तथा नाच प्रदर्शनी कतै कृष्ण जन्माष्टमीका दिन विधिवत् रूपमा विसर्जन गर्ने चलन छ । बिर्तामोडमा भने जन्माष्टमीको भोलिपल्ट विधिवत् रूपमा बिसर्जन गरिने मुना पुचः अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here