कोशीको मर्यादाहीन राजनीति

0
39

चेतनाले अग्रणी भनिने कोशी प्रदेशमा राजनीतिक दलहरुले सत्ता यात्रा कै लागि निर्लज्जता प्रदर्शन गर्दैछन् । खासगरी प्रमुख राजनीतिक दलहरुको यस्तो निर्लज्ज जात्राले कोशी प्रदेश सरकार विघटनको संघारमा पुगेको संकेत गरेको छ । मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिनका लागि सोमबार दिउँसो बैठक बोलाएका थिए । बैठकको कार्यसूची तय गर्न उपसभामुख सिर्जना दनुवारले कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बोलाइन् । तर, त्यही दिन बिहान उनी ‘अचानक बिरामी’ भएको सूचना दिएर काठमाडौं गइन् । सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर गठबन्धन दलले मन्त्री मण्डलमा सहभागी गराएर ‘कठिन अंकगणित’ मिलाउन गरेको प्रयास अन्ततः एमालेले आफूलाई झनै ठूलो समस्याका रुपमा प्रस्तुत गरेको छ ।

उपसभामुखले बैठकको अध्यक्षता गर्दा वर्तमान सरकारले बहुमतसिद्ध गर्न सक्ने उनको अनुपस्थितिमा ज्येष्ठ सदस्यले गर्ने व्यवस्थालाई पन्छाउन एमाले, राप्रपाले आफ्ना ज्येष्ठ सदस्यहरुलाई विदामा राखेका छन् । विश्वासको मत पुग्ने निश्चित नभएपछि बलमिच्याइँ गर्ने दलहरुको व्यवहारले प्रदेशसभाको औचित्यमाथि नै सवाल खडा गरिदिएको छ । सभामुख, उसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न भएको संवैधानिक व्यवस्थालाई पनि निस्तेज पार्न पक्ष र प्रतिपक्षबाट भइरहेको अप्रजातान्त्रिक व्यवहार राजनीतिक प्रणाली माथि कै प्रहार त होइन ? शंका उब्जाएको छ । उपसभामुख बिरामी हुन सक्ने एमालेको भविष्यवाणी पूरा भएपछि अब कोशी प्रदेशको सरकार र प्रदेशसभाको यात्रा पनि अनिश्चित हुने देखिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ३ गते आइतबारका लागि समय मागेका थिए । तर, उपसभामुख दनुवारले सोमबारका लागि समय तय गरेकी थिइन् । त्यसकै लागि कार्यव्यवस्था परामर्श समितिको बैठक उनैले सोमबार बिहान बोलाएकी पनि हुन् । तर, उनै प्रदेशसभाको बैठक छलेर ‘अचानक बिरामी’ पर्नु र अनुपस्थित गराइनु प्रदेशका लागि शुभ संकेत होइन । एमालेसँग राप्रपाको गठबन्धनमा ४६ सिट छ भने सत्ता गठबन्धनसँग सभामुखलाई राजीनामा गराउँदा बहुमतलाई मात्र पुग्ने सिट छ । यस्तोमा एमाले वर्तमान सरकारलाई ढालेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने स्वार्थका लागि हदैसम्मको ‘जात्रा’ देखाउन लागेको छ । उता संघमा पनि निरन्तर संसद अवरुद्ध गर्दै आएको एमालेकै कारण राजनीतिक अस्थिरता उत्पन्न भयो भने पनि अनौठो नहुन सक्छ । सत्ता स्वार्थका लागि अनुशासन, नैतिकता, मर्यादा सबै तिलाञ्जली दिने दलहरुबाट देश र जनताको सेवा हुन्छ भन्नु नै व्यर्थ हुने उनीहरुको व्यवहारले प्रमाणित गरिदिएको छ । त्यसैले राजनीतिलाई देश र जनसेवा भन्नेहरुले आत्ममूल्यांकन गर्न ढिला गर्ने हो भने यो बाघले सबैलाई खानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here