बिर्तामोड उद्योग वाणिज्य संघद्वारा बृद्धि भएको व्यवसायिक कर घटाउन नगरपालिकासंग माग

0
31

बिर्तामोड ।

बिर्तामोड नगरपालिकाले व्यवसायिक करमा व्यापक वृद्धि गरेको भन्दै करको दर घटाउन बिर्तामोड उद्योग वाणिज्य संघले माग गरेको छ ।

कोरोना कहरका कारण व्यवसाय थला परेको तथा आर्थिक मन्दीका कारण व्यवसायीहरु नै पलायन बन्ने अवस्थामा रहेको बेला स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले करको दरमा सहुलियत दिनुको सट्टा कर वृद्धि गरेर व्यवसायी माथि अन्याय गरेको वाणिज्य संघले जनाएको छ ।

मंगलबार वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रकाश शिवाकोटीले स्थानीय सरकारले लागू गरेको व्यवसायिक कर अव्यवहारिक भएको उल्लेख गरे । उनले व्यवसायिक कर कारोबारको आधारमा नभई पुँजीको आधारमा हुनुपर्ने विचार व्यक्त गरे । नगरपालिकाले सात दिनभित्र व्यवसायीका मागहरुलाई सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा उत्रने अध्यक्ष शिवाकोटीले चेतावनी दिए ।

नगरपालिकाले विभिन्न शिर्षकमा कर उठाए पनि व्यवसायीलाई सहुलियत नदिएको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले आरोप लगाए । उनले व्यवसायी कर, विज्ञापन कर, फोहोरमैला कर लगायतमा कर उठाइए पनि व्यवसायीको हितमा प्रयोग नगरिएको धारणा व्यक्त गरे ।

नगरपालिकाले करको दर बढाउँदा विभिन्न निकायसँग छलफल गरेर त्यसलाई अगाडि बढाउनुपर्नेमा निर्णय नगरी आफ्नो किर्ते हस्ताक्षर प्रयोग गरेर निर्णय गरेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले बताए । उनले भने– ‘राजश्व परामर्श समितिको बैठकमा म गएको हुँ, उपस्थितिमा हस्ताक्षर गरेको हो निर्णय नलेखी बैठक सकिए पनि अहिले आफू अनुकूल निर्णय टाइप गराएर नगरपालिकाले मेरो हस्ताक्षरको दुरुपयोग ग¥यो ।’ उनले नगरपालिकाले व्यवसायीको पक्षमा निर्णय नगरेको भन्दै वैधानिक हस्ताक्षरलाई अवैधानिक निर्णयमा प्रयोग गरिएकाले नगरपालिकाले गरेको निर्णय आफूहरुलाई मान्य नभएको उल्लेख गरे ।

बिर्तामोड उद्योग वाणिज्य संघले पूर्व अध्यक्ष बिर्तामोड क्षेत्रका अगुवा व्यवसायी, युवा व्यवसायी लगायतसँग छलफल र परामर्श गर्दै व्यवसायी कर घटाउने पक्षमा एकबद्ध भएर अगाडि बढ्ने निर्णय गरेको वाणिज्य संघले जनाएको छ ।

यसैबीच विभिन्न १३ बुँदे माग अगाडि सार्दै बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । वाणिज्य संघका पदाधिकारी तथा व्यवसायसहित नगरपालिका पुगेको टोलीले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई ज्ञापनपत्र बुझाएको हो ।

व्यवसायी कर कारोबारका आधारमा नभई पुँजीका आधारमा हुनुपर्ने, राजश्व कार्यालयभन्दा तेब्बर रुपमा बढाइएको व्यवसायी कर तत्काल संशोधन गरिनुपर्ने, व्यवसायी फर्महरु नविकरण गर्दा कारोबारका आधारमा लगाइएको कर तत्काल हटाउनुपर्ने, व्यवसायीले घरबहाल कर तिर्नुपर्ने बाध्यात्मक परिस्थितिलाई हटाएर घरधनीले नै घर बहाल कर तिर्ने वातावरण बनाइदिनुपर्ने, विज्ञापन करका रुपमा लिएको अस्वभाविक कर तत्काल संशोधन गरिनुपर्ने, व्यवसायिक फर्मका नाममा गरेका विज्ञापनलाई विज्ञापन करका रुपमा लिन नपाइने , कर उठाउँदा गरिने व्यवहारलाई तत्काल सुधार गर्नुपर्ने माग राखेको छ ।

वाणिज्य संघले अस्तव्यस्त रुपमा रहेको फोहोरमैला तत्काल व्यवस्थापन गर्न नगरपालिकाको ध्यानाकर्षण गराएको छ । व्यवसायीसँग कर उठाएपछि व्यवसायीलाई नगरपालिकाले सुविधा दिनुपर्ने माग समेत राखेको छ । बिर्तामोड राजपत्र संशोधन गरेर व्यवसायीका पक्षमा कानून निर्माण गरिनुपर्ने, अव्यवस्थित सवारी पार्किङलाई व्यवस्थित गरिनुपर्ने, सार्वजनिक शौचालय निर्माणमा ध्यान दिनुपर्ने, सडक बत्ती, सीसी क्यामेरा मर्मत गरिनुपर्ने लगायतका १३ बुँदे माग राखेको छ ।

ज्ञापनपत्र बुझ्दै नगर उपप्रमुख संग्रौलाले व्यवसायीका जायज माग पूरा गर्न नगरपालिका तयार रहेको उल्लेख गरे । उनले व्यवसायीका समस्या र समाधानका लागि छिट्टै वाणिज्य संघसहितका प्रतिनिधिसँग छलफल गरेर समस्या समाधानका लागि पहल थाल्ने प्रतिबद्धता समेत जनाएका छन् । उनले नगरपालिकाका सकारात्मक काममा सहयोग गरिदिनु व्यवसायीसँग आग्रह समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here