विप्लव माओवादीले झापालाई दुई जिल्ला बनायो, एमसीसी विरुद्ध खरो उत्रने चेतावनी

0
63

बिर्तामोड ।

नेपाल कम्युपनिष्ट पार्टी विप्लव माओवादीले झापालाई दुई जिल्ला बनाएको छ ।

पश्चिम झापा, पूर्व झापा गरी जिल्लालाई दुई भागमा विभाजन गरेर काम अगाडि बढाइने विप्लव माओवादीले जनाएको छ । कम्युनिष्ट पार्टीको मेची ब्यूरो तेस्रो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै झापालाई दुई जिल्लाका रुपमा घोषणा गरेर काम अगाडि बढाउने ब्यूरो इञ्चार्ज सुमन सिंह सीले जानकारी दिए ।

बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै विप्लव माओवादीले दमक केन्द्र रहने गरी दमक, गौरादह, शिवसताक्षी, कनकाई नगरपालिका तथा कमल, गौरीगञ्ज र झापा गाउँपालिका समेटेर पश्चिम झापा नाम हुने गरी एउटा जिल्ला घोषणा गरेको जनाएको छ ।

त्यस्तै भद्रपुर केन्द्र हुने गरी भद्रपुर, बिर्तामोड, अर्जुनधारा र मेचीनगरपालिका तथा बुद्धशान्ति, कचनकवल, बाह्रदशी र हल्दिबारी गाउँपालिकालाई समेटेर पूर्व झापा घोषणा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

विप्लव माओवादीले एमसीसी परियोजना राष्ट्रघाती भएको ठहर गर्दै त्यसबिरुद्ध सशस्त्र प्रतिकार गर्ने चेतावनी दिएको छ । १३ बुँदे संघर्षका कार्यक्रम सार्वजनिक गर्दै विप्लव माओवादीले मानव तस्करहरुको पहिचान गरी कारवाही गर्ने चेतावनी दिएको छ ।

त्यस्तै लघुवित्त, मिटरब्याजी र चर्को बैंक ब्याजदरका बिरुद्ध संघर्षका कार्यक्रम गर्ने महिला हिंसा तथा जातीय विभेदबिरुद्ध कडा कारवाही गर्ने शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएका शोषण र अनियमितताबिरुद्ध संघर्ष गर्ने, सीमा अतिक्रमणबिरुद्ध संघर्षका अभियान सञ्चालन गर्ने, भ्रष्टचार, अनियमितता, कालोबजारी, महँगी र ठगीबिरुद्ध कारवाही अभियान सञ्चालन गर्ने विप्लव माओवादीले चेतावनी दिएको छ ।

लागूऔषध नियन्त्रण, मजदुरको उचित पारिश्रमिक, सुकुम्बासीबिरुद्ध हुँदै आएको दमन लगायतका बिरुद्ध कडारुपमा संघर्षका कार्यक्रम अगाडि बढाउने ब्यूरो इञ्चार्ज सीले जानकारी दिए ।

विप्लवका नेता तथा कार्यकर्तालाई आत्मनिर्भर बन्नका लागि कृषि, उद्योग र व्यवसायमा जोड्दै झापाका सबै पालिकामा न्यूनतम एक विगाह क्षेत्रफलमा खेती गर्ने, इलाममा अकबरे, चिया, अदुवाको खेती गर्ने र पाँचथरमा बाख्रापालन कार्यक्रमलाई अगाडि बढाउने जनाएको छ ।

विप्लव माओवादीले झापाका राजमार्ग क्षेत्रमा रहेका विभिन्न शहरहरुमा सी भान्साघर सञ्चालन गर्ने जनाएको छ । आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई व्यवसाय र कृषिमा समावेश गर्दै आत्मानिर्भरता बाटो अवलम्वन गर्ने जनाएको छ ।

त्यस्तै आगामी असोज २५ गते सी जातिको संस्कार अनुसार मृतकका आफन्तको सम्झनामा सडकमा निस्किएर देशव्यापी विशेष कार्यक्रम गर्ने जनाएको छ । विप्लव माओवादीले झापासहित इलाम र पाँचथर जिल्लाको इञ्चार्ज तथा सेक्रेटरीको जिम्मेवारी समेत बाँडफाँड गरेको छ ।

नेपालमा एमसीसी मार्फत् अमेरिकाले सेना उतार्ने तयारी गरेको र त्यसबिरुद्ध सबै एकजुट हुनुको विकल्प नरहेको ब्यूरो इञ्चार्ज सीले बताए । उनले दलहरुको यस्तै चाल रहे २०८४ को निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै स्टण्डबाजीका लागि मात्रै आफूहरुले काम नगरेको भन्दै जनताको जिविकोपार्जनका विषय र सवाल विल्लव माओवादीले मात्र उठान गरेको दाबी समेत गरेका छन् ।

उनले अब राजनीतिक दलहरु दुई कित्तामा विभाजन हुने भन्दै देशभक्त दल र नेताहरु एकजुट हुनुपर्ने पत्रकार सम्मेलनमा बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here