सर्प सङ्ग्रहालय र मोटरसाइकल स्वंयमसेवक बन्द

0
31

दमक,

दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा गतवर्ष आठ सय ५६ जनाले उपचार पाएका छन् ।

विसं २०५२ देखि सञ्चालनमा आएको सो केन्द्रबाट झापासहित इलामको दक्षिणी तथा पूर्वी मोरङका सर्प डसाइका बिरामीले उपचार पाउँदैआएका छन् । केन्द्रका सिनियर प्राविधिक खेम अधिकारीले आर्थिक वर्ष २०७९/८० को अवधिमा आठ सय ५६ जनाले उपचार सेवा पाएको जानकारी दिनुभयो । तीमध्ये १० प्रतिशत भने विषालु सर्पडसाइका रहेको पाइएको उहाँले जानकारी दिनुभयो । उपचार केन्द्रमा आएका बिरामी मध्ये गोमन, करेत तथा पिटभाइपर लगायत विषालु सर्पको डसाइको पाइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार वर्षायाममा बढी सर्प डसाइको घटना हुने र त्यसैबाट अकालमा मृत्यु हुने अवस्था भने विस्तारै हट्दै गएको छ । उहाँले भन्नुभयो, “सर्पले डसेपछि जतिछिटो अस्पताल तथा यस्ता उपचार केन्द्रमा लैजान सके शतप्रतिशत त्यस्ता बिरामीको उपचार सम्भव हुन्छ । ”

केन्द्रमा चालु वर्षको साउन महिनामा एक सय ७४ जना र भदौ १० गतेसम्म ३३ जनाले उपचार पाएको केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारीले बताउनुभयो । केन्द्रमा हाल ६ जना प्राविधिक स्वास्थ्यकर्मी उपचारमा संलग्न छन् । इन्चार्ज भण्डारीका अनुसार यस केन्द्रबाट बर्सेनि एक हजारका हाराहारीमा सर्पडसाई बिरामीले सहुलियत सुविधा पाउदैआएको छन् ।

केही वर्षयता सर्पडसाइको घटना उपचारका लागि आउने क्रम भने घट्दै गएको उहाँको भनाइ छ । जिल्लामा दमक र चारआलीमा भने नेपाली सेनाले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छ भने दुई वर्षदेखि जिल्लाकै कन्काईस्थित सुरुङ्गा कोटीहोममा पनि सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । उपचार केन्द्र दमकका पुराना प्राविधिकसमेत रहनुभएका इन्चार्ज भण्डारीले सबैभन्दा धेरै सर्पडसाइका बिरामी दमक र चारआलीमा आउने गरेको र त्यहाँ आउने सबैजसो उपचारपछि निको हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “हामीले आकस्मिकसँगै जटिल किसिमका सर्पडसाइका बिरामीलाई सघन उपचार कक्षमा भर्ना गरेर ज्यान बचाउने काम गर्दै आएका छौ ।” नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले सर्पडसाई उपचारका लागि सरकारले निःशुल्क स्नेक भेनम उपलव्ध गराउँदैआएको बताउनुभयो । सर्पडसाइबाट गाउँघर, ग्रामीण बस्तीका अति विपन्न मानिस बढी प्रभावित हुँदैआएको पाइएको छ ।

घाँसपात, दाउरा खोज्दा, कुखुरा तथा बङ्गुरपालन गरी दैनिकी गुजारा गरिआएका समुदायनै सर्पडसाइबाट प्रभावित हुँदैआएको सर्पडसाई केन्द्र दमकका प्राविधिक गङ्गाप्रसाद उप्रेतीले बताउनुभयो ।

यसैबीच, गौरीगञ्ज गाउँपालिकाले रेडक्रस दमक उपशाखासँग सम्झौता गरी आफ्नो पालिकाका सबैका लागि सर्पडसाइको निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । गाउउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा पालिकाले रु तीन लाख बजेट व्यवस्था गरिएको बताउनुभयो । गत वर्षदेखि सुरु भएको सो कार्यक्रमबाट पालिकाका नागरिकले सर्पडसाइको उपचार निःशुल्क पाउँदैआएका छन् ।

उपशाखाले सर्पडसाइसँगै रक्तसञ्चार सेवा पनि एकैसाथ सञ्चालन गरिआएको छ । यस्तै, रेडक्रस अभियानसँग जोडिएको नागरिकको स्वास्थ्य उपचारमा पहुँच बढाउन वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा सञ्चालित ‘किओएच बाल अस्पताल’लाई आफना भवन तीस वर्षका लागि निःशुल्क उपलव्ध गराएको छ ।

तीन महिनादेखि सञ्चालनमा आएको प्रदेशस्तरिय सो अस्पतालमा अहिले दैनिक दुई सय बढी बिरामी उपचार गर्न आउने गरेका छन् ।

सर्प सङ्ग्रहालय र मोटरसाइकल स्वंयमसेवक बन्द

स्थापना कालदेखि सर्पडसाइ उपचार सेवालाई थप प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले सुरुआत गरेको सर्प सङ्ग्रहालय बन्द भएको छ । सर्प सङ्ग्रहालयका लागि विभिन्न समयमा सङ्कलन गरिएका मरेका सर्पलाई व्यवस्थित रुपमा राख्न समस्या भएपछि सङ्ग्रहालय स्थापना कार्य बन्द गरिएको सभापति प्रकाश बुढाथोकीले बताउनुभयो ।

त्यहाँ सर्पडसाइ उपचार सेवा सुरुँंगै रेडक्रस उपशाखाले सर्प सङ्ग्रहालयको अवधारणा ल्याएको थियो । सङ्ग्रहालयमा करिब ५० बढी विषालु तथा अन्य सर्प सङ्ग्रहित थिए । ती सबै सर्प व्यवस्थापन गर्न समस्या भएपछि सर्प नष्ट गरिएको उहाँले बताउनुभयो ।

सर्पसम्बन्धी अध्ययन गर्न सघाउ पु¥याउने उद्देश्यले सुरु गरिएको सङ्ग्रहालय बन्दभएपछि सर्प अध्ययन र अवलोकन गर्न आउने सर्वसाधारण प्रभावित भएका सभापति बुढाथोकी बताउनुभयो । सर्पसम्बन्धी थप अध्ययन गर्न सकिने उद्देश्यले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा सङ्ग्रहालयको सुरुआत गरिएको थियो । सर्प डसाइको उपचार गर्नेस्थलमै सर्प सङ्ग्रहालयको अवधारणा व्यवहारिक रुपमा ल्याए पनि सम्बद्ध क्षेत्रबाट सहयोग नहुदा सङ्कलित सर्प नष्ट गर्न बाँध्य हुनुपरेको उहाँको दुःखेसो छ ।

सर्पले डस्नासाथ छिटोछरितो स्वास्थ्य संस्था, अस्पताल तथा उपचार केन्द्रसम्म बिरामी ओसार्न एम्बुलेन्सका रुपमा मोटरसाइकल स्वयमसेवक परिचालन गरिँदैआएको थियो । सर्प डसाइबाट अकालमै हुने मृत्युदर घटाउन सुरु गरिएको एम्बुलेन्सका विकल्पमा रुपमा मोटरसाइकल स्वमसेक परिचालनपछि जोखिमका मानिसलाई यस कार्यक्रम जीवन बचाउने बरदान झै बन्न पुगेको थियो ।

सभापति बुढाथोकीका अनुसार सर्प डसाइका बिरामीलाई उपचार केन्द्रसम्म छिटोछरितो ढङ्गले ल्याउन यी मोटरसाईकल आकस्मिक सवारी साधनका रुपमा प्रयोग हुदैआएका थिए । यसमा जिल्लाको गौरादह, गौरीगञ्ज, शिवसताक्षी, कन्काई , पूर्वी मोरङको उर्लावारी, मधुमल्ला, बयरबन, लेटाङ र इलामको दक्षिणी चुलाचुलीसम्मका अति प्रभावित क्षेत्रका करिब एक सयका हाराहारीमा स्थानीय मोटरसाईकल स्वयमसेवक परिचालन कार्यक्रममा आवद्ध थिए ।

ती मोटरसाइकल स्वयमसेवकले आफना गाउँघरका जुनसुकै बेला सर्प डसाइका बिरामी ओसार्न यो कार्यक्रमको मुख्य उद्देश्य थियो । उहाँले सर्पले डस्नासाथ अपनाउनुपर्ने उपायका बारेमा आवश्यकता अनुसार तालिम समेत दिदैआएको र यसले मृत्युदर घटाउन निकै सहयोग पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो,–“गाउँघरमा एम्बुलेन्स नहुने तथा सजिलै उपलव्ध हुने स्थानीय सवारी साधन मोटरसाइकललाई उपयोगमा ल्याउँदा सर्पडसाईका बिरामीले निकै राहत मात्र नभएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्थामा सफलता प्राप्त हुदैआएको थियो ।”

तर अहिले जोखिम क्षेत्र मानिएका स्थानीयवासीको घरघरमा मोटरसाइकल उपलव्ध हुदैगएपछि त्यस कार्यक्रम विस्तारै प्रभावित मात्र होइन बन्द नै गर्नुपर्ने अवस्था आएको सभापति बुढाथोकी बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here