पुस्तकालयबाट ई–लाइब्रेरीमा फड्को मारेको युग

1
50

पृष्ठभूमि :

‘पुस्तकालय’ शब्दको अर्थ आफैमा महत्वपूर्ण छ । संस्कृत भाषामा ‘पुस्तक’ र ‘आलय’ मिलेर पुस्तकालय शब्द बनेको हो । पुस्तकको अर्थ ‘किताब’ र ‘आलय’को अर्थ ‘घर’ हुन्छ । जसले पुस्तकालयलाई ‘किताबको घर’ भन्ने बुझाउँछ । अंग्रेजी भाषाको ष्दिचबचथ ल्याटिन भाषाको ष्दिभचबाट आएको हो । जसको अर्थ पनि पुस्तक हुन्छ । सूचना र प्रविधिको विकाससँगै पुस्तकालयमा पुस्तक मात्र संकलन गर्ने र रहने परम्परागत अवधारणामा परिवर्तन भएको छ । अहिले प्रायः सबै पुस्तकालयमा पुस्तकका अतिरिक्त सूचना प्रदान गर्ने सामग्रीहरूको समेत संग्रह रहेको पाइन्छ । समाजमा लिपिको आविष्कारसँगै क्रमिक रुपमा प्रकाशन युगको आरम्भ भयो । प्रकाशित सामग्रीहरू भावी पुस्ताका लागि संकलन र संरक्षण गर्ने कार्यको पनि थालनी भयो । त्यसको फलस्वरुप समाजमा पुस्तकालय स्थापनाको जग बस्यो । स्थापित पुस्तकालयहरू अध्ययन–अनुसन्धान गर्ने केन्द्रको रुपमा समेत रहे ।

विश्वभर ज्ञान सामग्रीहरूको सिर्जना जसरी बढ्दैछ । त्यसैगरी पुस्तकालयको महत्व पनि बढ्दै गएको छ । किनकि पुस्तकालय सभ्य, सु–संस्कृत र शिक्षित समाजको अभिन्न अंग हो, ज्ञानको भण्डार हो, मानव इतिहास, सभ्यता र संस्कृतिको पहिचान हो । हाल प्रविधिको विकास र विश्वव्यापी विस्तारसँगै पठन संस्कृतिमा आएको कमीले पुस्तकालयको महत्त्व कम भएको आभास भए पनि यथार्थमा पुस्तकालयको महत्व कहिल्यै कम हुन सक्दैन । सूचना प्रविधिबाट सतही सूचना मात्र थाहा पाइन्छ भने गहन र विस्तृत अध्ययनका लागि पुस्तकालय नै अपरिहार्य छ । सबै ठाउँमा पुस्तकालय नहुनु, भएका पुस्तकालयमा पनि सबै विधाका पठनीय पुस्तक नपाइनु र पठन संस्कृति समेत कम हुँदै जानुका कारण पाठकलाई पुस्तकालयले आकर्षण गर्न सकेको छैन ।

इतिहास :

नेपालमा पुस्तकालयको इतिहास धेरै लामो छैन । राजा पृथ्वीनारायण शाहले युद्धबाट काठमाडांै उपत्यका विजय गरेपश्चात नुवाकोट दरबार, गोर्खा दरबार लगायत जहाँ–जहाँ विजय हासिल गरे, त्यहाँका हस्तलिखित ग्रन्थहरू हनुमानढोकास्थित दरबारको पूजा कोठामा राखियो । यसरी ग्रन्थहरू संग्रह गरेको केही वर्षपछि त्यही पूजा कोठाले अघोषित राजकीय पुस्तकालयको दर्जा पायो । तिनै हस्तलिखित ग्रन्थहरूको संरक्षण गर्ने प्रबन्ध मिलाउन १८६९ साल भदौ १५ गतेका दिन राजा श्री ५ गीर्वाणयुद्ध बिक्रम शाहको पालामा ‘पुस्तक चिताइ तहबिल’ भनी लालमोहर जारी भएको इतिहास छ । ‘चिताइ’को अर्थ ‘रेखदेख’ र ‘तहबिल’को अर्थ ढुकुटी संग्रह भनिएको पाइन्छ । सोही तहबिललाई नै कानूनी मान्यता प्राप्त नेपालको पहिलो पुस्तकालय मानिन्छ । नेपालमा पुस्तकालयको स्थापना भएको सोही ऐतिहासिक दिनको सम्मान गर्दै नेपालमा २०६५ साल भदौ १५ गतेबाट हरेक वर्ष भदौ १५ गते ‘पुस्तकालय दिवस’ मनाउने गरिन्छ ।

त्यसरी पहिलो पटक हनुमानढोकामा संग्रहित ती पुस्तकहरू श्री ३ जंगबहादुर राणाले विक्रम सम्वत् १९०४ मा थापाथली दरबारको जैसी कोठामा, वीर शमशेरले १९५३ सालमा दरबार स्कूलमा, १९५७ सालमा घण्टाघरमा सारिएपछि वीर पुस्तकालय नामाकरण गरिएको अभिलेख पाइन्छ । त्यसपछि लगत्तै १९५७ साल फागुन १५ गते देव शम्शेरले सो पुस्तकालय सर्वसाधारणका लागि पनि खुल्ला भएको पहिलो पटक घोषणा गरेका थिए । निरंकुश शासक राणाहरूले १९८६ सालमा सामुदायिक पुस्तकालय खोलेको अभियोगमा महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायत ४६ जनालाई देशद्रोहको आरोप लगाई जनही सय रुपैयाँ जरिवाना गराएको पनि इतिहासमा उल्लेख छ । चन्द्र शमशेरले फेरि पुस्तकालयमा सर्वसाधारणको प्रवेश निषेध गरेको इतिहास भए पनि राणाहरूको शासनकालमै (२००७ साल अगावै) राणाहरूले आफ्नो निजी प्रयोजनका लागि वीर पुस्तकालय, केशर पुस्तकालय, सिंह पुस्तकालय आदि खोलेका पाइन्छन् ।

विरासत :

२००७ साल फागुन ७ को राजनीतिक परिवर्तनपछि मात्रै नेपालमा सर्वसाधारण जनताले पुस्तकालय खोल्न र खोलिएका पुस्तकालयमा प्रवेश पाएको पाइन्छ । पछि, २०२४ सालतिर ती पठन सामग्रीहरूलाई पुनः रामशाह पथमा सारिएपछिको नाम ‘राष्ट्रिय अभिलेखालय’ भएको छ । त्यसपछिको लामो कालखण्ड पार गरी २०६४ सालमा सरकारले पारित गरेको पुस्तकालय तथा सूचना सेवा नीतिमा ‘सरकारी वा गैरसरकारी संस्थाको संयुक्त सहयोगमा सबै विद्यालयहरू, गाविसहरू र नगरपालिकाहरूमा सार्वजनिक पुस्तकालय स्थापना र सञ्चालन गर्ने अवधारणा थियो । त्यो अवधारणामै सीमित रहेको अवस्थामा नेपालको नयाँ संविधान–२०७२ को भाग ४ को धारा ५१ को उपधारा (ज ४) मा समेत नागरिकहरूको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र तथा पुस्तकालय स्थापना गर्ने कुरा उल्लेख भए पनि तद्नुरुप काम भने हुन सकेन ।

नेपालमा विद्यमान पुस्तकालय :

पूर्ण सरकारी स्वामित्व भएको नेपालको पुस्तकालय ‘नेपाल राष्ट्रिय पुस्तकालय’को स्थापना २०१३ सालमा भएको हो । यो ललितपुर जिल्लाको पुल्चोकस्थित हरिहर भवनमा छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पले भौतिक क्षति पुगेको यस पुस्तकालयमा विभिन्न विधाका गरी लगभग डेढ लाख पुस्तकहरू छन्, भनिन्छ । नेपाल सरकारलाई दान प्राप्त भएको केशर पुस्तकालय र डिल्लीरमण–कल्याण रेग्मी स्मारक पुस्तकालय पनि नेपाल सरकारकै स्वामित्व रहेका पुस्तकालयहरू हुन् । यसका अलावा केही मन्त्रालय र विभागमा पनि सरकारी पुस्तकालयहरू रहेका छन्, जसलाई भने सरकारले नियमित बजेटको व्यवस्था गरिरहेको पाइन्छ ।

शैक्षिक पुस्तकालय :

विद्यालय वा शैक्षिक प्रतिष्ठानमा रहेका पुस्तकालयलाई ‘शैक्षिक पुस्तकालय’ भनिन्छ । शैक्षिक पुस्तकालयहरू पनि तीन प्रकारका हुन्छन्– विद्यालय पुस्तकालय, महाविद्यालय पुस्तकालय र विश्वविद्यालय पुस्तकालय । त्यस्ता पुस्तकालयमा विशेष गरेर ती तीनै तहका सम्बन्धित पाठ्यसामग्रीहरू राखिएका हुन्छन् । हाल नेपालका सबैजसो उच्च माविहरू, क्याम्पसहरू, विश्वविद्यालयहरू र शैक्षिक प्रतिष्ठानहरूमा शैक्षिक पुस्तकालयहरू स्थापना गरिएका छन् ।

सामुदायिक पुस्तकालय :

स्थानीय जनताले चन्दा उठाएर, कुनै समाजसेवी वा व्यक्ति विशेषले, सामुदायिक संघ–संस्थाले, गैरसरकारी संघ–संस्थाले वा अन्तर्राष्ट्रिय संघ–संस्था आदिबाट स्थापित वा सञ्चालित पुस्तकालयलाई ‘सामुदायिक पुस्तकालय’ भन्ने गरिन्छ । सामुदायिक पुस्तकालयमा उपस्थित भएर आफ्नो रुचि अनुसारका पुस्तक र पत्रपत्रिकाहरू पढ्न पाउने व्यवस्था मिलाइएको हुन्छ । ती पुस्तकालयमा सदस्यता लिएर वा निश्चित शुल्क तिरेर आवधिक रुपमा पुस्तकादि घर लगेर पढ्ने सहुलियत पनि हुने गर्दछ । सरकारबाट यदाकदा र केही सीमितलाई मात्रै सरकारी अनुदान प्राप्त हुने यस्ता सामुदायिक पुस्तकालय लगभग एक हजारको संख्यामा रहेको अनुमान गरिन्छ । नेपालको इतिहासमा विश्वेश्वरप्रसाद कोइराला र मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला चाहिँ सार्वजनिक पुस्तकालयको लागि बजेट नै छुट्याइएको पाइन्छ ।

सामुदायिक पुस्तकालयको प्रमुख महत्व भनेको किशोर र युवाहरूलाई कुलतबाट जोगाउनु हो । उनीहरूलाई कुसंगत र कुलतबाट टाढा राख्न तथा विद्यालय तहका पुस्तक बाहेक सांसारिक ज्ञानगुन, वैश्विक आविष्कार, प्रविधि, विज्ञान, पर्यावरण, भूगोल, इतिहास आदिको जानकारीमूलक पुस्तक पढेर समयको सदुपयोग गर्न प्रेरित गर्नु हो । त्यसैगरी, शिक्षित बेरोजगार युवाहरूलाई विभिन्न समयमा खोलिने सरकारी वा गैरसरकारीे निकायका रिक्त दरबन्दीहरूमा भर्ना हुने सम्बन्धी सूचनाकोे जानकारी पनि पुस्तकालयमा आउने पत्रपत्रिकाहरूबाट हुन्छ । सामुदायिक पुस्तकालय विभिन्न व्यक्तिहरूसँग चिनजान गर्ने पनि उपयुक्त स्थल हो ।

विशिष्ट पुस्तकालय :

कुनै विशेष क्षेत्र, विधा, भाषा, माध्यम वा पाठकसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका लगायतका पठन सामग्रीहरू संग्रहित पुस्तकालयलाई ‘विशेष वा विशिष्ट पुस्तकालय’ भनिन्छ । जस्तैः मदन पुरस्कार पुस्तकालय, कारागार पुस्तकालय, राष्ट्रिय ब्रेल पुस्तकालय इत्यादि ।

परम्परागत पुस्तकालय :

हामीकहाँ १९५० देखि १९६० को बीचमा विभिन्न स्थानमा सार्वजनिक पुस्तकालयको स्थापना भए । सन् १९९० मा निरंकुश राजतन्त्रको अन्त्यसँगै पुनः सामुदायिक पुस्तकालयहरूले गति लिन थाले । यद्यपि नेपालमा हालसम्म पनि पुस्तकालय सम्बन्धी आवश्यक नीति र नियम अनुगमन गर्ने सरकारी निकाय नभएकाले देशभर कति पुस्तकालय छन् र पुस्तकालयको अवस्था कस्तो छ भन्ने तथ्यांक छैन । हाम्रो देशमा भएका अधिकांश पुस्तकालय परम्परागत पुस्तकालय नै हुन् । जहाँ पुस्तकहरूका अतिरिक्त विभिन्न पत्रपत्रिकाहरू हुन्छन् । पुस्तकालयमा भएका पुस्तक तथा पत्रपत्रिका त्यहीँ बसेर पढ्ने अथवा सम्बन्धित पुस्तकालयको नियम अनुसार निश्चित समयका लागि घर लगेर पढ्ने सुविधा हुन्छ ।

अहिले पनि ग्रामीण क्षेत्रका धेरै पुस्तकालयमा पुस्तकको सूची (अबतबयिनगभ) पनि कागज–कार्डमा बनाइएको हुन्छ । स्कूल, कलेज तथा क्याम्पसहरूले सञ्चालन गरेका पुस्तकालय समय अनुसार केही परिवर्तन भए पनि अधिकांश सामुदायिक पुस्तकालयको अवस्था उस्तै छ । मुलुक संघीयतामा गएको लामो समय बिते पनि स्थानीय सरकारहरूले समेत पुस्तकालयका लागि बजेट विनियोजन गर्न र पठन संस्कृतिलाई बढावा दिन पुस्तकालयको नवस्थापना तथा पहिल्यैदेखि भएका पुस्तकालयको सुसञ्चालन बारेमा ठोस निर्णय गर्न सकेका छैनन् । त्यसले गर्दा भएका पुस्तकालय पनि स्याहारविहीन भई जीर्ण बन्दै गएका छन् । यस अवस्थामा तीन तहकै सरकारले पुस्तकालयका बारेमा ठोस नीति बनाएर सामुुदायिक पुस्तकालयको संरक्षणमा जुट्नु पर्ने आवाज उठिरहेको छ ।

त्रिवि केन्द्रीय पुस्तकालय :

नेपालमा पुस्तकालयको इतिहास केलाउँदा नेपालकै ठूलो पुस्तकालयका रुपमा परिचित त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको बारेमा चर्चा गरिनु आवश्यक हुन्छ । यो पुस्तकालयको स्थापना सन् १९५९ मा भएको थियो । करिब एक हजार दुई सय पुस्तक भण्डारण गरी शुरु भएको यो पुस्तकालयमा हाल चार लाख ३० हजारभन्दा बढी पुस्तक संग्रहित छन् । पुस्तकालयमा संकलित पुस्तक, ठूलो भवनमा त्यसले चर्चेको भू–भागका कारण यो पुस्तकालयले देशकै ठूलो पुस्तकालयको गौरव हासिल गरेको छ । यो पुस्तकालय भवन २०७२ सालको भूकम्पका कारण कमजोर स्थितिमा छ । हाल पुस्तकालयको नयाँ भवन निर्माण भएको छ । शैक्षिक गुणस्तरमा अन्तर्राष्ट्रिय क्षेत्रसँग प्रतिस्पर्धा गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ समयको माग अनुसार त्रिविले केन्द्रीय पुस्तकालय लगायत आंगिक क्याम्पसहरूमा समेत ई–लाइब्रेरी सञ्चालनमा ल्याएको छ ।

कोभिड–१९ को प्रभाव र ई–लाइब्रेरीको उपादेयता :

सन् २०२० को जनवरीदेखि विश्वभरि नै महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट संक्रमण हुन नदिन विश्वका अधिकांश देशहरूले गरेको लकडाउनमा शैक्षिक संस्था र पुस्तकालय पनि बन्द भए । त्यही समयमा इन्टरनेटका माध्यमबाट अनलाइन शिक्षालाई प्राथमिकता दिइएको थियो । विभिन्न विद्यालय र कलेजले अनलाइनबाट पठनपाठन गरे । यद्यपि अन्लाइन शिक्षा त्यसबेलाको विकल्प त भयो, तर, सबैका निम्ति पहुँचयोग्य शुलभ हुन सकेको थिएन । त्यसयता पनि शैक्षिक संस्थाहरूले अनलाइन शिक्षाको मोडल विकास गरिरहेका छन् । सूचना र प्रविधिको विकाससँगै (डिजिटल÷भर्चुअल लाइबे्ररी) र घुम्ती पुस्तकालय (सवारीसाधनमा पुस्तक राखी डुलाउने प्रविधि) मोबाइल लाइब्रेरीको विकासले गर्दा प्रयोगकर्ताले चाहेको समयमा आफ्नै हातमा सूचना उपलब्ध हुन सक्ने समयको विकास भएको छ । यो ई–लाइब्रेरीको विशिष्टतम उपादेयता हो ।

प्रविधिमैत्री पुस्तकालय अर्थात् ई–लाइब्रेरी

पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्प्युटर, ल्याप्टप, आइप्याड, ट्याब्लेट, किन्डल र मोबाइल) को प्रयोगबाट पुस्तकलाई पढ्न सकिने प्रणालीलाई नै विद्युतीय पुस्तकालय हुन् । ई–लाइब्रेरी भनेको दूरशिक्षाको एक रुप हो, जुुन इन्टरनेटका माध्यमबाट आफूलाई पायक पर्ने ठाउँमा बसेर पठनपाठन गर्न सकिन्छ । ई–लाइब्रेरीसँग सम्बन्धित धेरै तर्कहरू नभएका होइनन् । तर, आजको उन्नत प्रविधिको युगमा यो एक महत्वपूर्ण चर्चाको विषय बनेको छ । एकै ठाउँमा बसेर संसारभरका विश्वविद्यालयहरूका उपलब्ध पुस्तक सामग्री अध्ययन गर्न सकिन्छ ।

यस्तो प्रविधियुक्त अन्लाइन पुस्तकालयका पाठ्य सामग्रीहरू सहज र पहुँचयोग्य छन् । सञ्चारजन्य विकसित प्रविधिलाई उपयोग गर्न सकियो भने ग्रामीण र दुर्गम क्षेत्रमा पनि यसको पहुँच पुग्न सक्छ । ई–लाइब्रेरी पद्धति अपेक्षाकृत रुपमा सस्तो पनि हुन्छ । परम्परागत पुस्तकालयमा हुने खर्च (जस्तै ः पुस्तकहरूको लागत, भण्डारण, यातायात, आवास, शिक्षक, सहयोगी मानव स्रोत) भन्दा कम लागतमा अन्लाइन नै पुस्तक उपलब्ध हुने सहजता यसको अर्को मितव्ययी र समय पनि कम लाग्ने चाखलाग्दो पक्ष हो । कुनै पनि पाठक वा अनुसन्धाता वा शोधकर्ताले सहज तरिकाले ई–लाइब्रेरीमा कोर्ष गर्न र आफ्नो समय तालिका अनुसार योजना गर्न र अध्ययन गर्न पाउने सुविधा हुन्छ ।

प्रविधिमैत्री भएर फेस–टु–फेस तथा प्रत्यक्ष (भर्चुअल) कक्षा र अनुसन्धानको संयोजनले आज ल्फिप कक्षा तथा मिश्रित शिक्षा प्रणालीलाई जन्म दिएको छ । यसप्रकार ई–लाइब्रेरीको विकासले शिक्षा आर्जन गर्ने वातावरणको सहजतासँगै पाठकको सिक्ने क्षमता समेत बढाउने विज्ञहरूले बताउने गरेका छन् । सूचना र प्रविधिको विकाससँगैे समय वदलिएको छ । समय अनुसार पठन संस्कृति पनि बद्लिएको छ । भौतिक पुस्तकालयमा प्रत्यक्ष पहुच र समय नहुने, तर अनलाइनमा बसेर पढ्न चाहनेहरुको लागी ई–लाइब्रेरी उपयोगि र भरपर्दो मानिन्छ । यसमाइ–पुस्तकहरु, अडियो, भिडियो, शैक्षिक पत्रहरु, पत्रिकाहरु, ई–जर्नल सहित डिजिटल सामग्रीहरुको अध्ययन गर्न सकिन्छ ।

पाठकले कुनै पनि इन्टरनेट जडित उपकरणहरुलाई आफ्नो समयानुकूल, ठाउँ अनुकूल पढ्न सक्छन् । यसमा आफूले चाहे जस्तो खोज गर्न, शिर्षक र लेखहरुको विषय थाहा हुने बित्तिकै खोजी गर्न अनुमति इन्टरनेटले दिन्छ र पाठकले दिएको कमाण्ड अनुसार तथ्य डिस्प्ले गर्ने गर्दछ । यसको अर्को राम्रो र रोचक पक्ष भनेको उद्यारोमा पढ्न दिने हो । इन्टरनेटले केही समयका लागी डिजीटल अध्ययन अनुसन्धानका लागि सामग्री उपलब्ध गराउने गर्दछ । जसमा पाठकले पढ्नका लागि फन्ट साइज, पृष्ठभूमि रंग र अन्य जुनसुकै तरिकाले पनि खोज गर्न सक्ने व्यवस्था छ ।

ई–लाइब्रेरीमा भएका कुनै पनि सामग्री अध्ययन गरि सकेपछि उपयोगि ठहरिएमा भविष्यमा खोज्न सजिलो होस भनि बुकमार्क गरेर राख्ने व्यवस्था पनि हुन्छ । शैक्षिक संस्थाका पुस्तकालय, सार्वजनिक पुस्तकालय लगायतका पुस्तकालयका लागि ई–लाइब्रेरी आवश्यक सावित भइसकेको छ । पुस्तक, पत्रिका लगायत कुनै पनि किसिमका परम्परागत कागजी सामग्री ई–लाइब्रेरीमा पाइँदैन । ई–लाइब्रेरीमा संसारलाई जोड्ने इन्टरनेटको माध्यमबाट प्राप्त हुने डिजिटल अध्ययन सामग्रीहरु पाइन्छन् । पाठकहरुले कम्प्युटरबाट पुस्तकालयको ई–रिसोर्सेस डाटावेशमा भण्डारण भएका ई–बुक्स, ई– जर्नल, ई–म्यागजिन, ई–न्युजपेपर आदिको अध्ययन गर्न सक्छन ।

यसमा डिभीडि रोममा राखिएका सूचना सामग्रीहरु अध्ययन गर्न सक्छन । कसैको पनि आफ्नो घरवाट प्राप्त हुन नसक्ने श्रव्यदृश्यका शैक्षिक र सूचनामूलक कार्यक्रम हेर्न सुन्न सक्छन् । ई–लाइब्रेरीविशेष गरी शैक्षिक संस्थाहरुमा स्थापना गर्ने गरिएको छ । ताकि त्यहाँँका विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्ताहरुले त्यहीबाट आफनो शैक्षिक आवश्यकता पूरा गर्न सक्छन । यस्ता शैक्षिक संस्थाहरुले अन्तर्राष्ट्रिय डाटावेशहरु पनि खरिद गर्ने र सब्सक्रइब्स गरेका छन् । यसले आफ्ना विद्यार्थी शिक्षक र अनुसन्धान कर्ताहरुलाई शैक्षिक स्रोत सामग्रीको अभाव महशुस नहोस भन्ने अपेक्षा हुन्छ । नविनतम् ज्ञानलाई इन्टरनेट प्रयोग गरेर वा नगरेर कम्प्युटर वा स्मार्टफोनको माध्यमद्वारा हेर्न, सुन्न वा पढ्न सकिने गरी व्यवस्थित गरिएका पुस्तकालयहरूलाई ई–लाइब्रेरी अर्थात् विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ ।

हाल बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढिरहेको हो । पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले हिजोको क्ले–टयाब्लेट (माटोमा चित्रात्मक संकेत दिने समय)देखि आजको ई–ट्याब्लेट (सूचना प्रविधिको समय)सम्मको अवस्थालाई तुलना गर्दा पुस्तकालयको परिभाषा नै परिवर्तन भएको पाइन्छ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै कोठाभित्र किताबहरूको संग्रह गरेर राखिने स्थायी प्रकृतिको पुस्तकालयको मात्र अस्तित्व रहन्छ भन्ने आम धारणामा समेत परिवर्तन आएको छ ।

इन्टरनेटको माध्यमबाट ज्ञान र सूचना सस्तो, सुलभ र शीघ्र आदानप्रदान हुने सजिलो माध्यम भएको हुनाले संसारमा द्रूतगतिमा ई–लाईब्रेरीहरू स्थापना हुने क्रम जारी छ । इन्टरनेटमा एउटा किताबलाई धेरै जनाले पढ्न सक्ने भएकाले पनि यसको प्रयोग बढेको हुनु पर्छ । पुस्तकालय चहारिरहने झन्झटबाट मुक्त हुने र जुनसुकै बेला आफूले चाहेको पुस्तक वा सूचना विद्युतीय माध्यमबाट पढ्न सकिने भएकाले ई–लाइब्रेरी दिन–प्रतिदिन लोकप्रिय बन्दै गइरहेको छ । अहिले संसारमा भएको जुनसुकै देशको भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, रहनसहन, खानपान लगायतका विविधता इन्टरनेटमा सजिलै हेर्न, सुन्न र पढ्न सकिन्छ । जुन सहजता ई–लाइब्रेरीमा पनि हुन्छ । बजारमा पाउन छाडिएका पुस्तक र पाठकलाई चाहिएको सन्दर्भ सामग्री सहजै पाउन सकिने भएकोले पनि ई–लाइब्रेरीको लोकप्रियता बढेको छ ।

यसरी प्रविधिले तीव्र रुपमा फड्को मारेसँगै अध्ययन गर्न सकिने मात्र होइन, सुन्न र स्पर्शद्वारा पढ्न सकिने विद्युतीय प्रविधिमा आधारित पुस्तक समेत तयार भएका छन् । विद्युतीय प्रविधिमा आधारित सूचना सामग्रीहरूको आविष्कारले हरेक ज्ञानबद्र्धक सामग्रीहरू सहज रुपमा प्राप्त गर्न, अध्ययन÷श्रवण र भण्डारण गर्न सहज भएको छ । इन्टरनेटको प्रयोगले सिङ्गो संसार एउटै परिवारमा परिणत भएको छ । ई–लाइब्रेरीको विकास र विस्तारले पाठकले चाहेको समयमा इन्टरनेट उपलब्ध जुनसुकै ठाउँमा पढ्न सक्ने वातावरणकोे विकास गरेको छ । जसले पाठकहरूलाई नयाँ–नयाँ जानकारी लिन, ज्ञान आर्जन गर्न, एकअर्काका अनुभव एवम् भोगाइ बताउन, सीप सिक्न र आफ्नो क्षमता विकास गर्न प्रेरित गराएको छ । यसैले आजको प्रविधि उन्नत विश्वमा ई–लाइब्रेरी अनिवार्य आवश्यकता भइसकेको छ ।

1 COMMENT

  1. बधाई छ पुजन मेडम। सरसर्ती पढदा लेख राम्रो लाग्यो। पुस्तकालयको इतिहास देखि बर्तमान सम्मका बिकासक्रम साथै नेपालमा पुस्तकालयको संस्थागत विकासको चर्चा पनि ।लेखन निरन्तरताको लागि सुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here