इटहरीको मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे इ–रिक्सा चलाउन निषेध

0
24

इनरुवा (सुनसरी),

 

सुनसरीको इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीनपाङ्ग्रे इ–रिक्सा चलाउन नदिने भएको छ ।

इटहरीमा सिटी सफारीका कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा आइतबारदेखि तीनपाङ्ग्रे इ–रिक्सा चलाउन रोक लगाइएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।

इटहरी उपमहानगरपालिकामा दर्ता भएका सफारीमात्र उपमहानगरपालिकाभित्र चलाउन दिने पनि निर्णय भएको उहाँले जानकारी दिनुभयो । बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको उपमहानगर प्रमुख पौडेलले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्वबीच सहमति गरेर यस्तो निर्णय भएको उहाँले बताउनुभयो । अबदेखि सिटी सफारी मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभावी यात्रु चढाउन तथा ओराल्न रोक लगाइएको उहाँले बताउनुभयो ।

इटहरीको मुख्य चोक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकामा सफारीले थप असहज पारेको भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय कोशी प्रदेशका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालले जानकारी दिनुभयो ।

अहिले उपमहानगरपालिकाले नै सफारी दर्ता गर्दै आएको छ । अहिले इ–रिक्सा सवारी कार्यविधिअनुसार मात्र दर्ता गरी चलाउन पाइने भएको छ । इटहरीमा अन्य पालिकाको सफारी यात्रु पर्खेर बस्न नपाउने जनाएको छ । कार्यविधिअनुसार व्यवस्थित गर्दै इ–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ ।

इ–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने उपमहानगरले जनाएको छ । इटहरीभित्र करिब पाँच हजार सफारी सञ्चालनमा रहेको र इटहरीमा केवल एक हजार एक सय सफारीमात्र दर्ता प्रक्रियामा आएको इटहरी उपमहानगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here