संकटमा पुस्तकालय

0
14

शिक्षालाई मानव विकासको प्रमुख आधार मानिन्छ । शिक्षामा गुणस्तरीयता प्रदान गर्न पुस्तकालयको भूमिका हुन्छ । पुस्तकालय पुस्तकको त्यस्तो घर हो, जहाँ बिना भेदभाव सेवापेक्षीलाई उनीहरुको माग र आवश्यकताका आधारमा सूचना प्राप्त गर्न सकिन्छ । पुस्तकालयबाट लैङ्गिक, वर्गीय, जातीय वा धार्मिक विभेदमुक्त ज्ञान, चेतना र जीवनोपयोगी सिकाइ पाइन्छ, त्यसैले पुस्तकालयलाई खुल्ला विश्वविद्यालय पनि भन्ने गरिएको छ । नेपालमा पुस्तकालयको स्थापनाको श्रेय राजा गीर्वाणयुद्धविक्रम शाहलाई छ । उनले दुई सय एघार वर्षअघि ऐसितहासिक दस्तावेजमा लालमोहर जारी गरेका थिए । त्यही वर्षको भदौ १५ गतेलाई पुस्तकालय स्थापनाको दिन मानेर वि.सं. २०६५ देखि पुस्तकालय दिवस मनाउन थालिएको हो । त्यसयता विभिन्न कालखण्डमा विभिन्न नाममा पुस्तकालय खुले पनि, तर अहिले केही बाहेक सबै अस्तित्व रक्षाको जोखिममा छन् ।

भोजपुरमा पचहत्तर वर्षअघि स्थापित श्रीराम अमर शहीद पुस्तकालय इतिहास बन्दै गएको समाचार सार्वजनिक भएको छ । यस्तो अवस्था पूर्वी नेपालका अपवाद बाहेक सबैले भोग्दैछन् । यसो हुनुका पछि पछिल्लो समय भएको सूचना प्रविधिको विकास मुख्य हो । इन्टरनेटको विकासले पठन संस्कृति हराउँदै गएको छ । प्रविधिको बढ्दो प्रयोग, पहुँच र सामाजिक सञ्जालका कारण पठन संस्कृति हराएको छ । अहिलेको पुस्तामा ज्ञान, सिप र क्षमता आर्जन गर्नेभन्दा मनोरञ्जनका साधनमै अलमलिने प्रवृत्ति बढेका कारण जसोतसो सञ्चालनमा रहेका पुस्तकालयहरु पनि सुनसान हुन थालेका हुन् । पुस्तकालय बौद्धिक खुराकको थलो हो, जसले खोज–अनुसन्धान गर्ने आधार तयार गर्छ । त्यसका लागि अध्ययन चाहिन्छ, जसले ज्ञानको सीमालाई व्यापक गर्दै समाजलाई सभ्य, सुसंस्कृत र परिस्कृत बनाउँछ ।

झापामा पनि पुस्तकालय स्थापनाको इतिहास पुरानै छ । भद्रपुरमा स्थापित भद्रपुर पुस्तकालय धेरै समयदेखि सञ्चालनमा छैन । आफ्नो भवनमा सुविधासम्पन्न उक्त पुस्तकालय जिल्लाकै गौरव मानिन्थ्यो । सदस्य बन्न, कुनै पुस्तक पाउन पालो कुर्नु पथ्र्यो । स्थानीय अग्रजदेखि युवा पुस्ताका व्यक्तित्वहरु पुस्तकालयको श्रीवृद्धिमा सक्रिय हुन्थे । त्यसैगरी तत्कालीन अनारमनीको बिर्ता बजारमा स्थापित दुर्गा पुस्तकालय स्थानीयको अग्रसरता र सक्रियतामा आफ्नै जमिन र भवनमा सञ्चालित थियो । आज त्यो पनि अस्तित्व नै गुमाएर इतिहासको पानाबाट पनि हराइसकेको छ । पछिल्लो समय धुलाबारीमा स्थापित त्रिफला राष्ट्रिय पुस्तकालय मात्र एउटा पुस्तकालय छ, जसले विभिन्न गतिविधि मार्फत आफ्नो धर्मको निर्वाह गरिरहेको छ । त्यसो हुनुमा संस्थापक सदस्यमध्येका फलाहारी उपनामका प्रेमप्रकाश पोखरेलको सेवा, त्याग र अविच्छिन्न योगदानको भूमिका छ । देश–देशसम्म प्रतिष्ठा आर्जन गरेको त्यही पुस्तकालयले अहिले झापाको प्रतिनिधित्व गरिरहेको छ । खुल्ला विश्वविद्यालय भनिने यस्ता धरोहरको अस्मिताको रक्षा गर्न, बालबालिकालाई पठन संस्कृतितर्फ आकृष्ट गर्न, पाठ्यक्रम, वातावरण र पहल राज्यले गर्नुपर्छ । त्यसले मात्र हाम्रो मौलिकताको संरक्षण गर्दै ज्ञान, सिप, सामथ्र्यसहितको भविष्य निर्माण गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here