चोरको उपद्रोः गौतमको घरमा दहीच्यूरा खाँदै चोरी

0
13

झापा । 

बिर्तामोड–२ रामचौक निवासी तिला र उनका श्रीमान गोविन्द गौतम शुक्रवार अपरान्ह काम विशेषले दमक गए । उनीहरु दमक गएको मौका छोप्दै यता उनीहरुको घरमा भने चोरले डेरा जमाएर सर्वश्व लिएर गएको घटना सार्वजनिक भएको छ ।

बिर्तामोड नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेकी तिलाले बिहानैबाट घर छाडेकी थिइन् । बिर्तामोड नगरपालिकामा सामाजिक विकास समितिको नियमित बैठकमा सहभागी हुन उनी बिहानै घरबाट हिँडेकी थिइन् । सामाजिक विकास समितिको बैठक सम्पन्न गरेर उनी वडा कार्यालय आइन् । त्यसपछि उनी अपरान्ह ३ वजेतिर श्रीमान् गोविन्दसंग दमक लागिन् । शुक्रवार राति उनीहरु दमकमा आफन्तकोमा बसे ।

यता उनीहरुको घरमा भने शुक्रवारराति नै चोरी भएको छ । चोर पनि कस्ता ? चोरी गर्न आएका व्यक्तिले गौतमको घरमा भएको जायजेथा मात्रै लगेनन् सामान चोर्नु अघि घरमा रहेको दहीच्यूरा खाएर तीज मनाए सरह नै रात बिताए । उनीहरुले दहीच्यूरा मात्रै खाएनन् जीवनजल पानी समेत बनाएर खान भ्याए । दहीच्यूरा एउटा थालमा मुछेर छाडेको र अन्य केही थाल जुठै रहेकाले धेरै जना मिलेर चोरेको गौतम दम्पत्तिको अनुमान छ ।

चोरले गौतमको चारकोठे एक तले घरमा राखिएको सबै सामग्री एक–एक गर्दै लगेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । गौतमकै घरमा रातभर बसेर चोरले सामान छानी–छानी चोरेको देखिन्छ– इलाका प्रहरी कार्यालय अनारमनीका एक प्रहरी अधिकृत भन्छन्– हामीले चोरी भएको घरको स्थलगत निरीक्षण र मुचुल्का तयार गरेका छौं । के कति क्षति पु¥याए सबै थाह हुन बाँकी छ तर चार वटै कोठामा राखिएका महत्वपूर्ण सबै सामग्री चोरी गरेको देखिन्छ ।

शनिवार विहान गौतमको घर खुल्ला देखेपछि छिमेकीले गौतम दम्पत्तिलाई खबर गरेका थिए । छिमेकीको खबरपछि हतारिँदै आएका गौतम दम्पत्ति अहिले रुनु न हाँस्नुको अवस्थामा छन् । नहुन् पनि किन ? घरमा दुई÷दुई वटा ताला लगाउँदा पनि चोरले ताला फुटाएर घरमा रहेका भाडा वर्तनसम्म चोरेर लगेपछि । गौतम दम्पत्ति अहिले छिमेकी र आफन्तमाझ रुन्चे हाँसोमा उत्तर दिँदै भन्छन्– पानी खाने लोटासम्म बाँकी नराखी चोरेर लगेछन् ।

चोरी गर्न आउने व्यक्तिले राम्रा÷राम्रा सबैखाले भाँडावर्तनसहित नगद, सुनचाँदी र गरगहना लटीपटी पारेछन् । चोरले नगद झण्डै दुई लाख रुपैयाँ (भारुसहित), दुई तोला सुन, चाँदीका विभिन्न गरगहना, चाँदीकै शिवजीको प्रतिमा, चाँदीकौ करुवा, चाँदीकै लोटा आदि लगेछन् । मन्दिरमा राखिएको चाँदीको कलश र प्रतिमासम्म चोर्नु भनेको कतिसम्म गरेछन् भन्न सक्ने अवस्था छैन– तिलाले भनिन् ।

भाँडावर्तनमा सबैभन्दा धेरै झर्के थाल (१५ वटाभन्दा बढी), लोटा, कलश, करुवासहितका अन्य भाँडाबर्तन चोरी भएको छ– तिलाले भनिन्– बाँकी केही राखेनछ, चोरले हामीलाई बसाइँ सर्दा छाडेको घर कस्तो हुन्छ, त्यस्तै बनायो । घरबाट अरु के कति सामान चोरी भयो त्यसको विवरण तयार गरेर प्रहरीलाई जानकारी गराउने गौतम दम्पत्तिले बताएका छन् ।

गौतमको घरमा चोरी भएको सूचना पाए लगत्तै पुगेको प्रहरीको टोलीले घटनाको सूक्ष्म रुपमा अनुसन्धान अघि बढाएको जनाएको छ । इलाका प्रहरी अनारमनीले सादा पोशाकमा प्रहरी खटाएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here