तीज संस्कृति कि विकृति

0
15

नेपालमा वर्षभरि नै विभिन्न चाड–पर्व मनाउँछौं । ती विभिन्न चाड–पर्वमध्ये तीज पर्व पनि एक हो । तीज हिन्दू नारीको महत्वपूर्ण चाड हो । नेपाली महिलाहरुले मनाउने तीन पर्व अब सबै जातजातिका महिलाहरुको साझा पर्व भइसकेको छ । तीज पर्वलाई हरितालिका, हरियाली तीजको नामले पनि बुझिन्छ । यो पर्व नेपाल भारत लगायत हिन्दूहरु बसोबास भएको अन्य मुलुकमा समेत मनाइन्छ ।

यो पर्वमा व्रतसँगै व्रतको एक दिनअघि दर खाने चलन रहेको छ । जसमा विशेष मिष्ठान्न खानपानका साथै नाचगान र मनोरञ्जन समेत गर्ने चलन छ । हिन्दू् धार्मिक मान्यता अनुसार हिमालय पुत्रीले आफ्नो मन पराएको वर प्राप्तिका लागि जंगल गएर शिव आराधना गर्न थालिन् । धेरै वर्षसम्म आराधनाको फल प्राप्ति नहुँदा एकदिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार वर्त बसिन् । उनको कठोर व्रत गरेको कारण शिवजी प्रकट भएर चिताएको कुरा पुगोस् भनेर आर्शीवाद दिनुको साथ उनलाई पत्नीको रुपमा स्वीकार गरे ।

पार्वतीले शिवजीलाई पतिको रुपमा पाउनको लागि १०७ औं जन्मसम्म घोर तपस्या गरेको थिइन् । तर, उनलाई १०८औं जन्ममा उनको तपस्या पूर्ण भएको हामीले धर्मशास्त्रमा पढेको छौं । र, यो फल प्राप्ति भएको दिन भाद्र शुक्ल तृतियाको दिन थियो । यो व्रतलाई हरितालिका तीज भन्नुको अर्थ पार्वतीलाई उनका साथीहरुले पिताको घरबाट हरण गरी जंगलमा लगेको प्रसङ्गबाट पनि जोडिन्छ । यो व्रत सबै विवाहित महिलाले आफ्नो अखण्ड सौभाग्यका लागि गर्छन् भने अविवाहितले शिवजी जस्तो असल श्रीमान पाउनका लागि व्रत पूजन गर्ने गर्दछ ।

पहिलाको परिवेशमा हाम्रा अग्रज दिदी, आमा, हजुरआमाहरु तीजमा पूजापाठमा बढी व्यस्त हुने गर्थे । धर्मकर्मको कार्य बढी हुने गर्थे । पहिला केटीहरुको सानै उमेरमा विवाह हुने गथ्र्योे । घरको कामधन्दामा पिल्सिएको थकित तनमनलाई राहत दिने मनशायले माइतीले चेलीबेटीलाई तीजमा दर खानाको निमित्त माइती बोलाएर उनीहरुलाई मीठा खानेकुरा, नयाँ लत्ताकपडा दिने चलन थियो । छोरीचेलीहरुले पनि साथीसंगीसँग लय भाका मिलाएर नाचगान गरेर आफ्नो पीडा व्यथा व्यक्त गर्दथे । तर, समय बद्लिँदै गयो आजभोलि तीजको स्वरुप पनि फेरिएको छ ।

नेपाल धर्म–संस्कृतिले पनि धनी देश हो । धर्म, परम्परा, संस्कार हाम्रो धरोहर हो । तर, जबदेखि मोबाइल, सामाजिक सञ्जाल, हिन्दी टिभी सिरियल, टिकटक, चलचित्रमा महिला रमाउन थालिन् हाम्रो धर्म–संस्कृतिको स्वरुप पनि फेरियो । पहिला माइत घरमा खाने दर अहिले १५–२० दिन अगाडिदेखि नै शुरु हुन्छ । जताततै तीजको पार्टीको लहर छ । को भन्दा को कम, टिकटक रील, वाट्सएपमा नाचगानको फोटो र भिडियोको बाढी नै आएको हो । जुन देशका अधिकांश मानिसलाई छाक टार्न धौं–धौं छ । उही देशमा नानाथरिको चलन चलेको देख्न पाइन्छ । केही वर्षयता मात्र भित्रिएको चलनमा साउन महिनामा मेहन्दी र हरियो चुरा–पोतेको चलन आएको छ । लाखौंलाख खर्च गरेर आडम्बर देखायो ।

विवाह गरेकी महिलाले बिहेको दोस्रो दिनदेखि न चुरा न पोते न डोरी लगाउँछन् । न त विवाहित जस्तो श्रृंगार गर्छन् । तर, श्रावण र तीजको माहोलमा सोह्र श्रृंगारले पूर्ण देखिन्छ । घरमा प्रशस्त सम्पत्ति छ, भौतिक सामग्रीले घरभरि छ । नोकरचाकर घरमा छन् । ठूलाबडाको अब डर–इज्जत रहेन किनभने एकल परिवारको चलन बढेको छ । जता मन लाग्यो उता जान, जे मन लाग्यो त्यही गर्न छुट छ । घरमा अब रोकतोक गर्ने कोही छैन । यति मात्र हो र तीजको नाचगान, गीत–संगीतमा पनि परिवर्तन आएको छ । पहिला थप्पडी, डम्फु, मादलको लय, भाका मिलाएर नाचगान हुन्थ्यो । सासु, नन्द–आमाजुको नोकझोकको ठाउँमा अश्लील गीत–संगीतले ठाउँ ओगटेको छ, अब त लोकगीत पनि रत्यौली पाराले गाउने गर्छन् ।

समग्रमा जुन प्रवृत्ति मौलाउँदै गइरहेको छ, यो विचारणीय छ । भड्किलो तीजबाट टाढा बस्नुपर्छ । पैसा फेशनको लहलहै र देखावटीले गर्दा दिदी–बहिनी, नन्द–भाउजुको सम्बन्ध पनि बिग्रिने गर्छ । त्यसकारण देखावटीको सट्टा आफन्तसँग सम्बन्ध प्रगाढ र आत्मीय बनाउनुमा जोड दिनुपर्छ । आफ्नो हैसियत हेरेर खर्च गर्नुपर्छ । अरुको देखासिकीले घरमा कलह, तनाव बाहेक केही हुँँदैन । राम्रो हैसियत हुनेहरुका लागि यस्तो खर्च सामान्य हुन सक्छ, तर निम्न वर्गीय महिलाहरुको लागि दिवासप्ना हुन सक्छ ।

आजभोलि तीज साच्चिकै हुनेखानेहरुको पर्व बन्दै गइरहेको छ । तर, नहुँदा खानेहरु पनि तीजमा उत्तिकै रमाउन सके बल्ल यो साझा पर्व हुन सक्छ । हुन त समाजमा विद्यमान वर्गीय असमानता नै यसको मुख्य कारण होला । तर, समानताका लागि यस्ता साना कुराहरुबाट सकारात्मक शुरुवात गर्नुपर्छ । सांस्कृतिक र धार्मिक महत्व रहेको महान चाड तीजलाई सभ्य रुपमा अगाडि लैजान सकियो भने तीजको खास महत्व रहने छ । विकृतिले हाम्रा संस्कार र संस्कृतिको मूल्य–मान्यतालाई घटाउँदै गएको र समाजलाई दूषित बनाउँदै गएको हुनाले यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउनु जरुरी छ । धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्व भएका यी पर्वहरुको रहस्य सबैले बुझेर सभ्य तथा समुचित ढंगले यिनको पालना गर्नु हामी सबैको कर्तव्य हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here