झापामा पनि युवादस्ता, प्रहरी निगरानी बढ्यो

0
11

झापा।

पूर्वी पहाडी जिल्लाहरुमा पहिचानवादीहरुले युवादस्ता बनाउनेक्रम तीव्र परिरहेका बेला झापामा पनि युवादस्ता गठन शुरु भएको छ ।

हल्दिबारीमा गाउँस्तरीय युवादस्ता गठन गरिएको छ । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति झापाले युवादस्ता गठनलाई तीव्रता दिएसँंगै युवादस्ता गठन गरिएको बताइएको छ ।

सङ्घर्ष समिति झापाका सदस्य सचिव सेसेहाङ फियाकको प्रमुख आतिथ्यमा १०१ जनाको युवा दस्ता गठन भएको हो । १०१ जना जर्सीधारी युवाहरूलाई हातमा लाठी समाउन लगाएर सो दस्ता सार्वजनिक गरिएको थियो । सङ्घर्ष समितिका हल्दिबारी गाउँपालिका संयोजक बुद्ध माबूको अध्यक्षता रहेको कार्यक्रममा सेसेहाङ फियाक, केवलराम राई , सामी पालुङ्वालगायतको उपस्थिति रहेको थियो ।

सङ्घर्ष समितिले भदौ ३० गते १५०१ जनाको युवादस्ता बिर्तामोडमा सार्वजनिक गर्ने तयारी गरेको छ । कोशी नाम खारेजीको आन्दोलनमा प्रहरी दमन हुँदै आएकाले त्यसको प्रतिकार गर्न र भ्रष्टाचार विरुद्ध अभियान गर्न सो दस्ता निर्माण गरिएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्षसमेत रहेका सङ्घर्ष समितिका संयोजक पाण्डवलाल चौधरीले बताए । उनले युवादस्ता परिचालनका लागि आचारसंहिता निर्माण गरिएको बताउँदै त्यसलाई नमान्नेलाई कानूनी कारबाहीका लागि प्रहरीलाई जिम्मा दिने बताए ।

यसैबीच शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउने अधिकारलाई सम्मान गर्दै कोही कसैले आतङ्कित पार्ने खालको विध्वंसात्मक गतिविधि गर्न खोजे प्रहरी प्रशासन कारबाहीमा उत्रिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताएका छन् ।

उनले पहिचानवादीहरूको आन्दोलनलाई निगरानी गरिरहेको बताउँदै आन्दोलनका बारेमा केन्द्रको निर्देशन पर्खिरहेको जानकारी दिए । झापा प्रहरीले पहिचानवादीहरूको गतिविधिप्रति निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले भने –हतियारसहित भेला हुने र प्रदर्शन गर्ने गतिविधिलाई रोक लगाइने छ ।

करिब एक साताअघि कोशी प्रदेश नाम खारेजीको मागसहित बिर्तामोडमा घरेलु हतियार प्रदर्शन गर्दै पहिचानवादीहरूले सांस्कृतिक आन्दोलन गरेका थिए । केही दिनअघि भद्रपुरको रंगेडाँडामा गोरु काटेर खाएको भनी सार्वजनिक गरिएको भिडियोमा पनि सांस्कृतिक क्रान्ति गरेको भनिएको थियो । त्यस्ता गतिविधिप्रति आफूहरूको संलग्नता नरहेको सङ्घर्ष समितिका संयोजक चौधरीले बताए ।

पहिचानवादीहरूले शुरु गरेको युवादस्ता गठन र सांस्कृतिक आन्दोलनप्रति प्रहरी प्रशासनले निगरानी बढाएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here