तीज र दसैँ नेपालीको मौलिक र साझा पर्व : राप्रपा अध्यक्ष लिङ्देन

0
13
झापा, 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले तीज र दसैँ सबै नेपालीको साझा र मौलिक पर्व भएको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन मेचीनगरले आज धुलाबारीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा उहाँले तीज, दसैँ लगायतका चाडपर्व कुनै जात र धर्म विशेषको नभएर साझा पर्व भएको बताउनुभयो ।
“तीज र दसैँ जस्ता चाडपर्व हिन्दूको मात्र हो भनेर अन्य जाति र समुदायलाई भड्काउने किसिमले दुष्प्रचार हुँदै आएको छ”, उहाँले भन्नुभयो, “यी चाडपर्व सदियौँदेखि सबै जातजाति र धर्मका नेपालीले मनाउने गरेका छन् । पछिल्लो समय दुष्प्रचार गरेर बाहुन र क्षेत्रीको मात्र हो, जनजातिको होइन भनेर बहिष्कार गर्ने गलत काम हुन थालेको छ ।”
संसारमा सबैभन्दा धेरै हिन्दू भारतमा भएको जनाउँदै उहाँले भारतमा दसैँमा रातो टीका लगाउने चलन नभएको स्मरण गराउनुभयो । दसैँमा रातो टीका र जमरा लगाउने संस्कृति हाम्रो नेपालमा मात्र भएको हुँदा यसलाई नेपालीको साझा र मौलिक पर्व मानिएको उहाँको धारणा थियो ।
राप्रपा अध्यक्ष लिङ्देनले राजनीतिक प्रसङ्गमा बोल्दै राप्रपालाई नवीन सोच र शैलीका साथ मुलुकको अग्रणी शक्तिका रूपमा स्थापित गरिने बताउनुभयो । उहाँले ठूला राजनीतिक दलले पुरानो व्यवस्था र राजसंस्थालाई गाली गरेर सत्ता सञ्चालन गरिरहेको र जनताले आर्थिक परिवर्तनको अनुभूति गर्न नपाएको जिकिर गर्नुभयो ।
कार्यक्रममा कोेशी प्रदेशसभा सदस्य सविना बजगाईं, राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेल, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, सङ्गठनकी जिल्ला अध्यक्ष शारदा रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here