लासमाथि राजनीति !

0
16

 

‘लासमाथि राजनीति’ गरिन्छ भन्ने पदावली मैले धेरैपटक सुनेको छु । यो एक सामान्य बहसको वा चर्चाको विषय अथवा विपक्षीलाई अवमूल्यन गर्न प्रयोग गरिने राजनीतिमा धेरै प्रयोग हुने शब्दपुञ्ज मात्रै हो जस्तो लाग्थ्यो । नेपाली सामाजिक अझ विशेष गरेर राजनीति जीवनमा यो पदावली धेरै सुन्ने गरिन्छ । केही नेताहरुका भाषणहरुमा पनि लासमाथि राजनीति गरियो÷ भन्यो भन्ने भाषण धेरैपटक सुने पनि यसपटक भने म आफै प्रत्यक्ष संलग्न भएको घटनामा लासमाथि राजनीति भएको देख्न र सुन्न पाएको छु ।

आफैले उठान गरेको एउटा घटनामा एउटा लासमाथि भएको राजनीति र त्यो लास व्यवस्थापनमा योगदान गर्नेहरुको भूमिकाबारे यो लेख केन्द्रित छ । घटना युएई (युनाइटेड अरब इमिरेट्स) को हो । युएई भनेको वैदेशिक रोजगारीको लागि नेपालीहरुको सहज आकर्षक गन्तव्य मुलुक हो । दुबईका नामले चिनिए पनि युएई देशको नाम हो भने दुबई युएईको एक प्रान्त (इमिरेट्स) हो ।

विश्वको अग्लो टावर बुर्ज खलिफा, विश्वको ठूलो सपिङ मल, गगनचुम्बी महल, चर्चित फुटबलरहरुका साथै हालिउड÷बलिउडका नामी कलाकारहरुका बसोबासको केन्द्र भएको दुबई विश्वकै दोस्रो आकर्षक शहरमा दर्ता भएको छ । बैदेशिक रोजगारको आकर्षक केन्द्र मानिएको युएईमा करिब चार लाख नेपालीहरु रोजगाररत् रहेको मानिन्छ । यी चार लाखमा सामान्य मजदुरको संख्या धेरै भए पनि पछिल्लोपटक उल्लेख मात्रामा डाक्टर, नर्स, इञ्जिनियर, आउन थालेका छन् ।

जसै नेपालीहरुको संख्या बढिरहेको छ, उसैगरी नेपालीहरुले युएईमा मृत्यु हुने नेपालीहरुको संख्या पनि बढिरहेको छ । नेपाली दूतावास अबुधाबीका श्रम काउन्सिलर दीनबन्धु सुवेदीका अनुसार पछिल्ला ३ आर्थिक वर्षमा ५ सय २४ जना नेपालीहरुको युएईमा निधन भएको छ । काउन्सिल र सुवेदीका अनुसार यो आर्थिक वर्षको पछिल्ला दुई महिनामै ३३ जना नेपालीहरुले रोजगारीको क्रममा युएईमा मृत्युवरण गरेका छन् ।

यसै सिलसिलामा झापा जिल्ला तत्कालीन पाँचगाछी–५ सालमारामा स्थायी बसोबास रही वैदेशिक रोजगारीको लागि युएईमा रहेका नारायण घिमिरेको गत अगस्ट १५ तारिख दुबईमा निधन भएको थियो । निज कार्यरत कम्पनी बन्द भएको र निजको भिषा पनि नवीकरण नभएको र पासपोर्ट पनि हराएको पाइयो । कम्पनी बन्द भएपछि त्यहाँ कार्यरत कामदारले सो कम्पनीको भिसा रद्द गरी नयाँ काम खोजी नयाँ कम्पनीको भिसा लाउनुपर्छ कि त भिजिट भिसा लगाउँदै बस्नुपर्ने हुन्छ कि त यो देश छाडेर आफ्नो देश फिर्ता हुनुपर्छ ।

नारायण घिमिरेको सन्दर्भमा भने उनले न त भिसा रद्द गरेका रहेछन् न त नयाँ कम्पनीमा भिसा लगाएका रहेछन् । यसरी अवैध रुपमा बसोबास गर्नुलाई सबैले यहाँसम्म कि यहाँको सरकारले पनि चलनचल्तीमा खल्लीबल्लीको स्थितिमा रहेकोे भनेर बुझ्ने गर्छ ।

नारायण घिमिरे पनि खल्लीबल्लीको अवस्थामा युएई सरकारको नजरमा लुकीछिपी बसेका रहेछन् । नेपालबाट युएई पुगेको करिब ५ वर्ष भएको रहेछ । यी ५ वर्षमा घिमिरे एकपटक पनि नेपाल नफर्किएको रेकर्ड भेटियो । आधिकारिक काम नभएपछि ज्यालादारी मजदुरका रूपमा जे भेट्यो, त्यही काम गरी दुबईको औद्योगिक एरिया अलकुजमा बसेका रहेछन् ।

यसै सिलसिलामा गत अगष्ट १५ (साउन अन्तिमतिर) दुबईको अल कुजको बालुवाघारीमा उनको लास भेटियो । दुबई प्रहरीले लासलाई आफ्नो नियन्त्रणमा लियो । अत्यधिक मदिरा सेवन र गर्मीको कारण निधन भएको देखियो । शुरुमा त लास पहिचान नै भएन । पछि झापाको नारायण घिमिरे भन्ने खुलेपछि परिवारलाई खबर गरियो ।

निजको कम्पनी बन्द भएको हुँदा लासलाई नेपालसम्म पु¥याउन आर्थिक र प्रशासनिक समस्याहरु आएका थिए । त्यो समयमा म छोटो छुटीमा नेपाल पुगेको थिएँ । यो घटनाबारे मलाई तत्कालीन पाँचगाछी–५ सालमस्रा घर भइ हाल काठमाडौंमा सहकारी अभियन्ताका रूपमा परिचित दाजु रामचन्द्र अर्यालले जानकारी गराउदै लासलाई नेपाल ल्याइपु¥याउन सहयोग गरिदिन अनुरोध गर्नुभयो । स्मरणरहोस्, निज घिमिरेको परिवार रामचन्द्र अर्यालको पाँचगाछीको घरमा बसेर जीवनयापन गरिरहेको छ ।

यो सबै विवरण मैले तत्काल झापाली समाज युएईका अध्यक्ष अमरराज राई, महासचिव लोकेस कोइरालालाई जानकारी गराउँदै नेपाली दूतावासको अग्रसरतामा त्यो लासलाई नेपाल ल्याइपु¥याउन समन्वय गर्न सुझाएको थिएँ । मैले लगत्तै नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्याल र एनआरएन युएईका अध्यक्ष विकास शाहीलाई पनि सहयोग र सहजीकरण गरिदिन अनुरोध गरेको थिएँ ।
मृत्यु सम्बन्धि जानकारी पाएपछि सबैले आ–आफ्नो स्थानबाट समन्वय गर्नुभएको थियो । सामाजिक सञ्जाल ह्वाट्सएपमा एक ग्रुप बनाएर काम शुरु भयो ।

दूतावाससँग समन्वय नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्यालले गर्नुभयो । लासको पहिचान गर्न समस्या थियो । मृत शरीर बेवारिसे अवस्थामा रहेकोले पुलिसको केन्द्रीय निकायमा राखिएको रहेछ । मृतक नारायण घिमिरेलाई चिन्ने मानिस नै पाउन मुस्किल थियो । चिन्ने साथीहरु पुलिस केस भनेपछि प्रशासनिक झञ्झट अझ भनौं डरको कारण कार्यव्यस्तता भन्दै पन्छिने मात्रै भए ।
झापाली समाज युएईले कान्छा तामाङ नाम गरेका (नारायणलाई चिन्ने)÷एक नेपालीलाई उनको काम गर्दा पाउने तलब बराबरको पैसा दिने शर्तमा तयार पा¥यो ।

स्मरण रहोस्, लास पहिचानदेखि पुलिस क्लियरेन्सलगायत सबै कार्यहरुमा नेपाली दूतावासको उपस्थिति अनिवार्य रहन्छ । यो केसमा पनि नेपाली दूतावास अबुधाबीका पिआरओ राजी, इर्फान र असदको सहयोग÷ समन्वय अतुलनीय छ । उनीहरूले सार्वजनिक बिदाको दिन पनि अबुधाबीबाट २ सय किलोमिटर टाढा रहेको दुबई पुगेर यो काम सप्पन्न गर्न भौतिक सहयोग गरेका छन् ।

बेवारिसे लास नेपाल पु¥याउन करिब ३ लाख नेपाली रुपैयाँ आवश्यक पर्छ । त्यो रकम सम्बन्धित कम्पनीले तिर्नुपर्ने हुन्छ तर नारायणको हकमा कम्पनी बन्द भएकोले सम्बन्धित परिवार अथवा चन्दा संकलन गर्नुपर्ने हुन्थ्यो । नारायणको हकमा भने त्यो झनै समस्या हुने थियो । नारायण घिमिरे करिब ५ वर्ष अगाडि युएई जाँदा श्रम स्वीकृति लिए÷नलिएको जानकारी नेपाली समाज युएईका पार्सद अध्यक्ष राम मोक्तानबाट जानकारी लिएँ । नारायणले श्रम स्वीकृति लिएको प्रमाणिात भए पछि मैले नारायण घिमिरेको लास व्यवस्थापनमा लाग्ने सबै खर्च नेपाल सरकारले व्यहोर्नुपर्ने हुन्छ भनी सो अनुसार सबैले सम्बन्धित निकायमा आवश्यक कागजातका साथमा उपस्थित हुन सुझाएको थिएँ ।

सो अनुरुप सबैले आआफ्नो क्षेत्रमा काम गर्नुभयो । नेपाल सरकारले पनि यति छिटो रकम उपलब्ध गरायो कि करिब २० दिनपछि गत सेप्टेम्बर ४ (भदौ १८ गते) लास नेपाल पुग्यो ।
नारायण घिमिरेको लास पुगेपछि भने लासमाथि राजनीति शुरु भयो । राजनीति कसरी भयो भने स्थानीय गाउँमा रहेको एक निमाविका प्रअले यो लास त एमालेका सो क्षेत्रका सांसदले ल्याएको हो भनी फेसबुकमा स्ट्याट्स लेख्दै धन्यवाद दिए ।

त्यो स्ट्याट्स सार्वजनिक भए लगत्तै रवि लामिछाने अध्यक्ष रहेको रास्वपाका स्थानीय नेताहरुले लास व्यवस्थापनमा लाग्ने खर्च रास्वपाका समानुपातिक सांसदले पठाएको भनी काउन्टर दिए । एमाले र रास्वपाले लासमाथि राजनीति गरिरहँदा यो अभियानमा प्रत्यक्ष रूपमा काम गरेकाहरुले पनि लासमाथि भएको राजनीतिको अनुभव गर्न पाएका छन् । एमाले त त्यस्तै हो, नयाँ राजनीतिक दल रास्वपा पनि उही ड्याङको मुला रहेछ भन्ने सावित हुदैछ । काम गर्ने कालू मकै खाने भालु भने जस्तै यो अभियानमा लाग्नेहरु लासमाथि भएको राजनीति देखेर अचम्मित भएका छन् । नेपालको खराब राजनीतिक अवस्थाले गर्दा युवाहरु बिदेशिन्छन् । केही युवाहरु बाकसमा यसरी फर्कन्छन् । यसरी फर्किदा पनि लासमा राजनीति हुन्छ । काम गर्ने व्याक्ति तथा संस्था मौन छन् । नेपालमा भने लासमा पनि यसरी राजनीति हुँदोरहेछ । यस्तै कारणले गर्दा लासमाथि राजनीति भन्ने पदावली सार्थक भएको हुनुपर्छ ।

एमाले वा रास्वपाका सांसदले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा फोन चाहिँ गरेका थिए होलान् । तर एक कल फोन गरेकै आधारमा त्यो लास नेपाल पुगेको होइन । फिल्डमा काम गर्ने दूतावासका कर्मचारीहरु, नेपाली समाज युएईका अध्यक्ष वेद अर्याल, झापाली समाजका अध्यक्ष अमरराज राई, लास पहिचान गर्न काम छोडेर जाने कान्छा तामाङ, कान्छा तामाङलाई यातायात व्यवस्थापन गर्ने झापाली समाज युएईका रामकुमार राउत, परिवारलाई निरन्तर जानकारी गराउने झापाली समाज युएईका महासचिव लोकेश कोइराला र नेपालबाट आवश्यक सबै कागजात उपलब्ध गराउने रामचन्द्र अर्याल लगायत युएई प्रशासनलाई धन्यवाद नदिइ एमाले र रास्वपाले यो लासमाथि यसैगरी राजनीति गरिरहन्छन् भने यिनीहरुको राजनीतिक भविष्य क्रमशः संकटमा पर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here